– अर्जुन तिमिल्सिना
काठमाण्डौ । सधैँझैँ साताको पहलो कारोबार दिन हामीले काठमाण्डौका विभिन्न ब्रोकर हाउस पुगेर लगानीकर्ता विचार बुझ्ने कार्यलाई निरन्तरता दिएका छौँ।
आज ब्रोकर हाउसमा भेटिएका लगानीकर्ताहरुमा निराशासँगै निकै कौतुलता पनि देखियो। किनकि आजै बजार सुधारको मागसहितको ज्ञापनपत्र बुझाउन ठूलो संख्यामा लगानीकर्ता नेपाल धितोपत्र पुगेका थिए भने केही लगानीकर्ता गभर्नरलाई भेट्न राष्ट्र बैंक पुगेका थिए।
बिहान ११ बज्दा नबज्दै हामी नक्सालस्थित सनी सेक्युरिटिज (स्टक ब्रोकर नं.४२) पुगेका थियौँ। बजार खुल्दा केही अंकले बढेको थियो। पहिलो प्रहरमा बढेको बजार विस्तारै घट्न थालेको थियो।
घट्न थालेको बजारप्रति लक्षित गर्दै सनीमा उपस्थित एक महिलाले भनिन्, ‘खोइ आज त बढ्ला भनेको बजारले लक्षण राम्रो देखायन।’
यहीँ उपस्थित एक पुरुष लगानीकर्ताले नेपाल लाइफको सेयर ८०० रुपैयाँभन्दा तल आएकोप्रति संकेत गर्दै भने, ‘४ वर्षपहिले १४०० रुपैयाँमा किनेको बढेर ४५०० रुपैयाँ माथि पुगेको थियो। अहिले त ८०० रुपैयाँ आएछ। पहिले ६० प्रतिशत बोनस दिन्थ्यो, अहिले जम्मा १४ प्रतिशतमात्रै दिएको छ। किन नघटोस् त ?’
उनीसँगै बसेका अर्का लगानीकर्ताले भने, ‘त्यो एचआईडीसीएल ५५२ रुपैयाँमा १ हजार कित्ता किनेको अहिले त २२१ रुपैयाँतिर आएछ। कति घाटा भो कति ?’
यतिबेलासम्म मध्याह्नको १२ बज्दै थियो। बजार २० अंकले घटिसकेको थियो। ब्रोकर हाउसमा लगानीकर्ता आउने क्रम जारी थियो।
त्यतिकैमा एक लगानीकर्ता ‘अब त नबिल बैंक किन्नुपर्छ’ भन्दै उठेर टे«डिङ रुम तिर गए।
सनीमा केही सयमको बसाइपछि हामी नक्सालमै रहेको थ्राइब सेक्युरिटिज (स्टक ब्रोकर नं. १३) पुग्यौँ। त्यहाँ पनि लगानीकर्ताको उपस्थिति ठिकै थियो। एक लगानीकर्ताले भन्दै थिए, ‘अब त आन्दोलन चल्दैछ, ठोस निर्णय भएपछि बजार बढ्छ।’
उनीसँगै बसेका अर्का लगानीकर्ताले भने, ‘आन्दोलनले त बजार १–२ दिन बढ्ने हो। बजार राम्रै बढ्नालाई त तरलता नै बढ्नुपर्ने हुन्छ।’
त्यहाँबाट हामी ज्ञानेश्वरस्थित सुमेरु सेक्युरिटिज (स्टक ब्रोकर नं. ३९) पुग्यौँ। त्यहाँ पनि लगानीकर्ताको उपस्थित राम्रै थियो। यतिबेलासम्म दिउँसको १ बजिसेकेको थियो। बजार सामान्य अंकले घटेको थियो।
त्यहाँ उपस्थित एक लगानीकर्ताले कम्प्युटरमा प्राबिधिक चार्ट हेर्दै भने, ‘अब त शिवम सिमेन्ट र एनआरएन इन्फ्रास्ट्रक्चर खरिदको अवस्थामा आएको छ।’
उनीसँगै बसेका अर्का लगानीकर्ताले भने, ‘४–१२ को बिक्री आयो भने त बजार अझै १०० अंक घट्न पनि सक्छ।’
त्यहीँ उपस्थित एक लगानीकर्ताले भने, ‘राष्ट्र बैंकले यो ४–१२ को नीतिमा केही न केही त गर्छ नै। सके हटाउँछ नसके पनि एक वर्षको ग्रेस पिरियड त दिन्छ नै।’
उनीसँगै बसेका अर्का लगानीकर्ताले भने, ‘खोइ राष्ट्र बैंक स्वायत्त निकाय भन्छन्। प्रधानमन्त्रीको निर्देशन सुन्छ वा सुन्दैन।’
सुमेरुबाट निस्केर हामी कमलपोखरीस्थित क्रिएटिभ सेक्युरिटिज (स्टक ब्रोकर नं. ४०) पुग्यौँ। त्यहाँ पनि लगानीकर्ताको उपस्थिति राम्रै थियो। दिउँसोको २ बज्दै थियो। बजार १५ अंकजतिले घटेको थियो।
लामो सुस्केरा काढ््दै एक लगानकर्ताले भने, ‘यो बजार केही गरेर पनि रोकिएन।’
उनीसँगै बसेका अर्का लगानीकर्ताले भने, ‘अब त दोस्रो बजारमा कमाउने आशा मर्यो। आईपीयो भए पनि भर्न पर्यो। पर्यो भने कम्तीमा एक बोरा चामल किन्न त पुग्छ।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago