– अर्जुन तिमिल्सिना
काठमाण्डौ । साताको पहिलो कारोबार दिन सोमबार पनि सेयर बजारमा गिरावट आएको छ। एकातिर बजारमा गिरावट कायमै रहेको छ भने अर्कोतिर बजार सुधार र विकासको माग राख्दै लगानीकर्ताहरुले एक सातादेखि आन्दोलन जारी राखेका छन्।
सधैँको साताजस्तै साताको पहिलो कारोबार दिन हामी विभिन्न ब्रोकर हाउसमा पुगेर लगानीकर्ताको विचार सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौँ। आज हामी काठमाण्डौको न्युरोड र पुतलीसडकका केही ब्रोकर हाउसमा पुग्यौँ।
सबैभन्दा पहिले ११ बज्दा नबज्दै न्युरोडको खिचापोखरीस्थित मार्केट सेक्युरिटिज (स्टक ब्रोकर नं. ५)मा पुग्यौँ। त्यहाँ लगानीकर्ताको उपस्थिति सामान्य थियो। केही लगानीकर्ता घटेको बजार हेरेर निराश देखिन्थे।
मार्केट सेक्युरिटिजमा भेटिएका एक लगानीकर्ताले असारबाट हप्तामा ६ दिन सेयर बजार खुलाउने निर्णयप्रति असन्तुष्टि पोखे। ‘यो घटेको बेलामा ६ दिन कारोबार खोल्नु त झनै हानिकारक हुन सक्छ’, ती लगानीकर्ताले भने।
उनीसँगै बसेका अर्का लगानीकर्ताले भने, ‘यो राष्ट्र बैंकले मौद्रिक नीति कहिले ल्याउँछ ? यो ४–१२ मा परिमार्जन नभए बजारमा अझै प्यानिक सेल आउन सक्छ।’
उनीहरुसँगै बसेका एक लगानीकर्ताले भने, ‘मौद्रिक नीति छिट्टै आउन त गाह्रो छ। तर, तेस्रो त्रैमासको समीक्षापछिको सर्कुलर भने आउन सक्छ।’
तिनै लगानीकर्ताहरुको समूहमा बसेका अर्का लगानीकर्ताले भने, ‘त्यसको पनि अहिले आश छैन। गर्भनर नै विदेश गएका छन् भन्छन्।’
‘धितोपत्र बोर्डका अध्यक्ष पनि विदेश गएका भन्छन्’, तिनै लगानीकर्ताले ठट्यौली पारामा भने, ‘कोही सेयर बेचेर विदेश गएका भन्छन्, नेपालमा त हामी डुब्दै बस्दै गर्ने पो रहेछ।’
मार्केट सेक्युरिटिजमा केही समयको बसाइपछि हामी पुतलीसडकस्थित अनलाइन सेक्युरिटिज (स्टक ब्रोकर नं. ४९)मा पुग्यौँ। यतिबेलासम्म मध्याह्नको १२ बजिसकेको थियो। बजार १२ अंकभन्दा बढीले घटेको थियो। त्यहाँ हामीले केही समय ब्रोकर सञ्चालकसँग कुराकानी गर्यौँ।
ब्रोकर सञ्चालकले बजारमा पैसाको नै अभाव रहेको बताए। बजार निरन्तर घटेकोले अहिले बजारमा कोही पनि निस्कन नपाएको ती सञ्चालको भनाइ थियो।
कुराकानीकै क्रममा ती ब्रोकर सञ्चालकको मोबाइलमा घन्टी बज्यो। उताबाट सोधियो, ‘यो सीआईटीले लाभांश कहिले घोषणा गर्छ ?’
सञ्चालकले जबाफ दिए, ‘यो आर्थिक वर्षभित्रै होला।’
त्यहाँबाट हामी पुतलीसडककै श्वेता सेक्युरिटिज (स्टक ब्रोकर नं. २५) पुग्यौँ। त्यहाँ लगानीकर्ताको उपस्थिति सामान्य नै थियो। एक लगानीकर्ता भन्दै थिए, ‘बैंकहरु त अब धेरै मर्जमा जालान् जस्तो छ। सेन्चुरी र प्राइम बैंक पनि मर्जमा जाँदैछन् भन्ने सुनिन्छ।’
यहीँ भेटिएका अर्का लगानीकर्ताले भने बजार २००० तल नजाने तर्क गर्दै थिए। उनीसँगै बसेका एक लगानीकर्ता भने, ‘बैंकहरुले अहिलेसम्म मार्जिन कलको सेयर बेचेका छैनन्। त्यो पनि बेचे भने त बजार अझै २०० अंकले डाउन हुन्छ।’
श्वेताबाट निस्केर हामी न्युप्लाजास्थित क्रिस्टल कञ्चनजंघा सेक्युरिटिज (स्टक ब्रोकर नं. ५०) पस्यौँ। त्यहाँ उपस्थित एक लगानीकर्ता भन्दै थिए, ‘यो ग्रीन भेन्चर्सले त भारतमा विद्युत बिक्री गर्दै छ रे ! आज त सर्किट नै हान्दैछ।’
उनीसँगै बसेका अर्का लगानीकर्ता भने, ‘विद्युत त विद्युत प्राधिकरणले बेच्ने हो, उत्पादक कम्पनीले बेच्ने होइन।’
सोही ब्रोकरमा भेटिएका एक लगानीकर्ताले भने, ‘अब अर्थमन्त्री फेरिँदैछन्, नयाँ अर्थमन्त्री आए भने त बजारमा केही तरलता सहज हुन सक्छ। बजार पनि बढ्ने वातावरण बन्छ।’
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19