– अर्जुन तिमिल्सिना

पोखरा । सधैँको साताझैँ आज सोमबार पनि हामी विभिन्न ब्रोकर हाउसमा पुगेर बजारको अवस्था बुझ्ने कार्यलाई निरन्तरता दिएका छौँ।

यसै सिलसिलामा आज हामीले पर्यटकीय नगरी पोखराका विभिन्न ब्रोकर हाउसमा पुगेर लगानीकर्ता तथा ब्रोकर सञ्चालकहरुसँग भेटघाट गर्यौँ। 

आज हामी सबैभन्दा पहिले पोखराको न्युरोडस्थित नेपाल ब्रोकर हाउस (स्टक ब्रोकर नं. १४) पुग्यौँ। त्यहाँ लगानीकर्ताको उपस्थिति निकै पातलो थियो। केही नयाँ लगानीकर्ता फाराम भर्न आएको पाइयो। ब्रोकर हाउसमा लगानीकर्ताको उपस्थिति हराएसँगै डिस्प्ले पनि खोलिएको थिएन। 

ब्रोकर सञ्चालकले तरलता अभावसँगै लगानीकर्ताहरुमा नैराश्यता छाएको बताए। ‘अहिले खासै लगानीकर्ता ब्रोकर हाउस आउँदैनन्’, ती सञ्चालकले भने, ‘धेरैजस्तो लगानीकर्ता बजार २००० माथि नै किनेर बसेका कारण थप लगानी गर्न सकेका छैनन्।’

यतिबेलासम्म मध्याह्नको १२ बज्दै थियो। बजार ४० अंकले घटिसकेको थियो। 

हामी त्यहाँबाट निस्केर न्युरोडकै कुमारी सेक्युरिटिज (स्टक ब्रोकर नं. १) पुग्यौँ। त्यहाँ हामीले एक बैंकरलाई भेट्यौँ। उनीले भन्दै थिए, ‘केही समयपहिले पास गरेर राखेको ३० लाख रुपैयाँ छ। १० लाख रुपैयाँजतिको सेयर किनेँ, अब २० लाख रुपैयाँजति बाँकी छ। जति घट्यो त्यति किन्छु २ वर्षसम्म ब्याज तिरेर होल्ड गर्ने हो फेरि आउँछ बजारमा रौनक।’

त्यही ब्रोकरमा भेटिएका एक लगानीकर्ताले भन्दै थिए, ‘मेरो त १ कारोडको सेयर ४० लाख रुपैयाँमा आयो, के गर्ने के ? भएको छ। अब यसो त्यसो गरेर जुटाएको २० लाख रुपैयाँ छ, घटेको बेला केही त किन्नुपर्ला। एचडीएल ४ हजार रुपैयाँमा किनेको छु, फेरि त्यही किन्नुपर्ला।’

उनीसँगै बसेका अर्का लगानीकर्ता भने टीएले नजानेको भन्दै सराप्दै थिए। 

केही समयको बसाइपछि हामी न्युरोडकै कोहिनुर सेक्युरिटिज (स्टक ब्रोकर नं. ३५) पुग्यौँ। त्यहाँ लगानीकर्ताको उपस्थिति निकै पातलो थियो। हामीले केही समय ब्रोकर सञ्चालकसँग कुराकानी गर्यौँ। 

ती सञ्चालकले बजारले नीतिगत सुधार नै खोजेको तर्क गरे। ‘अब बाजार दुई अवस्थामा मात्र माथि जान सक्छ’, ती सञ्चालकले भने, ‘पहिलो भनेको नीतिगत सुधार नै हो। दोस्रो भनेको यदि आज बजार १८८१ भन्दा माथि बन्द भयो भने मनोवैज्ञानिक रुपमा त्यहाँबाट सपोर्ट लिन सक्छ। किनकि एकथरी मान्छे बजारमा पैसा लिएर बसेका पनि छन्। पहिलाको उच्च विन्दु १८८१ मा बजारले केही आधार भेट्यो भने त्यहाँबाट फर्किन पनि सक्छ। यहाँबाट पनि तल आएमा बजारको अवस्था जटिल हुन सक्छ।’

यतिबेलासम्म दिउँसोको १ बजिसकेको थियो। बजार निरन्तर खसिरहेको थियो। 

हामी पोखराकै न्युरोडस्थित त्रिशक्ति सेक्युरिटिज (स्टक ब्रोकर नं. ४८)मा पुग्यौँ। त्यहाँ पनि लगानीकर्ताको उपस्थित निकै पातलो थियो। केही समय हामीले त्यहाँ पनि ब्रोकर सञ्चालकसँग कुराकानी गर्यौँ। ती सञ्चालकले बजार पेनिक सेल आएको र बैंकले फोर्स सेल गरेको हुन सक्ने बताए। देशको अर्थतन्त्रतर्फ इंगित गर्दै ती सञ्चालकले भने, ‘बजार अब २ वर्षजति फर्किंदैन। बजार बढ्नलाई ब्याजदर नै सिंगल डिजिटमा आउनुपर्छ। त्यो अहिले नै आउने देखिँदैन।’