– अर्जुन तिमिल्सिना
काठमाण्डौ । सधैँको साताजस्तै पहिलो कारोबार दिन आइतबार हामी सेयर बजारको पछिल्लो अवस्था बुझ्ने कार्यलाई निरन्तरता दिएका छौँ।
यसै सिलसिलामा आज हामी काठमाण्डौस्थित विभिन्न ब्रोकर हाउसमा पुगेर लागानीकर्ताको विचार सुन्ने तथा बुझ्ने कार्यलाई निरन्तरता दिएका छौँ। आज बजार खुलेदेखि नै निरन्तर उकालो लागेको थियो। ब्रोकर हाउसमा लगानीकर्ताको उपस्थित सामान्य थियो तर उनीहरुमा उमंग देखिन्थ्यो।
सबैभन्दा पहिले हामी पुतलीसडकस्थित प्राइमो सेक्युरिटिज (स्टक ब्रोकर नम्बर १६) पुग्यौँ। त्यहाँ लगानीकर्ताको उपस्थिति सामान्य नै थियो। उपस्थित केही लगानीकर्ता बजार बढेकोमा दंग देखिन्थे भने केहीले आजको बढाइलाई पनि केही दिन हेर्नुपर्ने बताउँदै थिए।
एक लगानीकर्ता भने, ‘बजारले धेरै पटक झुक्कायो, यो पटक पनि के हो के ?’
उनीसँगै बसेका अर्का लगानीकर्ताले भने, ‘यो पटक कारोबार र भोलुम पनि बढेकोले बजार सम्हालिएको जस्तो देखिन्छ।’
उनीहरुसँगै बसेका एक लगानीकर्ता भने, ‘मैले सीआईटी किनौँ भनेकै थिएँ नि ! सीआईटीले राम्रै कमाल गर्यो।’
सोही ब्रोकर हाउसमा एक लगानीकर्ताले भने, ‘अब एलआईसीएनले पनि राम्रै गर्छ। यसको पनि पुँजी कम नै छ। बढ्यो भने त राम्रैसँग माथि जान्छ।’
केही समयको बसाइपछि हामी न्युप्लाजास्थित एसियन सेक्युरिटिज (स्टक ब्रोकर नं. २६) पुग्यौँ। त्यहाँ पनि लगानीकर्ताको उपस्थिति सामान्य नै थियो। यतिबेलासम्म मध्याह्नको १२ बजिसकेको थियो। बजार निरन्तर उकालो यात्रामा थियो।
त्यहाँ उपस्थित एक लगानीकर्ताले भने, ‘अब त सेयर किन्ने ठाउँमा नै आयो। कारोबार पनि प्रतिमिनेट १ करोड रुपैयाँको भएको छ।’
सोही ब्रोकरमा भेटिएका अर्का एक लगानीकर्ताले ठूलो सास फेर्दै भने, ‘धन्न भगवान बल्ल–बल्ल मिलाइयो महालक्ष्मी बैंकको ऋण। बजार घटेर निकै तनाव दियो।’
त्यहीँ एक लगानीकर्ताले भने, ‘यो बजार हाम्रा बाले धान रोपेजस्तै हो, कहिले धान फल्छ कहिले भुस। कुरेर बस्ने हो भाउ त आइहाल्छ नि।’
‘बजारले धेरै झुक्काएकोले कन्फिडेन्स बढ्न समय लाग्छ। आजको कारोबार हेर्दा बजारमा केही गुड न्युज आउने जस्तो देखिन्छ’, ती लगानीकर्ताले थपे। ‘सेबोन अध्यक्ष रमेश हमालको वाचा राम्रो छ।’
उनीसँगै बसेका अर्का लगानीकर्ताले भने, ‘जलविद्युत कम्पनीहरुले फेरिसर्किट हानेका छन्।’
त्यहाँबाट हामी न्युप्लाजामै रहेको प्रिमियर सेक्युरिटिज (स्टक ब्रोकर नं. ३२) पुग्यौँ। यहाँ लगानीकर्ताको उपस्थित राम्रै थियो। बजार बढेकोमा लगानीकर्ता दंग देखिन्थे।
एक लगानीकर्ताले भने, ‘अब पनि बढ्ने त हाई बिटा भएका एचडीएल र सीआईटी नै हो।’
केही समयको बसाइपछि हामी पुतलीसडकस्थित श्वेता सेक्युरिटिज (स्टक ब्रोकर नं. २५) पुग्यौँ। यतिबेलासम्म दिउँसको २ बज्दै थियो। ८० अंकले बढेको बजार पुनः घट्न थाल्दै थियो। त्यहाँ पनि उपस्थित लगानीकर्ताले भने, ‘आज बजार सीआईटीले पनि बढायो।’
उनीसँगै बसेका अर्का लगानीकर्ताले भने, ‘सीआईटीले अझै ३ दिन सर्किट हान्छ।’
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19