– अर्जुन तिमिल्सिना
काठमाण्डौ । सधैँको साताजस्तै आज पहिलो दिन आइतबार हामी विभिन्न ब्रोकर हाउस पुग्ने कार्यलाई निरन्तरता दिएका छौँ।
यसै सिलसिलामा आज हामी काठमाण्डौको नक्साल र कमलादीस्थित विभिन्न ब्रोकर हाउसहरुमा पुगेर लगानीकर्ता तथा ब्रोकर सञ्चालकको विचार सुन्ने तथा बुझ्ने कार्यलाई निरन्तरता दिएका छौँ।
सबैभन्दा पहिले नक्सालको थ्राइब ब्रोकेरेज (हाउस स्टक ब्रोकर नं. १३)मा पुग्यौँ। बिहानको पहिलो प्रहरमा बजार केही तलमाथि गर्दै थियो। ब्रोकरमा लगानीकर्ताको उपस्थिति खासै थिएन। ब्रोकर सञ्चालकको मोबाइलमा निरन्तर घन्टी बजिरहेको थियो। एक महिला लगानीकर्ताले फोन गर्दै एउटा कम्पनीको ३०० कित्ता सेयर खरिदका लागि आदेश दिइन। केही समयको अन्तरालमा फेरि अर्का एक पुरुष लगानीकर्ताले फोन गर्दै २० कित्ता आरबीसीएलको कित्ता सेयर बिक्रीका लागि आदेश दिए। त्यस्तै अर्की एक महिला लगानीकर्ताले पनि सांग्रिला विकास बंैकको सेयर बिक्री गर्न आदेश दिइन्।
बजार छिनमै तल छिनमै माथि गर्दै थियो। एक पुरुष लगानीकर्ताले भने हजार–हजार कित्ता सिभिल बैंक र सेन्चुरी बैक खरिदका लागि आदेश दिँदै थिए।
यो बेलासम्म मध्याह्नको १२ बज्दै थियो। बजार सामान्य अंकले तलमाथि मात्रै गरिरहेको थियो।
केही समयको बसाइपछि हामी नक्सालकै नासा सेक्युरिटिज (स्टक ब्रोकर नं. ५८) पुग्यौँ। बजार पनि विस्तारै बढ्दै थियो। त्यहाँ भने लगानीकर्ताको उपस्थिति राम्रै थियो। एक लगानीकर्ताले मोबाइल हेर्दै भने, ‘आज भने बजार बढ्लाजस्तो छ। यो अप्पर तामाकोशीको सेयरमा त ठूलै भन्नेहरु पनि ७०० माथि फसेका छन्, फेरि त्यो मूल्य कसो नपुग्ला ?’
उनीसँगै बसेका अर्का एक लगानीकर्ताले ठट्यौली पारामा भने, ‘सबै हाइड्रोमात्रै बढेका छन्। अहिले खोला पनि बढेको छ। बिजुली पनि निर्यात हुँदैछ।’
उनीहरुसँगै बसेका एक लगानीकर्ताले भने, ‘साहसले जम्मा ५ प्रतिशत लाभांश दिने हल्ला छ।’
तिनै लगानीकर्ताले फेरि भने, ‘राष्ट्र बैंकले ४–१२ हटाउने र ब्याज भने बढाउने हल्ला पनि सुनिन्छ।’
त्यहीँ भेटिएका एक लगानीकर्ताले भने, ‘यो नासामा पनि लगानीकर्ता बस्ने ठाउँ भएन।’
उनको जबाफ फर्काउँदै सँगै बसेका साथीले भने, ‘अब नयाँ भवन बन्दैछ।’
उनीहरुकै छेवैमा बसेका अर्का एक लगानीकर्ताले ठट्यौली पारामा भने, तिलक कोइरालाले पानी पनि खाए, बजार पनि बढाए। कति किनेर गएका थिए, सुत्न ?’
‘उनीहरुको ग्रुप छ किन नकिनुन् ?’ उनीहरुसँग बसेका अर्का लगानीकर्ताले भने, ‘यसपाली बजार हेर्न साह्रै मज्जा आयो, यो आईसीएफसी १००० मा बचेको ३०० मा आयो। ७ लाख हालेको २० लाखमा बेचियो।’
केही समयको बसाइपछि हामी कमलादीको कोहिनुर सेक्युरिटिज (स्टक ब्रोकर नं. ३५) पुग्यौँ। यति बेलासम्म दिउँसोका १ बजिसकेको थियो। बजार ४० अंकजति बढेको थियो। यहीँ भेटिएका एक लगानीकर्ताले भने, ‘अब बजारमा हंग्री लगानीकर्ता पसे। नत्र यसरी बजार बढ्ने थिएन।’
केही समयको बसाइपछि हामी क्रिएटिभ सेक्युरिटिज (स्टक ब्रोकर नं. ४०) पुग्यौँ। त्यहाँ भेटिएका लगानीकर्ताहरु भने आपसमा कारोबार रणनीति बनाउँदै गरेका थिए। एक लगानीकर्ताले भने, ‘बढ्ने त हाइड्रो नै हो, ३०० रुपैयाँ तलका युनाइटेड मोदी, सान्जेनजस्ता कम्पनी किनेर ३ महिना चुप लागेर बसेँ जितिन्छ।’
एक महिला लगानीकर्ताले भने, ‘चिलिमे जलविद्युत पनि ठीकै छ। अहिले किनेर फागुनसम्म होल्ड गर्नसके हुन्छ।’
ती महिला लगानीकर्तालाई समर्थन गर्दै अर्का एक लगानीकर्ताले भने, ‘यो बजारमा कि आँटले खान्छ कि ढाँटले खान्छ।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago