– अर्जुन तिमिल्सिना
काठमाण्डौ । सधैँझैँ साताको पहिलो कारोबार दिन आइतबार हामी विभिन्न ब्रोकर हाउस पुगेर लगानीकर्ताका विचार सुन्ने तथा जान्ने कार्यलाई निरन्तरता दिएका छौँ।
आज चालु आर्थिक वर्षको पहिलो कारोबार दिन पनि भएकोले बजारमा लगानीकर्ताको उपस्थिति सामान्य देखिन्थ्यो। लगानीकर्ताहरुमा चालु आर्थिक वर्षको मौद्रिक नीतिलाई लिएर अन्योलता देखिन्थ्यो।
सबैभन्दा पहिले काठमाण्डौको राजदबारस्थित उत्तरढोकामा रहेको ओपल सेक्युरिटिज इन्भेस्टमेन्ट कम्पनी (स्टक ब्रोकर नं. ४)मा पुग्यौँ। त्यहाँ लगानीकर्ताको उपस्थिति सामान्य नै देखिन्थ्यो।
त्यहाँ एक लगानीकर्ताले भने, ‘यो अप्पर के होला ?’
सँगै बसेका अर्का लगानीकर्ताले भने, ‘ठूला ब्रोकर ५८ र ४९ बाट सेल भएको छ, केही करेक्सन होला।’
त्यत्तिकैमा ब्रोकर सञ्चालकको मोबाइलमा घन्टी बज्यो। उताबाट सेधियो, ‘आज सेयर के गर्ने ?’
सञ्चालकले जबाफ दिए, ‘भोलुममै किन्न त म्रौद्रिक नीतिसम्म पर्खौं।’
केही समयको बसाइपछि हामी कमलादीस्थित कोहिनुर सेक्युरिटिज (स्टक ब्रोकर नं. ३५)मा पुग्यौँ। त्यहाँ पनि लगानीकर्ताको उपस्थिति सामान्य नै थियो। त्यहाँ उपस्थित एक लगानीकर्ताले भने, ‘बजार माथि जान खोज्छ तर जानै सक्दैन किन हो ?’
ब्रोकर हाउसभित्र यताउता डुल्दै ती लगानीकर्ता फेरि भने, ‘मेरो पोर्टफोलियो २ करोड जति थियो, अहिले त आधा भइसक्यो। कहिले बढ्छ अब ?’
त्यहीँ भेटिएका नयाँ लगानीकर्ता भन्दै थिए, ‘म त लकडाउनदेखि पसेको हो, पहिले त राम्रै थियो अहिले भने स्वाहा नै भइसक्यो।’
उनीसँगै बसेका अर्का लगानीकर्ताले भने, ‘यो गभर्नरले गर्दा हो।’
यो बेलासम्म दिउँसोको १ बज्दै थियो। बजार झिनो अंकले तलमाथि गर्दै थियो। बाहिर प्रचण्ड गर्मी थियो। केही लगानीकर्ता ब्रोकर हाउसभित्रै निदाएका भेटिए।
कोहिनुरमा छोटो बसाइपछि हामी प्रज्ञान सेक्युरिटिज (स्टक ब्रोकर नं. १०)मा पुग्यौँ। त्यहाँ भने लगानीकर्ताको उपस्थिति बाक्लै थियो। बजार तल माथि गर्दै झिनो अँकले गिरावट आएको थियो।
बजारको चाल पनि सुस्त भएपछि आलश्य मान्दै एक लगानीकर्ताले भने, ‘बजार पनि उस्तै अल्छी लाग्दो छ, न घट्न सक्छ न बढ्न ?’
सँगै बसेका अर्का लगानीकर्ताले भने, ‘बजारले मौद्रिक नीति कुरेको हो।’
त्यहीँ भेटिएका एक लगानीकर्ता प्रश्न गर्दै थिए, ‘कोरोना फेरि बढेको छ। यसले बजारलाई कस्तो असर पार्ला ?’
उनीसँगै बसेका अर्का लगानीकर्ताले भने, ‘अब बजार बढ्छ।’
त्यहीँ एक लगानीकर्ताले भन्दै थिए, ‘भारतबाट तेलको मूल्य घटेर आएको छ। अब राम्रै राहात हुन्छ। तरलता पनि केही सहज होला।’
उनीसँगै बसेका अर्का एक लगानीकर्ताले भने, ‘१९९ सम्म हालियो। अब त राहात हुने भयो।’
त्यहीँ भेटिएका एक लगानीकर्ताले ‘अब बजार २००० मा कति समय बस्ला’ भनेर जिज्ञासा राख्दै थिए। उनीसँगै बसेका अर्का लगानीकर्ताले भने, ‘बजार लामो समय एउटै विन्दुमा बस्दैन। कि तल कि माथि जाने हो। अब तलभन्दा पनि माथि नै जान्छ। किनकि जति घट्नु घट्यो। तरलता सहज भएसँगै बजार एकपटक फेरि २५०० सम्म पुग्छ नै। यो वर्ष बजार नयाँ उचाइमा पुग्ने सम्भावना गाह्रो छ।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago