– अर्जुन तिमिल्सिना

काठमाण्डौ । सधैँको साताजस्तै आज पहिलो कारोबार दिन आइतबार हामीले विभिन्न ब्रोकर हाउसमा पुगेर लगानीकर्ता तथा ब्रोकर सञ्चालकहका विचार सुन्ने तथा बुझ्ने कार्यलाई निरन्तरता दिएका छौँ। 

सबैभन्दा पहिले आज हामी काठमाण्डौको कालिकास्थानस्थित नेपाल स्टक हाउस (ब्रोकर नं. १४) पुग्यौँ। आज बजार बिहान सुरुदेखि नै निरन्तर उकालो लागेको थियो। ब्रोकर हाउसमा लगानीकर्ताको उपस्थिति खचाखच थियो। बजाररमा बिहानैदेखि भोलुमसहित कारोबार पनि बढेको थियो।

नेपाल स्टक हाउस भेटिएका लगानीकर्ताले भने, ‘आज बढेर २०६० माथि गयो भने त बजार केही दिन बढ्ने नै हो।’

उनीसँगै बसेका अर्का लगानीकर्ताले भने, ‘मैले त ३००० तिर एचडीएल किनेको हुँ। अब ३६०० कट्यो भने बेच्ने हो। मौद्रिक नीति जस्तोसुकै आयो, मतलब छैन। घटे किन्ने हो बढे, बेच्ने हो।’

हामीले केही समय ब्रोकर सञ्चालकसँग पनि भलाकुसारी गर्यौँ। ब्रोकर सञ्चालकले म्रौद्रिक नीति ठिकै खालको आएको बताए। ‘अब पैसा कत्तिको सहज हुन्छ, त्यसैमा भर पर्छ’, ती सञ्चालकले भने।

मौद्रिक नीतिमा केही असन्तुष्टि जनाउँदै ती सञ्चालकले भने, ‘सिंगल अब्लिगरको विषय भने सर्कुलरमार्फत प्रस्ट हुनुपर्छ।’

मार्जिन कारोबारको विषयमा आफूहरुलाई स्रोत पहिचान नहुँदा सञ्चालनमा ल्याउन कठिन भएको ती सञ्चालकले बताए। 

केही समयको बसाइपछि हामी प्रिमियर सेक्युरिटिज (स्टक ब्रोकर नं. ३२) पुग्यौँ। त्यहाँ पनि लगानीकर्ताको उपस्थिति राम्रै थियो। यतिबेलासम्म दिउँसो १ बजिसकेको थियो। बजार निरन्तर बढिरहेको थियो। 

बढेको बजारप्रति इंगित गर्दै एक लगानीकर्ताले भने, ‘अब बजार बढ्ने नै हो, नबढ्नुपर्ने कुनै कारण नै छैन। एक वर्षदेखि बजार निरन्तर घट्यो।  १५०० को सेयर ३०० मा आइसक्यो। बजारमा खेल्ने भए यही हो बेला, किन्न ढिलो गर्ने हो भने फेरि फस्न पनि सकिन्छ।’

त्यहाँबाट हामी प्रदर्शनीमार्गस्थित सेक्योर सेक्युरिटिज (स्टक ब्रोकर नं. ३६) पुग्यौँ। त्यहाँ लगानीकर्ताको उपस्थिति ठिकै थियो। 

यो ब्रोकरमा केही लगानीकर्ता बजार नबढेकोमा चिन्तित देखिन्थे। एक लगानीकर्ताले ठट्यौली पारामा भने, ‘ब्याज बढेर डबल भयो, सेयर घटेर आधा भयो। म त सेयर बजारमा लागेको १२ वर्षजति भयो, अब त बजार हेर्ने नशा नै भयो।’

यत्तिकैमा ती लगानीकर्ताको मोबाइलमा घन्टी बज्यो। अस्ट्रेलियाबाट छोराले फोन गरेको भन्दै उनले छोरालाई बजार देखाउँदै भने, ‘आज अलिअलि हरियो भएको छ। सेयर बजार त राम्रै घट्यो।’

उताबाट जबाफ आयो, ‘घटेको बेला किन्दा हुन्छ नि।’

बाबुले फेरि भने, ‘अहिले किन्नलाई पैसा छैन। यो २–४ जनाले कमाउने रहेछ, आफू त्यसमा परिएन। यसमा ९५ जनाले घाटा खाने र ५ जनाले कमाउने रहेछ। आफू ५ जनामा परिएन।’

उताबाट छोराको जबाफ आयो, ‘अहिले विश्वभरका सेयर बजार खसेका छन्। यहाँ पनि यस्तै छ। एकपटक बढ्छ, चिन्ता नगर्नुहोस् बरु धैर्य गर्नुहोस्।’