– अर्जुन तिमिल्सिना
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा बिहानैदेखि रौनक देखिएको थियो। सधैँको साताजस्तै आज पनि हामी बिहान ११ बज्दा नबज्दै विभिन्न ब्रोकर हाउसमा पुगेर लगानीकर्ताको विचार सुन्ने कार्यलाई निरन्तरता दिएका छौँ।
यसै सिलसिलामा आज हामी काठमाण्डौको अनामनगरस्थित विभिन्न ब्रोकर हाउसमा पुगेका थियौँ। त्यहाँस्थित सबै ब्रोकर हाउसमा लगानीकर्ताको उपस्थिति खचाखच थियो। अहिले बजार बढेसँगै ब्रोकर हाउसहरुमा लगानीकर्ताको उपस्थिति पनि बढ्दै गएको देख्न पाइन्छ।
सबैभन्दा पहिले हामी भिजन सेक्युरिटिज (स्टक ब्रोकर नं. ३४) मा पुग्यौँ। त्यहाँ लगानीकर्ता बजार हेर्दै गफमा मस्त देखिन्थे। यत्तिकैमा एक लगानीकर्ताले भने, ‘यो अपी हाइड्रो पटक्कै बढेन, त्यही २७१ मै घुमेको घुमै छ। मैले किनेपछि त के हुन्छ के ?’
उनीसँगै बसेका अर्का लगानीकर्ताले भने, ‘मलाई यो एनएचपीसी त्यस्तै भएको छ। अस्ति बल्ल बल्ल साँवा आएको थियो। डेढ महिना पहिले किनेको अब त फाल्नु पर्लाजस्तो छ।’
ती लगानीकर्ताले थप्दै भने, ‘मैले त्यो अप्पर ६४० तिर किनेको १०० रुपैयाँ घाटामा छ।’
यतिबेलासम्म मध्याह्नको १२ बज्दै थियो। बजार २० अंकजतिले बढेको थियो। ब्रोकर हाउसमा निरन्तर घन्टी बजी राखेको थियो ।
एक लगानीकर्ताले भने, ‘फेरि कोभिड बढेको बढ्यै छ। कोभिड बढेपछि मान्छेले खाने रक्सी नै रहेछ। एचडीएल फेरि बढ्ने भयो।’
त्यहीँ भेटिएका अर्का लगानीकर्ता भन्दै थिए, ‘आज सेक्टर चेन्ज भयो। लगानीकर्ता इन्स्योरेन्समा पसे, अब बैंकको पालो आउलाजस्तो छ।’
केही समयको बसाइपछि हामी अनामनगरकै आर्यतारा सेक्युरिटिज (स्टक ब्रोकर नं. ५७)मा पुग्यौँ। त्यहाँ पनि लगानीकर्ताको उपस्थिति राम्रै थियो। ‘किन्ने भनेको गोर्खाज फाइनान्स नै रहेछ’, एक लगानीकर्ताले ठट्यौली पारामा भने, ‘अहिले साहस, अप्परतिर नलाग्नुहोस्, गोर्खा फाइनान्स नै किन्नुहोस्।’
बजार बढेसँगै ब्रोकर हाउसमा निकै उमंग छाएको देखिन्थ्यो। यत्तिकैमा एक लगानीकर्ताले भने, ‘आज बजार २१५० माथि नै टिक्ने देखिन्छ। लगानीकर्ताको मनोबल बढेको छ, बजार ६० अंकभन्दा बढी बढ्लाजस्तो छ।’
त्यहाँ पनि लगानीकर्ताले आज सेक्टर परिवतर्न भएको चर्चा गर्दै भन्दै थिए, ‘बजार विस्तारै निरन्तर बढेको छ, सबै सक्टरको पालो आउँछ।’
त्यहाँ उपस्थित एक लगानीकर्ताले मोबाइलमा बढेको बजार देखाउँदै आज इन्स्योरेन्स कम्पनीहरुले सर्किट हानको भन्दै थिए। एक पुराना लगानीकर्ताले लामो सास फेर्दै भने, ‘हरिशरणमः मैले हजार माथि किनेको आईजीआई कहिले आउला किनको मूल्य ? साँवामात्रै आओस् न अब त बल्ल मैले बुझेँ।’
केही समयको बसाइपछि हामी अनामनगरकै दीपशिखा धितोपत्र सेक्युरिटिज (स्टक ब्रोकर नं. ३८)मा पुग्यौँ। त्यहाँ पनि लगानीकर्ताको उपस्थिति राम्रै थियो। त्यहाँ उपस्थित एक लगानीकर्ताले भने, ‘सेयर बेच्न पनि जान्नुपर्ने रहेछ, मैले अघिल्लोपटक २६०० रुपैयाँमा किनेको सीआईटी ४००० रुपैयाँ माथि पुग्दा पनि बेच्न सकिनँ।’
यतिबेलासम्म दिउँसोको २ बज्दै थियो। बजार निरन्तर उकालो लागिरहेको थियो। ब्रोकर हाउसमा लगानीकर्ताको चाप बढ्दै थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19