– अर्जुन तिमिल्सिना

काठमाण्डौ । सधैँको साताजस्तै आज आइतबार पनि हामी विभिन्न ब्रोकर हाउसमा  पुगेर लगानीकर्ता तथा ब्रोकर सञ्चालसँग बजारको विषयवस्तुबारेमा छलफल गर्ने कार्यलाई निरन्तरता दिएका छौँ। 

यसै सिलसिलामा आज हामी सबैभन्दा पहिले ११ बज्दा नबज्दै काठमाण्डौको नक्सालस्थित सनी सेक्युरिटिज (स्टक ब्रोकर नं. ४२) मा पुग्यौँ। बजार बिहान खुलेदेखि नै बढेको थियो। पहिलोे प्रहरमा करिब १७ अंकले बढेको थियो। 

ब्रोकर हाउसमा लगानीकर्ता आउने क्रम जारी थियो। केही नयाँ र केही पुराना लगानीकर्ता ब्रोकर हाउसमा देखिन्थे। १२ बज्दै गर्दा बजार पुनः घट्न थाल्यो। बजार घट्न थालेपछि केही पुरानाजस्तो देखिने लगानीकर्ता आज पनि बजार नबढ्ने भयो भन्दै उठेर हिँडे। 

केही समयको बसाइपछि हामी कालिकास्थानस्थित नेपाल स्टक हाउस (ब्रोकर नं. १४)मा पुग्यौँ। त्यहाँ पनि लगानीकर्ताको उपस्थिति राम्रै थियो। त्यहाँ उपस्थित लगानीकर्ता  भर्खरै आउँदै गरेको मन्दाकिनी हाइड्रोको चर्चा गर्दै थियो। ‘राम्रो छ १० कित्ता भए पनि किन्नुपर्छ’, एक लगानीकर्ता भन्दै थिए, ‘खेलाडी लागेको कम्पनीमा पस्नुपर्छ।’

त्यही ब्रोकर हाउसमा भेटिएका लगानीकर्ता बैंक नबढेकोमा चिन्ता व्यक्त गर्दै थिए।  कुमारी बैंक र एनसीसी बैंक आधा घटिसके, बजार बढ्दा खासै बढ्दैनन्।’

केही समयको बसाइपछि हामी न्युप्लाजास्थित एसियन सेक्युरिटिज (स्टक ब्रोकर नं. २६ मा पुग्यौँ। त्यहाँ उपस्थित लगानीकर्ताहरु इन्स्योरेन्स सेक्टरमा नेपाल लाइफको सेयर धेरै घटेको बताउँदै थिए। ‘अब किन्नलाई भने लाइफ इन्स्योरेन्सको कम्पनी ठीक छ, मैले त एकपटक नाफा बुक पनि गरेँ, फेरि यही किन्ने हो’, एक लगानीकर्ताले भने।

केही समयको बसाइपछि हामी हनुमानथानस्थित कालिका सेक्युरिटिज (स्टक ब्रोकर नं. ४६)मा पुग्यौँ। त्यतिबेलासम्म दिनको १ बजिसकेको थियो। बजार सामान्य अँकले तल माथि गर्दै थियो। 

त्यही ब्रोकरमा भेटिएका एक लगानीकर्ताले आफू प्राविधिक चार्टसमेत हेर्ने दाबी गर्दै भन्दै थिए। ‘आज बजारमा इन्भर्टेड ह्याम्मर बनेमा भोलिबाट बढ्छ’, ती लगानीकर्ताले भने, ‘रातोमा बन्द भए भोलिबाट घट्छ। २०८० मा भने बलियो सपोर्ट रहेको तर्क गर्दै थिए।’

यसै ब्रोकरमा भेटिएका एक लगानीकर्ता भन्दै थिए, ‘चुनावको घोषणाले बजारलाई केही प्रभाव परेन।’

उनीसँगै बसेका अर्का एक लगानीकर्ता भन्दै थिए, ‘स्थानीय चुनावमा बढ्छ भनेर किन्दा भोलिपटक घट्यो। त्यही कारणले अहिलेको चुानाव घोषणाले बढेन।’

तिनै लगानीकर्तासँगै बसेका अकाए एक लगानीकर्ताले भने, ‘माइक्रोफाइनान्समा जाल्पा निकै राम्रो छ। बोनस पनि ७० प्रतिशतसम्म दिन्छ भन्ने सुनिएको छ।’

उनीहरुसँगै बसेका एक लगानीकर्ता भन्दै थिए, ‘बजारमा खेल्न एनआरएन पनि राम्रै छ। एचडीएलको   बोनस पनि राम्रै आउने चर्चा छ।’

त्यही ब्रोकरमाभेटिएका अर्का  लगानीकर्ताले भने, ‘अहिले लगानी गर्न सेयर बजारबाहेक अन्य विकल्प नै छैन। घरजग्गाका दिन गए अब चल्ने त सेयर बजार नै हो।’