– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । सधैँको साताजस्तै आज आइतबार पनि हामी सेयर बजारको वस्तुस्थिति बुझ्ने कार्यलाई निरन्तरता दिएका छौँ। 

यसै सिलसिलामा आज हामी बिहान ११ बज्दा नबज्दै काठमाण्डौका विभिन्न ब्रोकर हाउसमा पुग्यौँ र त्यहाँको माहौल तथा लगानीकर्ताको विचार सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौँ। सबैभन्दा पहिले हामी नक्सालस्थित सनी सेक्युरिटिज (स्टक ब्रोकर नं. ४२) पुग्यौँ। आज बजार खुलेदेखि नै निरन्तर गिरावट आइरहेको थियो। ब्रोकर हाउसमा लगानीकर्ताको उपस्थिति सामान्य थियो। 

यही ब्रोकरमा भेटिएका एक पुराना तथा अनुभवीजस्ता देखिने लगानीकर्ताले भने, ‘अघिल्लो साता राष्ट्र बैंकले ठूला उद्योगीव्यापारीलाई चालु पुँजी कर्जासम्बन्धी मार्गनिर्देशन जारी गर्दै कर्जामा कडाइ गरेको छ। व्यापारीले चालु पुँजी कर्जाको केही पैसा सेयर बजारमा पनि लगाउने गर्थे। अब त्यो सम्भावना पनि छिैन। त्यसले पनि बजार झनै खस्किएको हो।’ 

सनी सेक्युरिटिजमै भेटिएका अर्का एक लगानीकर्ता भने आईपीओ किन नपरेको भन्दै ब्रोकरसँग सोध्दै थिए। 

केही समयको बसाइपछि हामी कमलादीस्थित कोहिनुर सेक्युरिटिज (स्टक ब्रोकर नं. ३५) पुग्यौँ। त्यहाँ लगानीकर्ताको उपस्थिति निकै पातलो थियो। यतिबेलासम्म मध्याह्नको १२ बजिसकेको थियो। बजार घट्ने क्रम जारी नै थियो भने २००० को विन्दुबाट तल आइसकेको थियो। 

यही ब्रोकरमा भेटिएका एक लगानीकर्ताले भने, ‘मैले त निफ्रा घाटामै बेचेँ, बजारको अवस्था राम्रो देखिएन।’

उनीसँगै बसेका अर्का लगानीकर्ताले बजार पहिलेकै विन्दुमा आउन सक्ने शंका पनि गरे। चियाको चुस्किसँगै ती लगानीकर्ताले भने, ‘स्टप लस गर्दागर्दै घाटा धेरै भयो। मैले २५०० मा नै बेच्नुपर्ने नबेचेर गल्ती भयो। आज बेचेँ, अब त किन्दनँ।’

उनीहरुसँगै बसेका एक लगानीकर्ताले भने, ‘आज धेरै घट्यो भने भोलि बढ्छ तर टिक्दैन। बजार त पहिलेकै विन्दुमा आउन पनि सक्छ।’

त्यहीँ भेटिएका केही लगानीकर्ताले बजार यसरी घट्नुपर्ने खासै कारण नभएको तर्क पनि गर्दै थिए।  

केही समयको बसाइपछि हामी ज्ञानेश्वरस्थित सूमेरु सेक्युरिटिज (स्टक ब्रोकर नं. ३९) पुग्यौँ। त्यहाँ पनि लगानीकर्ताको उपस्थिति सामान्य नै थियो। 
त्यहाँ भेटिएका एक लगानीकर्ताले आफूलाई  एचआईडीसीएलमा राम्रै घाटा भएको गुनासो पोखे। 

अर्का लगानीकर्ताले भने बजारलाई तीज लागेको बताए। उनीसँगै बसेका एक लगानीकर्ताले भने, ‘बजार केही घटेपछि बढ्छ तर पनि बढाइ टिक्न सक्दैन। अब पहिलेकै विन्दुमा आउन पनि सक्छ। आज किनेकोले बुधबार स्टप लस गर्ने हो।’