– अर्जुन तिमिल्सिना
काठमाण्डौ । सधैँको साताजस्तै आज पनि हामी काठमाण्डौका विभिन्न ब्रोकर हाउसमा पुगेर लगानीकर्ता तथा ब्रोकरको विचार सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौँ।
सबैभन्दा पहिले आज बिहान ११ बज्दा नबज्दै कमलपोखरीस्थित क्रिएटिभ सेक्युरिटिज (स्टक ब्रोकर नं. ४०)मा पुग्यौँ। आज बजार बिहानको सुरुआतीदेखि नै बढेको थियो। ब्रोकर हाउसमा लगानीकर्ता आउन क्रम जारी थियो। ब्रोकर हाउसमा फोनको घन्टी बजिरहेको थियो।
एकजना कालो चस्मा लगाएका एक लगानीकर्ता आफू एनटीसीमा राम्रैसँग फसेको गुनासो गर्दै थिए। ‘फेरि पनि बोनसको हल्ला छ’, ती लगानीकर्ता भने।
उनीसँगै बसेका अर्का लगानीकर्ता भने, ‘नेपाल लाइफ निकै घटिसक्यो, अब घट्दैन।’
सोही ब्रोकरमा भेटिएका एक लगानीकर्ताले बजार दसैँ अगाडि खासै नबढ्ने तर्क गरे। ती लगानीकर्ताले भने, ‘ब्रोकर नं. ४ ओपल सेक्युरिटिजबाट विशाल ग्रुपले सेयर बेचेको बेच्यै छ। बजार के बढ्ला खोइ ?’
उनीसँगै बसेका अर्का लगानीकर्ता भने उनको विचारमा सहमत थिएनन्। ढाका टोपी लगाएका पुराना अनुभवीजस्तो देखिने ती लगानीकर्ता भने, ‘अब बजार बढ्छ।’
केही समयको बसाइपछि भने हामी कमलमोखरीस्थित डायनामिक मनी म्यानेजर सेक्युरिटिज (स्टक ब्रोकर नं. ४४)मा पुग्यौँ। त्यहाँ लगानीकर्ताको उपस्थिति भने निकै कम थियो। यतिबेलासम्म मध्याह्नको १२ बज्दै थियो। बजार भने ४–५ अंकले मात्र बढेको थियो।
त्यहाँ भेटिएका एक लगानीकर्ता भने आज बजार राम्रै बढ्ने आफ्नो आँकलन रहे पनि बढ्न नसकेकोमा गुनासो गर्दै थिए। ‘मैले २२०० रुपैयाँमा किनेको ग्लोबल आइएमई लघुवित्तको सेयर १२०० रुपैयाँतिर आएको छ’, ती लगानीकर्ताले भने, ‘राधी पनि त्यस्तै भयो, कहिले बढ्छ खोइ बजार ?’
त्यही ब्रोकरमा भेटिएका एक लगानीकर्ता मोबाइल देखाउँदै भन्दै थिए, ‘जाल्पा र नेष्डोमा खेलाडी छन्, एकपटक त ४ हजार रुपैयाँ पुर्याउँछन्।’
उनीसँगै बसेका अर्का लगानीकर्ताले भने अब बजारमा दसैँ लागेको बताए।
त्यहाँबाट हामी कमलादीकै प्रज्ञान सेक्युरिटिज (स्टक ब्रोकर नं. १०)मा पुग्यौँ। यतिबेलासम्म दिउँसोको १ बजिसकेको थियो। लगानीकर्ताको उपस्थिति राम्रै थियो। त्यहाँ उपस्थित लगानीकर्ताहरुले अहिले बजारमा टाठा–बाठा नै पनि एनटीसीको सेयरमा फसेको भन्दै थिए। ‘हिजो–अस्ति उचाल्न खुब कोसिस गरेका थिए तर सकेनन्’, एक लगानीकर्ताले भने।
त्यही ब्रोकर हाउसमा केही लगानीकर्ता भने अब कात्तिकबाट बैंकको बेसरेट पनि घट्ने चर्चा गर्दै थिए। ‘बेसरेट घट्यो भने बैंकको ब्याजदर पनि घट्छ’, एक लगानीकर्ताले भने।
केही समयको बसाइपछि हामी कमलादीस्थित कोहिनुर सेक्युरिटिज (स्टक ब्रोकर नं. ३५)मा पुग्यौँ। त्यहाँ पनि लगानीकर्ताको उपस्थिति सामान्य नै थियो। उपस्थित लगानीकर्ता भने दसैँ आउँदै गरेका कारण बजारमा प्रभाव परेको चर्चा गर्दै थिए।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago