– अर्जुन तिमिल्सिना
काठमाण्डौ । सधैँझैँ साताको पहिलो दिन आइतबार हामी विभिन्न ब्रोकर हाउसमा पुगेर लगानीकर्ताका विचार सुन्ने तथा बुझ्ने कार्यलाई निरन्तरता दिएका छौँ।
यसै सिलसिलामा आज हामी बिहान ११ बज्दा नबज्दै सबैभन्दा पहिले काठमाण्डौको डिल्लीबजारस्थित श्रीकृष्ण सेक्युरिटिज (स्टक ब्रोकर नं. २८) पुग्यौँ। बिहान सुरुमा बजार केही अंकले बढेको थियो। ब्रोकर हाउसमा लगानीकर्ता उपस्थिति भइसकेका थिए।
श्रीकृष्ण सेक्युरिटिजमा भेटिएका एक अनुभवी जस्ता देखिने लगानीकर्ताले केही सकारात्मक समाचार आएकाले बजार राम्रै बढ्ने आशा गरेका थिए। ‘धितोपत्र बोर्डको ब्रोकर थप्ने विषय र नयाँ स्टक एक्सचेन्ज खोल्नेजस्ता समाचारले बजार दसैँ अगाडि १०० अंकभन्दा बढी बढ्छ कि भन्ने थियो’, उनले भने, ‘तर, आजको बजारले त्यस्तो देखिएन।’
उनीसँगै बसेका लगानीकर्ताले ठट्यौली पारामा भने, ‘मेरो त हात चिलाएको छ, बजार बढ्छ होला।’
उनीहरुसँगै बसेका अर्का लगानीकर्ताले पनि ठट्यौली पारामै जबाफ दिए, ‘मेरो त खुट्टा चिलाएको छ, हिँड्नुपर्ने होलाजस्तो छ।’
सोही ब्रोकर हाउसमा एक लगानीकर्ताले बजार घटेर वाक्का भइसकेको बताए। ‘एकपटक २१०० भइदिए त दसैँ खर्च निकाल्न हुन्थ्यो’, उनले भने, ‘तर यसपालिको दसैैँ खल्लो हुने भयो। दाम नभएपछि के रमाइलो होला र दसैँ ?’
‘अस्ति एकजना साथीले एनटीसी १५०० रुपैयाँ पुग्छ भन्दै थिए, खोइ आज त झन् घट्यो’, ती लगानीकर्ताले फेरि भने, ‘नबिल पनि लामो समय १७०० रुपैयाँमा टिकाए, अहिले आधा भएको छ। नघट्ने त यो फरवार्ड पो रहेछ।’
उनीसँगै बसेका अर्का लगानीकर्ताले भने, ‘६ वर्षअगाडि आनाको ३० लाख रुपैयाँमा किनेको जग्गा अहिले त आनाको १ करोड रुपैयाँमा पनि पाउन मुस्किल रहेको छ, डिल्लीबजारमा।’
श्रीकृष्ण सेक्युरिटिजमा बसेका एक लगानीकर्ताले बेलायती महारानीको निधनपछि उनको छोरो ७३ वर्षसम्म धैर्य गरेर राजा भएको प्रसंग उठाए। यो विषयलाई सेयर बजारसँग जोड्दै उनले भने, ‘बजारमा पनि यस्तै धैयर्ता चाहिन्छ। पर्खे समय आउने रहेछ। बजारमा पनि पर्खे समय आउँछ।’
केही समयको बसाइपछि हामी डिल्लीबजारमै रहेको कुमारी सेक्युरिटिज (स्टक ब्रोकर नं. १) पुग्यौँ। यतिबेलासम्म मध्याह्नको १२ बजिसकेको थियो। त्यहाँ भेटिएका लगानीकर्ता भने इन्स्योरेन्स सेक्टरको विषयमा छलफल गर्दै थिए। ‘अब एसियन लाइफ र नेसनल लाइफमा राम्रो होला’, एक लगानीकर्ताले भने, ‘नेसनल लाइफको १० वर्षको डिभिडेन्ड हिस्ट्री हेर्ने हो भने २५० प्रतिशत लाभांश दिएको रहेछ।’
यहीँ भेटिएका अर्का एक लगानीकर्ता बजार घटेकोमा निराश थिए। उनले भने, ‘बजार एकपटक बढे त बेचेर निस्किन्थेँ।’
उनीसँगै बसेका एक लगानीकर्ता भने, ‘सबैले त्यही भनेपछि कसले किन्ने ?’
त्यहाँबाट हामी न्युप्लाजास्थित प्रिमियर सेक्युरिटिज (स्टक ब्रोकर नं. ३२) पुग्यौँ। दिउँसोको १ बजिसकेको थियो। त्यहाँ लगानीकर्ताको उपस्थिति राम्रै थियो। एक लगानीकर्ता भन्दै थिए, ‘अपी र एचआईडीसीएल अक्सनमा भन्दा अहिले सस्तोमा दोस्रो बजारमा सेयर पाइएको छ। तर, किन्ने आँट नै छैन।’
उनीसँगै बसेका अर्का लगानीकर्ता भने, ‘बजार बढेको बेला पो, त्यही पैसाले यताउता गर्न सकिन्छ। अहिले त घटेको घट्यै छ, के गर्नु ?’
त्यही ब्रोकर हाउसमा भेटिएका एक लगानीकर्ताले भने, ‘सेयर त १०० रुपैयाँ तल आएपछि पो किन्नु पर्ने रहेछ। पहिला १०० रुपैयाँ तल आएका फाइनान्स र हाइड्रो हेर्नुहोस् त पछि कति बढे ?’
‘अघिल्लो बियरिस ट्रेन्डमा गोर्खाज, समृद्धिजस्ता फाइनान्स कम्पनी सबै १०० रुपैयाँ तल थिए’, ती लगानीकर्ताले भने, ‘यस्ता कम्पनीमा बुल आउँदा १० गुणा कमाए।’
केही समयको बसाइपछि हामी न्युप्लाजामै रहेको एसियन सेक्युरिटिज (स्टक ब्रोकर नं. २६) पुग्यौँ। दिउँसोको २ बजिसकेको थियो। त्यहाँ भेटिएका लगानीकर्ता भने ब्रोकरहरु भारतबाट फर्केपछि बजार बढ्छ भन्दै थिए। एक लगानीकर्ताले भने, ‘मुख्य खेलाडी देशमै छैनन् अनि बजार कसरी बढ्छ ? हामीलाई कोल्याट्रल हालिदिने पनि विदेशमै छन्। अब उनीहरु आएपछि नै बजार बढ्छ।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago