– अर्जुन तिमिल्सिना
काठमाण्डौ । सधैँझैँ साताको पहिलो दिन आइतबार हामी विभिन्न ब्रोकर हाउसमा पुगेर लगानीकर्ताको विचार सुन्ने तथा बुझ्ने कार्यलाई निरन्तरता दिएका छौँ।
यसै सिलसिलामा आज पनि हामी बिहान ११ बज्दा नबज्दै ब्रोकर हाउसमा पुग्यौँ। सबैभन्दा पहिले काठमाण्डौको नक्सालस्थित सनी सेक्युरिटिज (स्टक ब्रोकर नं. ४२) पुग्यौँ। आज बजार सुरुदेखि नै बजार घटिरहेको थियो। ब्रोकर हाउसमा लगानीकर्ताको उपस्थिति निकै पातलो थियो।
सनि सेक्युरिटिजमा भेटिएका एक लगानीकर्ताले बजार चाडपर्व लागेर पनि घटेको हुन सक्ने बताए। ‘मैले त गरिमा विकास बैंक ४१४ मा किनेको घाटा खाएर बेचेँ’, ती लगानीकर्ताले भने, ‘बढ्ला भनेको बढ्दै बढेन। विन्ध्यावासिनी हाइड्रोमा पनि त्यस्तै भयो।’
उनीसँगै बसेका अर्का लगानीकर्ताले यो बजार हल्लैहल्लामा घट्ने बताए। ‘मलाई २० अर्ब रुपैयाँ दिए मैले ४०० अंक बढाइदिने थिए’ ठट्यौली पारामा ती लगानीकर्ताले भने, ‘यो बजारमा पैसाको मुठो छिरेपछि मात्रै बढ्ने हो, त्यो भनेको ठूलाले नकिनेसम्म बढ्दैन। तर, अहिले ठूला नै दबावमा छन्।’
उनीहरुसँगै बसेका एक लगानीकर्ताले अहिलेको बजार त त्यति पैसाले पनि नबढ्ने बताए।
त्यही ब्रोकर हाउसमा बसेको अर्का लगानीकर्ता भने बजार १८१५–१८२० तिरबाट बढ्न सक्ने अनुमान गरे। ‘म भर्खर ग्लोबल आइएमई बैंक गएर आएको एफडीमा १२ प्रतिशत दिन्छु भनेको छ’, ती लगानीकर्ताले भने, ‘यहाँको पैसा तीन महिनालाई राख्नुपर्ला।’
यतिबेलासम्म मध्याह्नको १२ बजिसकेको थियो। केही समयको बसाइपछि हामी नक्सालमै रहेको थ्राइभ सेक्युरिटिज (स्टक ब्रोकर नं. १३) पुग्यौँ। त्यहाँ पनि लगानीकर्ताको उपस्थिति सामान्य थियो। त्यहाँ भेटिएका एक पुराना अनुभवीजस्ता देखिने एक लगानीकर्ताले अझै एक–डेढ वर्ष बैंकको ब्याज नघट्ने र बजार पनि नबढ्ने बताए।
उनीसँगै बसेका अर्का लगानीर्ताले भने त्यस्तो नहुने तर्क गर्दै थिए।
त्यहाँबाट हामी कमलादीस्थित क्रिएटिभ सेक्युरिटिज (स्टक ब्रोकर नं. ४० मा पुग्यौँ।’ दिउँसोको १ बजिसकेको थियो। लगानीकर्ताहरु बजार हेर्न मस्त थिए। बजार एकहोरो घटिरहेको थियो।
त्यहाँ भेटिएका एक नयाँजस्तो देखिने लगानीकर्ता बजार घटेकोमा दिक्क मान्दै थिए। ‘अब पनि घट्यो भने त फेरि मार्जिन कल आउँछ’, ती लगानीकर्ताले भने।
केही समयको बसाइपछि हामी ज्ञानेश्वरस्थित सुमेरु सेक्युरिटिज (स्टक ब्रोकर नं. ३९) पुग्यौँ। यतिबेलासम्म दिउँसोको २ बजिसकेको थियो। बजार १८८६ बाट तल खस्दै थियो। त्यहाँ भेटिएका लगानीकर्ताले निराश हुँदै भने, ‘खोइ बजार त अझै घट्छजस्तो छ। यस्तो हो भने त बजार १६०० सम्म आउन पनि सक्छ। बजारमा हल्ला पनि त्यस्तै छ। बैंकको ब्याज पनि बढेको छ।’
उनीसँगै बसेका अर्का लगानीकर्ताले भन्दै थिए, ‘त्यति धेरै त घट्दैन।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago