– अर्जुन तिमिल्सिना
काठमाण्डौ । सधैँजस्तै साताको पहिलो दिन आइतबार हामी विभिन्न ब्रोकर हाउस पुगेर लगानीकर्ताका विचार सुन्ने तथा बुझ्ने कार्यलाई निरन्तरता दिएका छौँ।
दसैँपछिको आजको पहिलो कारोबार भएकोले ब्रोकर हाउसहरुमा लगानीकर्ताको उपस्थिति सामान्य थियो। आज दसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमा भएकोले पनि होला लगानीकर्ताको निधारमा रातो टीका थियो भने ब्रोकर हाउसको डिस्प्लेमा भने हरियाली छाएको थियो।
आज सबैभन्दा पहिले हामी सनी सेक्युरिटिज (स्टक ब्रोकर नं. ४२) पुग्यौँ। बजार बिहान सुरुदेखि नै बढेको थियो। बजार बढे पनि भोलुम र कारोबार भने खासै थिएन।
सनी सेक्युरिटिजमा भेटिएका एक लगानीकर्ता भन्दै थिए, ‘बजार उचाल्ने भनेको फाइनान्सहरुले हो। फाइनान्ससँग पनि पैसा नै छैन। ऋण पाइएको अवस्था छैन।’
बजार अब धेरै नघट्ने पनि ती लगानीकर्ताको तर्क थियो। ‘एफडीमा भन्दा त अहिले घटेको बजारमै फाइदा हुन्छ’,ती लगानीकर्ताले भने, ‘बजार धेरै तल आएको छ, ताल परे यहाँ १२–१५ प्रतिशत एक सातामै आउँछ।’
बजारमा अहिले सेयरको सेल लागे पनि किन्ने मान्छे भने नरहेको ती लगानीकर्ता भनाइ थियो। ‘गएको बुलमा इन्स्योरेन्समा नराम्रोसँग फसियो’, पछुतो मान्दै ती लगानीकर्ताले भने, ‘म पनि गुराँस लाइफमा परेँ। सबैभन्दा सस्तो त्यही थियो।’
बजार बढिरहेकै थियो। यतिबेलासम्म मध्याह्नको १२ बजिसकेको थियो। ब्रोकर हाउसमा लगानीकर्ता आउने क्रम जारी थियो।
केही समयको बसाइपछि हामी डिल्लीबजारस्थित श्रीकृष्ण सेक्युरिटिज (स्टक ब्रोकर नं. २८) पुग्यौँ। त्यहाँ पनि लगानीकर्ताको उपस्थिति सामान्य नै थियो। दसैँ नसकिएकोले होला केही लगानीकर्ताहरु टीका र जमरामै सजिएर गफमा मस्त थिए। यत्तिकैमा एक लगानीकर्ताले साथीसँग चिया चेस गर्दै भने, ‘लामो बिदामा बस्दा पनि गाह्रो हुने रहेछ।’
यतिबेलासम्म जम्मा १३ करोड रुपैयाँको मात्रै कारोबार भएको थियो। त्यहाँ उपस्थित एक लगानीकर्ताले भने, ‘ल ! सीआईटी पनि बढ्न थाल्यो।’
उनीसँगै बसेका अर्का लगानीकर्ताले शिखर इस्योरेन्स खरिद गर्न १४१ कित्ता ७१४ रुपैयाँमा आदेश दिए।
सँगै बसेका अर्का लगानीकर्ताले भने आफूसँग एनएमबी बैंक रहेकोले एभरेज गरेको बताए।
त्यहीँ उपस्थित केही लगानीकर्ता भने बजार तिहारपछि २१०० सम्म पुग्न सक्ने अनुमान लगाउँदै थिए। ‘त्यहाँभन्दा बढी बढ्ने सम्भावना पनि छैन, १८०० बाट तल जाने पनि देखिँदैन’, एक लगानीकर्ताले बजारको प्रक्षेपण गर्दै भने।
आज आसन्न चुनावका लागि उम्मेदवारी दर्ता गर्ने अन्तिम दिन भएकोले श्रीकृष्ण सेक्युरिटिजमा उपस्थित लगानीकर्ताबीच चुनावको निकै चर्चा चलिरहेको थियो।
केही समयको बसाइपछि हामी अनामनगरमा रहेको भिजन सेक्युरिटिज (स्टक ब्रोकर नं. ३४) पुग्यौँ। त्यहाँ लगानीकर्ताको उपस्थिति राम्रै थियो। यतिबेलासम्म दिउँसोको १ बजिसकेको थियो। बजार ३० अंकले बढेको थियो। एक लगानीकर्ताले भने, ‘आज भने बजार नघट्नेजस्तो देखिन्छ। बजार एकनासले बढेको छ। करोबार भने जम्मा २७ करोड रुपैयाँमात्रै भएको छ।’
त्यहाँ भेटिएका अर्का लगानीकर्ता आफूले ३१०० को इन्डेक्समा १२०० रुपैयाँ हालेको चिज अहिले ४०० रुपैयाँमा आएको भन्दै निराशा व्यक्त गर्दै थिए। ‘यो बजारमा कति बेला निस्किने भन्ने नै थाहा नै भएन’, ती लगानीकर्ताले भने।
उनीसँगै बसेका अर्का एक लगानीकर्ताले भने केही दिनपहिले शाइन रेसुंगा डेभलपमेन्ट बैंकको सेयर २९४ रुपैयाँमा किने पनि घाटामै रहेको बताए।
सँगै बसेका एक लगानीकर्ताले भने, ‘मैले २८०० रुपैयाँमा नबेचेको फरवार्ड २६०० रुपैयाँमा बेच्नुपर्यो।’
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19