– अर्जुन तिमिल्सिना
काठमाण्डौ । सधैँझैँ साताको पहिलो दिन आइतबार विभिन्न ब्रोकर हाउसमा पुग्ने कार्यलाई हामीले निरन्तरता दिएका छौँ।
यसै क्रममा आज हामी काठमाण्डौको पुतलीसडक र अनामनगरका विभिन्न ब्रोकर हाउसमा पुगेर लगानीकर्ता तथा ब्रोकर सञ्चालकका विचार सुन्ने कार्यलाई निरन्तरता दिएका छौँ। सबैभन्दा पहिले आज हामी प्रिमियर सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ३२) मा पुग्यौँ । त्यहाँ लगानीकर्ताको उपस्थिति सामान्य थियो । लगानीकर्ता आउन क्रम भने जारी थियो।
प्रिमियर सेक्युरिटिजमा भेटिएका एक लगानीकर्ता बजार घटेकोमा र आफू फसेकोमा पछुतो मान्दै थिए। ‘अब बजार कहिले बढ्छ ?’, ती लगानीकर्ताले प्रश्न गरे।
उनीसँगै बसेका अर्का पुराना र अनुभवीजस्ता देखिने लगानीकर्ताले माहुली लघुवित्तको रिपोर्ट घटेर आएको बताए। ‘लघुवित्त पनि खासै चल्न सकेनन्’, ती लगानीकर्ताले भने, ‘अभियान लघुवित्तमा बिक्री आयो । १ हजार रुपैयाँको ग्लोबल आइएमई डिबेन्चर ७५० रुपैयाँमा झरेको छ । बजारमा रौनक नै छैन।’
बजारको अहिलेको अवस्था हेर्दा अहिले नै किन्ने र कमाउनेभन्दा पनि अर्को बुलको तयारीमा लगानीकर्ताहरु लागेको हुन सक्ने ती लगानीकर्ताको भनाइ थियो। ‘सेयर किन्ने त यस्तै घटेको बेला हो’, ती लगानीकर्ताले भने।
केही समयको बसाइपछि हामी पुतलीसडकस्थित प्राइमो सेक्युरिटिज (स्टक ब्रोकर नम्बर १६) मा पुग्यौँ । यो बेलासम्म मध्याह्नको १२ बजिसकेको थियो। प्राइमो सेक्युरिटिजमा पनि लगानीकर्ताको उपस्थिति सामान्य नै थियो।
प्राइमो सेक्युरिटिजबाट कारोबार गर्ने एक पुराना लगानीकर्ता चिया पसलमा भेटिए। एक हातमा चिया र अर्को हातले चुरोट तान्दै गरेका ती लगानीकर्ताले भने, ‘धन्न भगवानको कृपाले हाइड्रोबाट भने निस्किएछ। नत्र त बिजोग नै हुने रहेछ । एकपटक त कमाएकै हो, फेरि २२०० तिर फसियो।’
उनीसँगै बसेका अर्का लगानीकर्ताले चिया पिउँदै भने, ‘अप्पर हाइड्रोको राइट पनि आउँदै गरेको छ र रोल्वालिङको उत्पादन सुरु भएपछि राम्रै हुन्छ।’
ती लगानीकर्ताले राजनीतिलाई जोड्दै भने, ‘युवा नै बूढा नेताको पछि लाग्दा देश बिग्र्रेको हो।’
त्यहाँबाट हामी अनामनगरस्थित भिजन सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ३४) पुग्यौँ। दिउँसोको १ बजिसकेको थियो। बजार १० अंकले उकालो लागेको थियो। ब्रोकर हाउसमा लगानीकर्ता आउने–जाने क्रम जारी थियो।
भिजन सेक्युरिटिजमा भेटिएका एक लगानीकर्ताले आफ्ना सेयरको स्टेटमेन्ट हेर्दै भने, ‘यो २१०० रुपैयाँमा किनेको स्ट्यान्डर्ड चार्टर्ड बैंकको सेयरमूल्य फेरि कहिले आउला त्यही मूल्यमा ?’
उनीसँगै बसेका साथीले प्रतिप्रश्न गरे, ‘यसको मूल्य त अघिल्लो बुलमा ८ हजार रुपैयाँसम्म पुगेको थियो। तपाइँ त सस्तैमा पर्नुभएको छ। म पनि नेपाल लाइफमा २३०० रुपैयाँमा फसेको छु। कहिले आउँछ अब त्यो मूल्य ?’
भिजनबाट हामी अनामनगरकै आर्यतार सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ५७)मा पुग्यौँ। आर्यतारामा लगानीकर्ताको उपस्थिति शून्यप्राय थियो। हामीले केही समय ब्रोकर सञ्चालकसँग कुरा गर्यौँ।
ब्रोकर सञ्चालकले अहिलेको बजारमा मुख्य समस्या भनेको ब्याजदर नै रहेको बताए। ‘मेरो २० वर्षको अनुभवमा ब्याजदर बढ्दा सेयर बजार सधैँ घटेको छ। सेयर बजारमा ब्याजदर बढ्नु भनेको क्यान्सरको समस्या बढ्नुजस्तै हो’, ती सञ्चालकले भने, ‘अब ब्याजदर नघटी बजार ठूलो अंकले बढ्दैन तर सानोतिनो अंकको बढोत्तरी भने आउन सक्छ।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago