– अर्जुन तिमिल्सिना
काठमाण्डौ । सधैँझैँ यो साताको पहिलो दिन आज आइतबार पनि हामी विभिन्न ब्रोकर हाउसहरु पुगेर लगानीकर्ता तथा ब्रोकर सञ्चालकका विचार सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौँ।
आज हामी काठमाण्डौका विभिन्न ब्रोकर हाउसमा पुगेका थियौँ। सबैभन्दा पहिले हामी कमलादीस्थित कोहिनुर सेक्युरिटिज (स्टक ब्रोकर नं. ३५) पुगेका थियौँ। बिहानैदेखि बजार बढिरहेको थियो।
कोहिनुरमा पनि चहलपहल राम्रै थियो। त्यहाँ एक लगानीकर्ताले अब मुद्दति निक्षेप (एफडी)को ब्याज घट्ने बताए। ‘कर्जाको ब्याज भने तत्काल नघट्ला तर निक्षेपको ब्याजदर भने अब बढ्दैन’, ती लगानीकर्ताले भने।
कोहिनुरमै केही लगानीकर्ताले भने जाल्पा लघुुवित्तले राम्रो प्रतिफल घोषणा गरेकोले अब नेष्डो समृद्ध लघुवित्तले पनि ८० प्रतिशतसम्म लाभांश घोषणा गर्न सक्ने अनुमान गर्दै थिए।
कोहिनुरमै कोरियाबाट सेयर बजारमा लगानी गर्ने एक लगानीकर्ता पनि भेटिए। ती लगानीकर्ता ब्रोकर सञ्चालकसँग कोरियाबाट कारोबार गर्दा समस्या भइरहेको गुनासो पोख्दै थिए।
ब्रोकर सञ्चालकले कोरियाबाट सेयर कारोबार गर्दा कुनै समस्या भए भाइबर ग्रुपमा ज्वाइन भएर आफ्ना गुनासा राख्न अनुरोध गरे। उनले समस्या तुरुन्तै समाधान गर्न आफ्ना कर्मचारीलाई निर्देशन पनि दिए।
मध्याह्नको १२ बजिसकेको थियो। कोहिनुरमा लगानीकर्ता आउने क्रम जारी नै थियो। बजारमा ५० करोड रुपैयाँबराबरको कारोबार भइसकेको थियो।
केही समयको बसाइपछि हामी कमलादीमै रहेको प्रज्ञान सेक्युरिटिज (स्टक ब्रोकर नं. १०) पुग्यौँ। त्यहाँ लगानीकर्ताको उपस्थिति खचाखच थियो। बजार एकहोरो बढिरहेको थियो।
प्रज्ञानमा भेटिएका एक लगानीकर्ताले बजार र ब्याजदर एउटा चक्रमा चल्ने र अब ब्याज बढ्ने चक्र सकिन थालेको बताए। ‘बजारले घट्दो चक्र पूरा गरेकोले अब बढ्ने चक्रमा रहेको छ’, उनले भने, ‘विस्तारै–विस्तारै ब्याज पनि घट्छ। १ प्रतिशतले ब्याजदर घट्दा बजार ३०० अंकले बढ्छ। अब बजार २८०० सम्म पुग्न सक्छ।’
प्रज्ञानमै भेटिएका केही लगानीकर्ताबीच लघुवित्तको चर्चा चलिरहेको थियो। उनीहरु भन्दै थिए, ‘जाल्पाले राम्रै घोषणा गर्यो, अब नेष्डोले पनि राम्रै घोषणा गर्छ।’
दिउँसोको १ बजिसकेको थियो। लगभग पौने १ अर्ब रुपैयाँको हाराहारीमा कारोबार भएको थियो। बजारमा रौनक कायमै थियो।
लगानीकर्ताहरु ब्रोकर हाउसमा मात्रै नभएर चिया पसलमा पनि बजार बढ्ने र माइक्रोफाइनान्समा चमक आउने चर्चा गर्दै थिए।
त्यहाँबाट हामी कमलपोखरीस्थित क्रिएटिभ सेक्युरिटिज (स्टक ब्रोकर नं. ४०) पुग्यौँ। त्यहाँ पनि लगानीकर्ताको उपस्थिति राम्रै थियो।
एक लगानीकर्ताले अप्पर हाइड्रोपावरको सेयर बेच्न आएको भन्दै थिए। उनीसँगै बसेका अर्का लगानीकर्ताले बजार बल्ल बढ्न थालेकोले केही दिन हेर्न सुझाव दिए। ‘म त केही दिन सेयर बेच्दिनँ, जति घट्नु थियो घटिसक्यो, अब बढ्छ’, ती लगानीकर्ताले भने।
यतिबेलासम्म दिउँसोको २ बजिसकेको थियो। बजार बढ्ने क्रम जारी नै थियो।
केही समयपछि हामी पुतलीसडकस्थित श्वेता सक्युरिटिज (स्टक ब्रोकर नं. २५) पुग्यौँ। त्यहाँ पनि लगानीकर्ताको उपस्थिति राम्रै थियो।
श्वेतामा भेटिएका एक लगानीकर्ताले भने, ‘अहिलेको बजारमा डेढ वर्षको बुल र डेढ वर्षको बियरिस चक्र छ। अब फेरि बुल चक्र सुरु भयो।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago