– अर्जुन तिमिल्सिना
काठमाण्डौ । सधैँझैँ साताको पहिलो दिन आइतबार हामी विभिन्न ब्रोकर हाउसमा पुगेर लगानीकर्ता तथा ब्रोकर सञ्चालकका विचार सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौँ।
आज हामी कारोबार समयमा काठमाण्डौको अनामनगरमा रहेका केही विभिन्न ब्रोकर हाउसमा पुगेका थियौँ। दीपशिखा धितोपत्र कारोबार कम्पनी (ब्रोकर नं. ३८) मा पुग्दा लगानीकर्ताको उपस्थिति शून्यप्रायः थियो। लगानीकर्ता नभए पनि डिस्प्ले खुलेको थियो। बजार बिहानैदेखि सामान्य अंकले घटेको थियो।
दीपशिखाका सुरक्षागार्डले लगानीकर्ताहरु बजार बढेको बेलामा मात्रै आउने बताए। केही कर्मचारीहरुले भने अघिल्लो साता आएका लगानीकर्ताहरुले बजार बढ्ने बताएको र आफूहरु पनि फसेको गुनासो गरे।
त्यहाँबाट हामी कालिका सेक्युरिटिज (स्टक ब्रोकर नं. ४६) मा पुगेका थियौँ। कालिकामा पनि लगानीकर्ताको उपस्थिति शून्य नै थियो। हामीले केही समय ब्रोकर सञ्चालकसँग बजारको पछिल्लो अवस्थाको विषयमा छलफल गर्यौँ। ब्रोकर सञ्चालकले बैंकहरुले ब्रोकरहरुको वर्किङ क्यापिटल लिमिटको विषयमा आएका समाचारमा कुनै सत्यता नभएको बताए। ‘समाचारमा आएजस्तो समग्रमा पूरै ब्रोकरको वर्किङ क्यापिटल लिमिट तानिएको भन्ने विषय भ्रम रहेको छ’, ती सञ्चालकले भने, ‘मैले कुरा गरेका र मेरो ब्रोकरमा पनि बैंकले कुनै ताकेता गरेको छैन। मैले बुझेसम्म एक–दुई ब्रोकरमा समस्या होला तर सबै ब्रोकरमा समस्या रहेकोले लिमिट घटाएको भन्ने समाचार साँचो होइन।’
केही समयको बसाइपछि हामी इम्पेरियल सेक्युरिटिज (स्टक ब्रोकर नं. ४५)मा पुग्यौँ। त्यहाँ पनि लागनीकर्ताको उपस्थिति सामान्य थियो। एक लगानीकर्ताले जाल्पा घटेकोमा पछुतो मान्दै भने, ‘खोई यो लघु्वित्तले घोषणा गरेको लाभांश बाँड्न राष्ट्र बैंकले स्वीकृति दिँदैन भन्छन्। अस्ति बढेकोमा किनियो, अहिले तनाब नै छ।’
त्यहाँबाट हामी भिजन सक्युरिटिज (स्टक ब्रोकर नं. ३४)मा गयौँ। भिजनमा भने लगानीकर्ताको उपस्थिति खचाखच थियो।
दिउँसोको १ बजिसकेको थियो। बजार समान्य अंकले घटेको थियो।
भिजनमा भेटिएका आफूलाई अर्थशास्त्रको मास्टर बताउने एक लगानीकर्ताले बजारमा आफू पनि नराम्रोसँग फसेको बताए। ‘म त दुई वर्षपहिले २५०० को इन्डेक्समा पसेको हुँ’, उनले भने, ‘मैले किनेपछि बजार घटेको घट्यै छ।’
उनीसँगै बसेका अर्का लगानीकर्ता निफ्राको सेयर देखाउँदै भने ‘७०० रुपैयाँ पुगेको सेयर अहिले लगभग १५० रुपैयाँमा आइसकेको छ। घाटा त कति हो कति ? अब बजार ठूला नछिरेसम्म बढ्दैन।’
उनीहरुसँगै बसेका एक लगानीकर्ताले भने, ‘यो सेयर बजार भनेको त चोर बजार रहेछ, घटेर हैरान भो।’
भिजनमै भेटिएका केही लगानीकर्ता भने अहिले बजार नबढे पनि चुनावपछि भने बढ्नेमा आशावादी देखिन्थे। ‘राष्ट्र बैंकले पनि केही सोच–विचार गर्छ भन्ने समाचार आएका छन्’, उनीहरु भन्दै थिए।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago