– अर्जुन तिमिल्सिना
काठमाण्डौ । सधैँझैँ साताको पहिलो दिन आइतबार हामी विभिन्न ब्रोकर हाउसमा पुगेर लगानीकर्ता तथा ब्रोकर सञ्चालकका विचार सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौँ।
यही सिलसिलामा आज हामी काठमाण्डौका विभिन्न ब्रोकर हाउसहरुमा पुगेका थियौँ। सबैभन्दा पहिले बिहान ११ बज्दा नबज्दै हामी नक्सालस्थित नासा सेक्युरिटिज (स्टक ब्रोकर नं. ५८) मा पुग्यौँ। त्यहाँ लगानीकर्ताको उपस्थिति सामान्य थियो। बिहान बजार केही अंकले बढेको थियो।
नासामा भेटिएका एक लगानीकर्ता प्रश्न गर्दै थिए, ‘तपाइँले सिक्लेस हाइड्रो किन्नुभएको थियो, बेच्नुभयो ?’
जबाफमा सँगै बसेका अर्का लगानीकर्ताले भने, ‘अलिकति बेचेँ, अलिकति बाँकी नै छ। बजार बढे त माथि नै जान्छ भन्छन्।’
ती लगानीकर्ता ‘अब के किन्ने ?’ भनेर सोधीखोजी गर्दै थिए।
त्यही ब्रोकर हाउसमा एक स्मार्ट लगानीकर्ता आज नबिल बैंकको सेयर नकिन्न सल्लाह दिँदै थिए। ‘आज नबिल नकिन्नु है, घट्लाजस्तो छ’, उनले भने।
उनीसँगै बसेकी एक महिला लगानीकर्ताले भने एनएलजी इन्स्योरेन्स खरिद गर्न उपयुक्त हुने बताउँदै थिइन्। ‘ननलाइफमा एनएलजी ठीक छ’, उनले भनिन्।
उनीहरुसँगै बसेका अर्का पुरुष लगानीकर्ता भने, ‘ननलाइफमा त शिखर इन्स्योरेन्स पनि ठिक छ। त्यही पुँजी थोरै वा धेरै भन्ने त हो नि।’
केही समयको बसाइपछि हामी कमलादीस्थित कोहिनुर सेक्युरिटिज (स्टक ब्रोकर नं. ३५) पुग्यौँ। त्यहाँ लगानीकर्ताको उपस्थिति ठीकै थियो। मध्याह्नको १२ बजिसकेको थियो। बजार १० अंकले बढेको थियो।
त्यहाँ भेटिएका एक लगानीकर्ताले ठट्यौली पारामा भने, ‘कस्तो अचम्म भयो, हिमाल दोलखा भनेर किनेको त झुक्किएर एचआईडीसीएल पो किनिएछ। हिमाल दोलखा बढेको बढ्यै छ।’
हामीले केहीबेर कोहिनुर सेक्युरिटिजका सञ्चालकसँग पनि कुराकानी गर्यौँ। सञ्चालकले सोधे, ‘देशमा यत्रो चुनाव हुँदा पनि किन बजारले गति लिन सकेन ?’
उनीसँगै बसेका एक लगानीकर्ताले जबाफ फर्काए, ‘अब सरकार बनेपछि बजारले गति लिन्छ।’
सँगै रहेका अर्का लगानीकर्ताले हाँस्दै भने, ‘अब बहाना त्यही नै बाँकी छ। सरकार त गठबन्धनबाटै हुन्छ। गठबन्धनभन्दा बाहिरबाट हुने भन्ने समाचार बार्गेनिङमात्रै हो।’
केही समयको बसाइपछि हामी पुतलीसडकस्थित श्वेता सेक्युरिटिज (स्टक ब्रोकर नं. २५)मा पुग्यौँ। श्वेतामा लगानीकर्ताको उपस्थिति राम्रै थियो। त्यत्तिकैमा एक लगानीकर्ताको मोबाइलमा घन्टी बज्यो। उताबाट ‘प्रचण्डको सरकार बन्यो भने त बजार बढ्दैन’ भन्ने कुरा आयो।
उनीसँगै बसेका र आफूलाई अर्थशास्त्रको विद्यार्थी बताउने एक लगानीकर्ता भने, ‘सरकार यसको वा उसको बनेमा बजार घट्छ वा बढ्छ भन्नु बेकार हो। बजार ब्याजदरले नै तल–माथि हुन्छ। अब ब्याजदर घट्दै गए बजार बढ्दै जान्छ। सरकार जसको बने पनि फरक पर्दैन।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago