– अर्जुन तिमिल्सिना

काठमाण्डौ । अघिल्लो साता बढेको सेयर बजार यो साताको पहिलो कारोबार दिन आइतबार पनि दोहोरो अंकले उकालो लागेको छ। बजार बढेसँगै ब्रोकर हाउसहरु लगानीकर्ताले भरिभराउ हुन थालेका छन्। 

सधैँझैँ साताको पहिलो दिन हामीले विभिन्न ब्रोकर हाउसहरुमा पुगेर लगानीकर्ताको विचार सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौँ। यसै सिलसिलामा आज हामी सबैभन्दा पहिले काठमाण्डौको नक्सालस्थित नासा सक्युरिटिज (स्टक ब्रोकर नं. ५८)मा पुग्यौँ। बजार बिहान खुलेदेखि नै एकोहोरो बढिरहेको थियो। 

नासामा भेटिएका एक लगानीकर्ता भन्दै थिए, ‘बजार राम्रै बढेको छ। पहिला किनेको सबै घाटा छ। एभरेजिङ गर्नुपर्लाजस्तो छ।’

उनीसँगै बसेका अर्का एक लगानीकर्ताले भने, ‘मैले त अघिल्लो साता किनेको सिक्लेस जलविद्युत कम्पनी राम्रै बढेको छ। नाफ बुक गर्ने हो।’ 

केही समयको बसाइपछि हामी कमलादीस्थित प्रज्ञान सेक्युरिटिज (स्टक ब्रोकर नं. १०)मा पुग्यौँ। त्यहाँ लगानीकर्ताको उपस्थिति राम्रै थियो । लगानीकर्ताहरु बजार बढेकोमा दंग देखिन्थे। 

प्रज्ञानमा एक लगानीकर्ता भन्दै थिए, ‘मेरो त शिवमले १० लाखजति खायो। धन्न हिमालयन डिस्टिलरीले उकास्यो। एचडीएलमा २ दिनमा ४ लाख कमाइयो।’

उनीसँगै बसेका अर्का लगानीकर्ताले भन्दै थिए, ‘बजार आज पनि हल्का करेक्सन आयो, भोलि पनि ५० अंकजति करेक्सन आउन सक्छ। त्यो भयो भनेमात्रै बजार दिगो हुन्छ।’

त्यहीँ भेटिएका एक लगानीकर्ताले भने, ‘साउनसम्म ३००० पुग्यो भने बल्ल बजार बुल आएको भन्न सकिन्छ।’

दिउँसोको १ बजिसकेको थियो । बजार झन्डै २०८० मा पुगेर केही अंक करेक्सन हुँदै थियो। 

त्यहाँबाट हामी कमलादीमै रहेको श्रीहरि सेक्युरिटिज (स्टक ब्रोकर नं. ५६) पुग्यौँ। त्यहाँ पनि लगानीकर्ताको उपस्थिति राम्रै थियो। केही लगानीकर्ता ब्रोकर हाउसको बरन्डामा घाम तापेर मोबाइलमा बजार हेर्दै थिए भने केही डिस्प्लेमा बजार हेरेर बसिरहेका थिए। बजार भने  केही करेक्सन भएको थियो। 

श्रीहरिका सञ्चालकले आफ्ना ग्राहकलाई भने, ‘नाफा बुक गर्नुहोस् है। ४–५ वटा म्युचुल फन्डले नाफा बुक गर्दैछन्।’

श्रीहरिमै भेटिएका एक लगानीकर्ताले भने, ‘नाफा बुक हुँदै गएको बजार मजबुत हुन्छ। छुटेकालाई पस्ने अवसर पनि हो।’

हामी त्यहाँबाट अनामनगरस्थित प्रिमियर सेक्युरिटिज (स्टक ब्रोकर नं. ३२)मा पुग्यौँ। त्यहाँ लगानीकर्ताको उपस्थिति बाक्लै थियो। त्यहाँ भेटिएका एक लगानीकर्ताले भने, ‘अब बजार बढ्छ । राष्ट्र बैक र अर्थमन्त्रीको विचार मिलेको छ।’

उनीसँगै बसेका अर्का लगानीकर्ताले भने, ‘त्यही भएर त राष्ट्र बैंकले लामो समय ४५ दिनका लागि ५० अर्ब रुपैयाँ बजारमा पठायो।’
त्यहीँ भेटिएका एक लगानीकर्ताले भने, ‘अब त माइक्रोफाइनान्स बढ्छन् होला। मैले त वोमी लुघवित्त किनेको छु।’

प्रिमियममै बसेका एक लगानीकर्ता भन्दै थिए, ‘मैले त नाडेप किनेको छु, हेरौँ के हुन्छ ?’

सोही ब्राकरमा भेटिएका एक लगानीकर्ताले भने, ‘बजार राम्रै बढ्छ तर केही समय कुर्नुपर्छ।’