– प्रकाश न्यौपाने
काठमाण्डौ । नेपालको सेयर बजारमा पछिल्लो समय बढोत्तरी देखिएको छ। छोटो समयमा ठूलो अंक घटेर १८०० को वरिपरि आएर केही महिना थोरै अंकको घटबढ हुँदै बजार १९०० को वरिपरि नै घुमिराखेको थियो। नयाँ सरकार गठनसँगै अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्न विगतमा दुईपटक अर्थमन्त्री भएर राम्रै चर्चा बटुलेका विष्णु पौडेल आएसँगै बजारले उकालो यात्रा तय गरिरहेको छ।
सधैँझैँ साताको पहिलो दिन आइतबार हामी विभिन्न ब्रोकर हाउस पुगेर लगानीकर्ताका विचार सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौँ।
आज बजार खुलेको पहिलो घन्टाभित्रै काठमाण्डौको कमलादीस्थित कोहिनुर सेक्युरिटिज (स्टक ब्रोकर नं. ३५)मा पुग्यौँ। त्यहाँ लगानीकर्ताहरु बजारलाई निकै चासोका साथ हेरिरहेका थिए। केही लगानीकर्ता कम मूल्यका हाइड्रोपावर कम्पनीका बारेमा चर्चा गरिरहेका देखिन्थे भने केही लगानीकर्ता बढ्दो बजारमा बोनस दिने कम्पनीको खोजी गर्दै गरेको देखिन्थे।
‘पहिले पो नयाँ भएर फसियो, अब त धैरै सिकियो, राम्रै ध्यान दिएर कारोबार गरिन्छ’, कोहिनुरमै भेटिएका ३२०० को बुलमा छिरेर फसेका एक लगानीकर्ताले भन्दै थिए, ‘बोनस पचाउन सक्ने कम्पनी अघिल्लो हप्ता मेरो माइक्रोफाइनान्स र नेको इन्सुरेन्स खरिद गरेर राम्रै गरेँ।’
त्यहाँबाट हामी नक्सालस्थित नासा सेक्युरिटिज (स्टक ब्रोकर नं. ५८)पुग्यौँ। त्यहाँ लगानीकर्ताको उपस्थिति राम्रै थियो। लगानीकर्ताहरुबीच निर्जीवन कम्पनीको हकप्रदका बारे बहस नै चलिरहेको थियो। केही लगानीकर्ता भने प्राविधिक विश्लेषणमा बजारको करेक्सन २१५० देखि २२०० को बीचमा आउने देखिएकोले चनाखो भएर कारोबार गर्नुपर्ने भन्दै थिए। ‘अब खरिदका लागि पर्खनु नै उत्तम हुनेछ’, एक लगानीकर्ता भन्दै थिए।
नासामा केही समयको बसाइपछि हामी अनामनगरस्थित भिजन सेक्युरिटिज (स्टक ब्रोकर नं. ३४) पुग्यौँ। त्यहाँ पनि लगानीकर्ताको बाक्लै उपस्थिति देखिन्थ्यो।
भिजनमा भेटिएका एक लगानीकर्ताले भने, ‘बजार बल्ल बढ्न सुरु गरेको छ। अब आत्तिने र मात्तिने होइन, निकै सुझबुझका साथ लगानी गर्दै नाफा पनि बुक गर्दै जाने हो।’
त्यहीँ भेटिएका अर्का लगानीकर्ता अब बजार करेक्सन हुँदै माथि नै जाने बताउँदै थिए। ‘३२०० को बुलमा बजार ११०० बाट करिब ३ गुना बढेकोले यसपटक त्यो बेलामा भन्दा हकप्रद, बोनस, आईपीओका कारण सेयरको संख्या बढेको छ’, ती लगानीकर्ताले भने, ‘लगानीकर्ताको संख्या पनि बढेको छ। विशेषगरी विदेशमा रहेका नेपालीको ठूलो लगानी हुने हुनाले बजार बढ्दै–घट्दै निकै माथि जानेछ।’
त्यहाँ केही समयको बसाइपछि न्युप्लाजास्थित एसियन सेक्युरिटिज (स्टक ब्रोकर नं. २६)मा पुग्यौँ। त्यहाँ पुग्दा बजार दिनभरि तल–माथि गरेर करिब ४० मिनेटको कारोबार बाँकी हुँदा ४४ अंक बढेको थियो। ‘बिहान बजार रातो भएको बेलामा डराएर ङादी ग्रुप पावरको सेयर बिक्री गरेँ’, पछुतो मान्दै एक लगानीकर्ताले भने, ‘अहिले बजार ठूलो अंकले बढ्दा उक्त कम्पनीको सेयरभाउ पनि करिब १० प्रतिशत बढ्यो। मलाई त रुनु न हाँस्नु भयो।’
‘बढ्दो बजारमा बेच्न हतारिनु हुँदैन’, उनीसँगै बसेका अर्का लगानीकर्ताले सम्झाउँदै भने, ‘बरु राम्रा कम्पनीमा लगानी बढाउँदा बजार अलिअलि तल आएर तर्साउन खोज्छ तर नडराई घटेको बेला आफ्नो स्वपुँजीले खरिद गर्दै जानुपर्छ।’
आज कारोबार रकम बढेकोमा खुसी हुँदै त्यहीँ भेटिएका एक लगानीकर्ताले भने, ‘अब नेप्सेले नयाँ रेकर्ड बनाउँछ।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago