– अर्जुन तिमिल्सिना
काठमाण्डौ । सधैँझैँ साताको पहिलो दिन आइतबार हामी विभिन्न ब्रोकर हाउसमा पुगेर लगानीकर्ताका विचार सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौँ।
यसै सिलसिलामा आज हामीले त्रिपुरेश्वर र सुन्धाराका ब्रोकर हाउसहरुपुग्यौँ। आज बजार बिहानदेखि नै एकनासले घटेको थियो। ब्रोकर हाउसहरुमा लगानीकर्ताको उपस्थिती सामान्य नै थियो।
सबैभन्दा पहिले हामी त्रिपुरेश्वरस्थित इन्भेस्टमेन्ट एन्ड म्यानेजमेन्ट अफ नेपाल सेक्युरिटिज (स्टक ब्रोकर नं. ५३)मा पुग्यौँ। त्यहाँ डिस्प्ले खोलिएको थियो भने लगानीकर्ताको उपस्थिति खासै थिएन।
त्यत्तिकैमा २ जना लगानीकर्ता ब्रोकर हाउसमा छिरे। उनीहरुमध्ये एक लगानीकर्ता भने, ‘होइन यो सेयर बजार हामीले किनेपछि घटिहाल्ने के रहेछ ?’
उनीसँगै आएका अर्का लगानीकर्ताले भने, ‘यो बजार पनि त्यही पान खाएजस्तै रहेछ। नखाउन्जेल हरियो, खाएपछि भने रात्तै।’
त्यत्तिकैमा तिनै लगानीकर्ताको मोबाइलमा फोन आयो। एकछिन कुरा गरेपछि सिटिजन्स बैंकले फोन गरेको भन्दै ती लगानीकर्ताले थपे, ‘यो बैंकलाई पनि माछाले खाँदैछ रे, बैंक जति खाएरै सकिने भए।’
हामीले उक्त ब्रोकर हाउसका सञ्चालकसँग केहीबेर कुराकानी पनि गर्यौँ। राजनीतिलाई जोड्दै ती सञ्चालकले भने, ‘अहिलेको सरकार साढे २ वर्षका लागि नै रहेकोले एकजना मन्त्रीको पद जाँदैमा सरकारलाई केही फरक पर्दैन।’
बैंकिङ सेक्टरको रिपोर्ट खासै राम्र्रो नआएको ती सञ्चालकले बताए। ‘निष्क्रिय कर्जा प्रायः सबै बढेको छ’, उनले भने, ‘तर, अन्तरबैंकिङ ब्याजदर घटेकोले बेस रेट पनि घट्दै जानेछ। बेस रेट घट्ने भनेको वैशाखमा आउने रिपोर्टले थाहा हुन्छ।’
अब अर्को महिना ब्याज घट्दै जाँदा बेस रेट पनि घट्ने ती सञ्चालकले बताए। आजको करेक्सनलाई जोड्दै उनले भने, ‘किन्ने मानिसले करेक्सन कुर्दा बजार बढ्न नसकेको हो।’
त्यतिबेलासम्म मध्याह्नको १२ बजिसेकेको थियो। बजारमा सामान्य गिरावट आइरहेको थियो। त्यहाँबाट हामी त्रिपुरेश्वरकै सेवा सेक्युरिटिज (स्टक ब्रोकर नं. ५४)मा पुग्यौँ। त्यहाँ लगानीकर्ताको उपस्थिति खासै थिएन। डिस्प्ले पनि बन्द थियो।
सेवा सेक्युरिटिजका कर्मचारीले लगानीकर्ता खासै नआउने भएका कारण डिस्प्ले बन्द गरिएको बताए।
केही समयको बसाइपछि हामी त्यहाँबाट सुन्धारास्थित सुन्धारा सेक्युरिटिज (स्टक ब्रोकर नं. ५२)मा पुग्यौँ। दिउँसोको १ बज्दै थियो। बजार सामान्य अंकले तलमाथि गर्दै थियो। त्यहाँ भने डिस्प्ले खोलिएको थियो तर लगानीकर्ताको उपस्थिति भने खासै थिएन।
सुन्धारा सेक्युरिटिजमा भेटिएका एक लगानीकर्ताले भने, ‘राजनीतिक कारणले बजार घटेको हो र केही दिनमै बजार सम्हालिन्छ।’
त्यहाँबाट हामी कमलादीस्थित कोहिनुर सेक्युरिटिज (स्टक ब्रोकर नं. ३५) मा पुग्यौँ। त्यहाँ पनि लगानीकर्ता राजनीति चर्चा नै गर्दै थिए।
कोहिनुरमा भेटिएका एक लगानीकर्ताले भने, ‘रवि लामिछानेले नागरिकता पाइसके, अब फेरि गृहमन्त्री पनि उनी नै हुन सक्छन्।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago