– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । सधैँझैँ साताको पहिलो दिन आइतबार हामी विभिन्न ब्रोकर हाउस पुगेर लगानीकर्ता तथा ब्रोकर सञ्चालकको विचार सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौँ। 

आज बजार बिहानैदेखि घटेको थियो। आज हामी सबैभन्दा पहिले काठमाण्डौ। कालिकास्थानस्थित नेपाल स्टक हाउस (ब्रोकर नं. १४) पुग्यौँ। बजारमा ठूलो अंकले घटेकोप्रति इंगित गर्दै एक लगाानीकर्ताले भने, ‘बजारले आज तर्स्यायो।’

सोही ब्रोकर हाउसमा भेटिएका केही लगानीकर्ताले मौद्रिक नीतिको समीक्षा सोचेजस्तो नआएकोले लगानीकर्ता निराश भएको बताबए। केहीले भने यो अल्पकालीन गिरावट भएको र बजार कुनै पनि विन्दुबाट फर्किन सक्ने आँकलन गरेका थिए। 

त्यहाँबाट हामी डिल्लीबजारस्थित श्रीकृष्ण सेक्युरिटिज (स्टक ब्रोकर नं. २८) पुग्यौँ। त्यसबेलासम्म मध्याह्नको १२ बजिसकेको थियो भने बजार ५० अंकले घटेको थियो। यो ब्रोकरमा भने लगानीकर्ताको उपस्थिति राम्रै थियो। घटेको बजार देखाउँदै एक लगानीकर्ताले भने, ‘यही घटेको मौका छोपेर अब केही लगानीकर्ताले सेयर उठाउँछन्।’

श्रीकृष्णमै भेटिएका अर्का एक लगानीकर्ता भन्दै थिए, ‘अपी हाइड्रोमा २  लाखजति घाटा भयो, अब बेच्नु पर्यो।’

उनीसँगै बसेका एक लगानीकर्ताले भने, ‘किन्ने यस्तैमा हो तर अहिले गोजीमा पैसा छैन।’

सोही ब्रोकरमा केही लगानीकर्ताले ठट्यौली पारामा भन्दै थिए, ‘आज घटेको समयमा एसटीसी (नुन) र  एचडीएल (रक्सी) खानु पर्छ।’

अर्का एक  लगानीकर्ताले भने, ‘घटेको बेला मैले त माछापुच्छ्रे बैंक र गुहेश्वरी फाइनान्स उठाएँ।’

एउटा इन्स्योरेन्स कम्पनीको  सञ्चालक बताउने एक लगानीकर्ताले  गीत गाउँदै भने, ‘बजार घट्यो भनेर केही छैन  चिन्ता घटेको बेला नै उठाउने हो लाखौँ कित्ता।’

एकछिन ब्रोकर हाउसमा हाँसोको फोहोर छुट्यो। 

केही लगानीकर्ताले राजनीतिक चर्चा गर्दै भन्दै थिए, ‘सरकार तत्काल तल–माथि हुँदैन।’

केही समयको बसाइपछि हामी  खिचापोखरीमा रहेको शिल्पा सेक्युरिटिज (स्टक ब्रोकर नंं. २० पुग्यौँ। त्यहाँ लगानीकर्ताको उपस्थिति शून्यप्रायः थियो भने डिस्प्ले पनि बन्द थियो। हामीले केही समय ब्रोकर सञ्चालकसँग छलफल गर्यौँ। 

त्यस ब्रोकर हाउसका  सञ्चालकले अहिले पैसाको ब्याज धेरै नघटेका कारण नै बजार माथि जान नसकेको बताए। ‘बजारमा पैसा नै आउन सकेको छैन। बैंकको ब्याज खासै घटेको छैन’, ती सञ्चालकले भने, ‘अब ब्याज घटेपछि बजार माथि जान सक्छ।’

दिउँसोको १ बजिसकेको थियो। बजार निरन्तर घटेको थियो।

त्यहाँबाट हामी सुमेरु सेक्युरिटिज (स्टक ब्रोकर नं. ३९) मा पुग्यौँ। त्यहाँ लगानीकर्ताको उपस्थिति राम्रै थियो। 

त्यहाँ भेटिएका एक लगानीकर्ता भन्दै थिए, ‘एचआईडीसीएलको रिपोर्ट त राम्रै आएछ। अब घटेको बेलामा किन्नुपर्छ।’

तिनै लगानीकर्ताले सोधे, ‘यो बाराही हाइड्रो बजार घटेको बेलामा पनि बढेको छ। के रहेछ ?’

उनीसँगै बसेका अर्का एक लगानीकर्ताले भने, ‘त्यही हकप्रद नै होला।’