– प्रकाश न्यौपाने

काठमाण्डौ । सधैँझैँ साताको पहिलो कारोबार दिन आइतबार हामी काठमाण्डौका विभिन्न ब्रोकर हाउस पुगेर लगानीकर्ताका विचार बुझ्ने र सुन्ने कार्यलाई निरन्तरता दिएका छौँ।

आज हामी सुरुमा काठमाण्डौको नक्सालस्थित नासा सेक्युरिटिज (स्टक ब्रोकर नं. ५८) पुग्यौँ । त्यहाँ लगानीकर्ताको सामान्य उपस्थिति थियो। कारोबार खुलेको १० मिनेट पनि नहुँदै बजार ५० अंकले ओरालो लागेको थियो। बजारको घटाइले लगानीकर्ताको अनुहार मलिन थियो। 

नासामा भेटिएका एक लगानीकताले राम्रो बोनस दिने कम्पनी भनेर नेस्डो लघुवित्त ३२०० रुपैयाँमा खरिद गरेकोमा आज २५०० रुपैयाँको लाइनमा आउँदा धेरै घाटा भएको बताए। ‘खोइ यसले पनि उभो लगाउला जस्तो छैन’, ती लगानीकर्ताले भने।

केहीबेरको बसाइपछि हामी कमलादीस्थित मल्ल एन्ड मल्ल सेक्युरिटिज (स्टक ब्रोकर नं. ११) पुग्यौँ। त्यहाँ भने लगानीकर्ताको राम्रै उपस्थिति थियो। एक लगानीकर्ताले निर्जीवन बीमा कम्पनीको हकप्रद आउने हुनाले घटेका बेला उठाउँदा पछि राम्रो नाफा कमाउन सकिने बताए। 

उनीसँगै रहेका अर्का लगानीकर्ताले अप्पर तामाकोशीको सेयर लगभग ५०० रुपैयाँ पुगेर फेरि ४५० रुपैयाँको वरिपरि आएको बताए। ‘यतिबेला उठायो भने हकप्रद पनि आउँदैछ, राम्रो नाफा कमाउन सकिन्छ’, ती लगानीकर्ताले भने। 

त्यहाँबाट हामी कमलादीमै रहेको प्रज्ञान सेक्युरिटिज (स्टक ब्रोकर नं. १०) मा पुग्यौँ। त्यहाँ पनि लगानीकर्ताको जमघट रामै्र थियो। दिउँसोको १ बजिसकेको थियो। बजार ६० अंकभन्दा बढी घटेर फेरि करेक्सन हुँदै ४७ अंकमा झरेको थियो। एक लगानीकर्ताले लघुवित्त सेक्टर घट्दा बलियो र राम्रो साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्त किनेको बताए। ‘आज केही लघुवित्त संस्थाको सेयरभाउ सकारात्मक हुँदै गएको छ, राम्रै नाफा होलाजस्तो छ’, उनले भने।

त्यहीँ अर्का लगानीकर्ताले भने, ‘बिहीबार सिभिल लघुवित्त किन्नेले मंगलबारसम्म बोनस पचाउने भए। जोखिम मोल्नेले नै कमाउने त हो नि।’

दिउँसोको करिब २ बजेको थियो। हामी अनामनगरमा रहेको भिजन सेक्युरेटिज (स्टक ब्रोकर नं. ३४) मा पुग्यौँ। त्यहाँ लगानीकर्ताहरुमाझ राष्ट्रपतिको निर्वाचनका बारेमा निकै चर्चा चलिरहेको थियो। केही लगानीकर्ताले फागुन २५ गते बिहानसम्म फेरि कम्युनिस्टहरु एक भएर एमालेको उम्मेदवारलाई जिताउन सक्ने तर्क गर्दै थिए। केही लगानीकर्ताले भने अब त्यस्तो सम्भावना नरहेको दाबी गर्दै कांग्रेसकै उम्मेदवारले राष्ट्रपतिमा जित्ने बताए। 

त्यहाँ लगानीकर्ताबीच कुन–कुन दलको भोट कति छ भनेर जोडघटाउ नै सुरु भयो। 

अर्का एक लगानीकर्ताले भने, ‘अब जो आए पनि बजार तल जाँदैन, यो अन्तिम घटाइ हो। बजारमा राजनीतिको प्रभाव लगभग टुंगियो। अब राजनीतिभन्दा पनि अर्थतन्त्रले बजारलाई हिँडाउने हो। अर्थतन्त्र सुधार हुँदैछ। बजारले पनि अब गति लिन्छ। त्यसैले सास्ता र बलिया कम्पनीमा लगानी गरे भविष्यमा राम्रै नाफा कमाउन सकिन्छ।’