– प्रकाश न्यौपाने

काठमाण्डौ । सधैँझैँ साताको पहिलो दिन आइतबार हामी काठमाण्डौमा रहेका विभिन्न ब्रोकर हाउस पुगेर लगानीकर्ताका कुरा सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौँ। 

आज बजार खुलेको केहीबेरसम्म सामान्य अंकले बढेको बजार त्यसपछि भने लगातार नकारात्मक दबाबमा रही २६.८० अंक घटेर बन्द भएको छ। 

आज हामी सबैभन्दा पहिले पुतलीसडकस्थित अनलाइन सेक्युरिटिज (स्टक ब्रोकर नं ३७) पुगेका थियौँ। त्यहाँ लगानीकर्ताको उपस्थिति सामान्य थियो। लगानीकर्ता अब बजारलाई नकारात्मक असर गर्ने कुराहरु सकिएको र अब राम्रा कुराहरु मात्रै आउने भएकाले केही घटेमा पनि खरिद बढाउनुपर्ने बताउँदै थिए। 

त्यहाँबाट हामी कमलादीमा रहेको मल्ल एन्ड मल्ल स्टक ब्रोकिङ कम्पनी (स्टक ब्रोकर नं. ११)मा पुग्यौँ। मध्याह्नको करिब १२ बजेको थियो। बजार पनि १२.१३ अंकले घटिसकेको थियो। लगानीकर्ताहरु आपसमा आज त बजार बढ्नैपर्ने भन्दै थिए। ‘अब त बैंकको ब्याज पनि घट्न सुरु भयो’, एक लगानीकर्ताले भने, ‘राष्ट्रपतिको निर्वाचन पनि सकियो। अब सरकारको मन्त्रिमण्डलले पनि पूर्णता पाउला र अर्थमन्त्रीको पहिलो वक्तव्य आएपछि मात्र बजारको बाटो तय हुने देखिन्छ।’

मल्ल एन्ड मल्लबाट हामी नक्सालस्थित थ्राइभ ब्रोकरेज हाउस (स्टक ब्रोकर नं. १३)मा पुग्यौँ। त्यहाँ पनि लगानीकर्ताको सामान्य उपस्थिति थियो। बजार घटेको देखेर लगानीकर्ताहरु अलमलमा पर्दै थिए। ‘बिहीबार ५० अंकले बढेको बजार आज एकाएक किन घट्यो’, प्रश्न गर्दै एक लगानीकर्ताले भने, ‘ लगानीकर्ताको सम्पत्तिमा ठूलो क्षति भयो। अब त प्रधानमन्त्रीले बजारका बारेमा सम्बोधन गर्नुपर्छ।’

दिउँसोको १ बजिसकेको थियो। हामी त्यहाँबाट अनामनगरमा रहेको भिजन सेक्युरिटिजमा पुग्दा लगानीकर्ताहरु बिहीबार बजार बढ्नु र आज घट्नुका कारणबारे छलफल गर्दै थिए। एक लगानीकर्ताले भने, ‘अमेरिकाको एउटा ठूलो बैंक डुब्दा नेपालमा लगानीकर्ता डराएर सेयर बिक्री गरे।’

त्यहीँ अर्का लगानीकर्ताले भने, ‘अब ठूल्ठूला बैंकहरुको बोनस सेयर र कम्पनीहरुका हकप्रद सेयर लगानीकर्ताको खातामा आउने क्रम जारी छ। यस्ता सेयर लगानीकर्ताले ब्याज तिर्न र घर खर्च चलाउन बिक्री गर्छन्। त्यसैले बजारमा दबाब सिर्जना भएको हो।’

त्यहाँबाट हामी पुतलीसडकस्थित श्वेता सेक्युरिटिज (स्टक ब्रोकर नं. २५)मा पुग्यौँ। बजार राताम्मे भएको थियो। लगानीकर्ता अन्तिम समयसम्म बजार फर्किने आशमा कुराकानी गर्दै थिए। छेउमै बसेका एक लगानीकर्ता भने, ‘अब घटेको बेला बीबीसी ( विशाल बजार कम्पनी)को सेयर किन्ने हो। विगतमा एसटीसी सेयरभाउमा आएको जस्तै उछाल आउँछ। दरो कमाई हुन्छ।’

कम्पनीको बुक भ्यालु, ईपीएस, पीई रेसियो देखाउँदै ती लगानीकर्ताले फेरि भने, ‘यस्ता कम्पनीमा लगानी गर्दा आउने बुलमा राम्रै नाफा कमाउन सकिन्छ।’ 

उनीसँगै बसेका अर्का लगानीकर्ताले धेरै रिक्स लिनुभन्दा सेयरभाउ २०० रुपैयाँको आसपास रहेका वाणिज्य बैंकमा लगानी गरे नाफा पनि हुने र लगानी पनि सुरक्षित हुने सुझाव दिए।