– अर्जुन तिमिल्सिना
काठमाण्डौ । नेपालको पुँजीबजार विकास र विस्तारका लागि आवाज उठाउन लगानीकर्ताका थुप्रै संघसंगठन खोलिएका छन्। सबैजस्तो संघसंगठनले लगानीकर्ताको हकहितका लागि खोलिएको दाबी गर्छन्।
खासगरी लगानीकर्ताको पुरानो र ठूला संगठन भनेर नेपाल इन्भेस्टर्स फोरम अलि बढी बजारमा चिनिन्छ। यो संगठनमा हाल तुलसीराम ढकाल अध्यक्ष छन्।
लगानीकर्ताको अर्को संगठन नेपाल पुँजीबजार लगानीकर्ता संघ रहेको छ। यो संगठनमा राधा पोखरेल अध्यक्ष रहेकी छिन्।
त्यसैगरी सेयर लगानीकर्ता नेपाल पनि पुँजीबजारको पुरानै संगठन हो। यसको कार्यवाहक अध्यक्षमा तारा फुल्लेल छन्।
यिनै तीनै संगठनहरुले बुधबार संयुक्त रुपमा काठमाण्डौको एउटा तारेहोटेलमा लगानीकर्ताको हकहित संरक्षणका लागि भन्दै अन्तर्क्रिया कार्यक्रम राखेका थिए। कार्यक्रम दिउँसो ३ बजे राखिएको थियो। लगानीकर्ता तथा सञ्चारकर्मी आउने क्रम जारी थियो।
कार्यक्रमको प्रमुख अतिथिमा नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष थिए। उनी समयमै कार्यक्रमस्थल आइपुगेका थिए। तर, कार्यक्रम सुरु हुने छाँटकाँट नदेखेपछि उनी ‘म छिटो आएछु’ भन्दै कार्यक्रमस्थलबाट बाहिरिए।
कार्यक्रम साढे ३ बजेबाट सुरु भयो। अध्यक्ष हमालले पनि त्यतिबेलासम्म कार्यक्रमस्थल फर्किसकेका थिए। आयोजकले सभा हलबाहिर रहेका सबैलाई भित्र बोलाएर ढोका बन्द गर्न आग्रह गरे।
कार्यक्रमको सुरुआत गर्दै नेपाल इन्भेस्टर्स फोरमका उपाध्यक्ष राजन लम्सालले भने, ‘अध्यक्ष तुलसीराम ढकाल विदेशमा हुनुहुन्छ, त्यसैले उहाँ उपस्थित हुन सक्नुभएन।’
नेपाल पु्ँजीबजार संघकी अध्यक्ष राधा पोखरेललगायत अन्य संघका पधाधिकारी आउँदै गरेको लम्सालले सभा हलमा उपस्थित सबैलाई जानकारी गराए।
सबैभन्दा पहिले प्रमुख अतिथिका रुपमा सेबोन अध्यक्ष हमाललाई स्टेजमा बोलाइयो। त्यसपछि क्रमिक रुपमा उपस्थित अन्य अतिथिहरुलाई स्टेजमा डाकिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल इन्भेस्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियारले सम्भव भएसम्म लगानीकर्ताका माग तुरुन्त सम्बोधन गर्न अध्यक्ष हमालसमक्ष अनुरोध गरे। त्यतिबेलासम्म न त राधा पोखरेल न फोरमकी महासचिव दुर्गा तिवारी कार्यक्रमस्थल आइपुगे।
अझ अनौठो त त्यो कार्यक्रममा नेपाल स्टक एक्सचेन्ज (नेप्से)का सीईओको पनि उपस्थिति थिएन भने ५० वटा ब्रोकरहरुको छाता संगठन स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका कोही पनि पदाधिकारी आएका थिएनन्।
उता प्रायः ब्रोकरको शाखा उद्घाटन गर्नसम्म पुग्ने सीडीएससीका प्रमुख पूर्णप्रसाद आचार्यलाई कार्यक्रममा बोलाइएको थिएन। बजार घटेका कारण कुनै राहतको खबर पाइन्छ कि भनेर अन्य लगानीकर्ताको उपस्थिति भने बाक्लै थियो।
नाम उल्लेख नगर्ने सर्तमा नेपाल इन्भेस्टर्स फोरमकै एक पदाधिकारीले भने, ‘मैले यो कार्यक्रम हुँदैछ भनेर पत्रकारबाट मात्र थाहा पाएँ।’
फोरमका उपाध्यक्ष लम्सालले बिजशालासँग कुरा गर्दै भने, ‘अध्यक्ष हाल कम्बोडिया भ्रमणमा जानु भएकोले कार्यक्रममा उपस्थित हुन सक्नुभएन।’
नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल राजधानीबाहिर रहेकोले अनुपस्थित रहेको लम्सालले प्रस्ट पारे। ‘सेयर लगानीकर्ता संघका तर्फबाट कार्यवाहक अध्यक्ष तारा फुल्लेल उपस्थित हुनुहुन्थ्यो’, उनले भने।
कार्यक्रममा उपस्थित लगानीकर्ताहरुले भने अन्तर्क्रिया कार्यक्रम राम्रो भए पनि सबै संगठनका अध्यक्ष तथा अन्य नियामक निकायका नेतृत्वहरु उपस्थित नहुँदा केही खल्लो भएको प्रतिक्रिया दिए। ‘यो कार्यक्रम सेबोन र इन्भेस्टर्स फोरमले मात्रै गरेजस्तो देखियो’, एक लगानीकर्ता शंका व्यक्त गरे।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19