– प्रकाश न्यौपाने

काठमाण्डौ । सधैँझैँ साताको पहिलो दिन आइतबार राजधानीका विभिन्न ब्रोकर हाउस पुगेर लगानीकर्ताका विचार सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौँ। 

अधिकांश ब्रोकर हाउसमा भेटिएका लगानीकर्ताले विगतमा आएका अर्थमन्त्रीले आश्वसन र भाषण् मात्र गरेर गएका हुनाले यसपटकका अर्थमन्त्रीले पहिलेका अर्थमन्त्रीले झैँ भाषण गरेर नहुने नीतिगत परिवर्तन गर्नुपर्ने बताए। 

आज बजार खुलेको केही समयसम्म सकारात्मक रहेको थियो। अन्तिम समयमा भने बजार २० अंक घटेर बन्द भएको छ। 

आज हामी सबैभन्दा पहिले काठमाण्डौको ज्ञानेश्वरमा रहेको सनी सेक्युरिटिज (स्टक ब्रोकर नं. ४२)मा पुग्यौँ। त्यहाँ लगानीकर्ताको सामान्य उपस्थिति थियो। त्यहाँ एक लगानीकर्ताले आज बजार करिब ५० अंक बढ्नुपर्ने बताउँदै थिए। ‘नयाँ अर्थमन्त्रीले सपथ लिएलगत्तै गभर्रनसँग भेट गरी समग्र अर्थतन्त्र र सेयर बजारबारे पनि छलफल गरेका कारण बजारमा सकारात्मक प्रभाव पर्छ’, उनले भने। 

केहीबेरको बसाइपछि हामी त्यहाँबाट नक्सालस्थित थ्राइभ ब्रोकरेज हाउस(स्टक ब्रोकर नं १३)मा पुग्यौँ। थ्राइभको डिस्प्ले हल सुनसान थियो। यसले लगानीकर्ताको मनोबल बढ्न नसकेको संकेत गर्यो।

त्यहाँबाट हामी फर्किंदै गर्दा ब्रोकर हाउस दुईजना लगानीकर्ता छिर्दै थिए। उनीहरुले हामीलाई ‘आज बजार राम्रै बढेको होला है’ भन्दै प्रश्न गरे। हामीले उनीहरुलाई प्रश्न गर्यौँ, ‘के कारण छ, त्यस्तो बजार बढ्नुपर्ने ?’

उनीहरुको विचार पनि पहिलेका लगानीकर्ताको जस्तै थियो। ‘अर्थतन्त्र बुझेका व्यक्ति अर्थमन्त्री भएका छन्, उनले बजारका बारे चिन्ता र चासो व्यक्त गरिसकेका छन’, उनीहरुले भने, ‘यदि आज पनि बजार बढेन भने हाम्रो लगानी त खरानी हुने भयो।’

त्यहाँबाट हामी कमलादीस्थित कोहिनूर इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज (स्टक ब्रोकर नं. ३५)मा पुग्यौँ। हामी त्यहाँ पुग्दा दिउँसोको करिब १ बजेको थियो। डिस्प्ले हलमा लगानीकर्ताको सामान्य उपस्थिति थियो। बजार करिब ७ अंक घटेर कारोबार भइरहेको थियो। 

त्यहाँ आएका प्रायः सबै लगानीकर्ता बजार बढ्छ नै भन्नेमा आशावादी थिए। तर बजार बढ्नेभन्दा घट्नेतिर लाग्दै गर्दा एक लगानीकर्ताले निराश हुँदै भने, ‘नखाई नखाई फाटेको कपडा लगाएर बचाएको पैसा बजारमा लगानी गरेको थिएँ, अहिले तीन भागमा एक भागमात्र बाँकी छ। खोइ कसलाई गुहार माग्ने हो।’

कोहिनुरबाट हामी पुतलीसडकमा रहेको एसियन सेक्युरिटिज (स्टक ब्रोकर नं. २६)मा पुग्यौँ। त्यहाँ भने अलि बाक्लै लगानीकर्ता उपस्थित देखिन्थ्यो। बजार १६ अंकले घटिसकेको थियो। लगानीकर्ताहरु भन्दै थिए, ‘अब अर्थमन्त्रीमा राम्रै व्यक्ति आएका छन्। उनले तुरुन्तै ब्याजदर एकल अंकमा नल्याए र बजार सुधारका काम नगरे उनी ‘अर्थशास्त्री’ भन्दैमा बजारको घट्ने क्रम रोकिँदैन।’

अब पनि नीति व्यवस्थामा परिमार्जन गर्न ढिला गरेमा लगानीकर्ताको सम्पत्तिको ठूलो क्षति हुने उनीहरुको भनाइ थियो। ‘यतिबेला सेयर बजारलाई अर्थमन्त्रीको भाषण होइन नीतिगत सुधार चाहिएको छ’, उनीहरुले भने।

त्यहाँबाट अनामनगरस्थित आर्यतारा सेक्युरिटिज (ब्रोकर नं. ५७) मा पुग्यौँ। त्यहाँ भेटिएका लगानीकर्ताले पनि बजारले अर्थमन्त्रीको विद्यावारिधिलाई नपत्याएको बताए। एक लगानीकर्ताले भने, ‘अब अर्थमन्त्रीले नीतिगत परिवर्तन गर्नसके मात्र बजार सम्हालिनेछ।’