– प्रकाश न्यौपाने

काठमाण्डौ । सधैझैँ साताको पहिलो दिन आइतबार हामी राजधानीका विभिन्न ब्रोकर हाउस पुगेर लगानीकर्ताका कुरा सुन्ने र बुझ्ने प्रयास गरेका छौँ।

आज ब्रोकर हाउसमा भेटिएका लगानीकर्ताले बजारले १८०० को विन्दुलाई अन्तिम विन्दु बनाएको हँुदा पटक–पटक बजार त्यही विन्दुमा आएर फर्किने गरेकोले अब १–२ दिनमा चैत मसान्तको प्रभाव पनि सकिने र वैशाखपछि बैंकको ब्याजदर पनि घट्ने हुँदा केही दिनमै बजारले सकारात्मक बाटो समाउने बताए। 

आज हामी सबैभन्दा पहिले ओपल सेक्युरिटिज (ब्रोकर नं. ४) मा पुग्यौँ। त्यहाँ लगानीकर्ताको सामान्य उपस्थिति थियो। त्यहाँ भेटिएका एक लगानीकर्ताले बजार लामो समयदेखि लगातार घट्दा पनि न प्रधानमन्त्री न अर्थमन्त्री कसैले पनि बजारलाई सम्बोधन नगरेकोमा गुनासो गर्दै थिए। ‘त्यही भएर लगानीकर्ताको मलोबल झन कमजोर बन्द गएको हो’, ती लगानीकर्ताले भने, ‘बजारप्रति लगानीकर्ताको विश्वास बढाउन तत्काल उचित कदम चाल्न आवश्यक छ।’

ओपलमा केहीबेरको बसाइपछि हामी नक्सालस्थित थ्राइभ ब्रोकरेज हाउस (ब्रोकर नं. १३) मा पुग्यौँ। हामी त्यहाँ पुग्दा डिस्ले रुममा १–२ जनामात्र लगानीकर्ता भेटिए। तीमध्ये एक लगानीकर्ताले आज पनि बजार घट्ने आँकलन गर्दै थिए। ‘सरकार र राष्ट्र बैंकबीच ब्याजदर र सेयर बजारप्रति स्पस्ट धारणा नबन्दा लगानीकर्ताको मनोबल झन कमजोर हँुदै गएको छ’, उनले भने।

थ्राइभबाट हामी डिल्लीबजारमा रहेको कुमारी सेक्युरिटिज (ब्रोकर नं. १) मा पुग्यौँ। त्यहाँ बाहिरिँदै गरेका एक लगानीकर्ताले मलीन स्वरमा साथीले भन्दै थिए, ‘आज पनि १५ अंकले घटिसक्यो। अब त बजारले हामीलाई जोगी बनाएर सडकमै ल्याउने भयो। बजार लगातार घटेर लगानी नोक्सान भइरहँदा घरमा पनि दिनदिनै गाली खानुपर्ने अवस्था छ। अब कसरी यति ठूलो घाटा उठाउने हो।’

हामी भित्र डिस्प्ले रुमा पुग्दा हल सुनसान थियो।

त्यहाँबाट हामी न्युप्लाजास्थित क्रिस्टल कञ्चनजंघा सेक्युरिटिज (ब्रोकर नं. ५०) र अनामनगरस्थित भिजन सेक्युरिटिज (ब्रोकर नं. २६) मा पुगेका थियौँ। दुवै ब्रोकर हाउसमा लगानीकर्ता उपस्थिति थिएन। डिस्प्ले भने चलिरहेको थियो।

भिजनपछि हामी पुतलीसडकमा रहेको अनलाइन सेक्युरिटिज (ब्रोकर नं. ४९)मा पस्यौँ। बजार लगातार घटिरहेको थियो। दिउँसो करिब २ बजेतिर बजार २० अंकजतिले घटेको थियो। त्यहाँ भेटिएका लगानीकर्ता अलि तनावमा रहेका देखिन्थे। एक महिला लगानीकर्ताले भनिन्, ‘३२०० को विन्दुमा करिब ४ लाख रुपैयाँको पोर्टफोलियो अहिले घटेर १ लाख रुपैयाँभन्दा तल आयो, घर खर्च चलाउन मुस्किल भएपछि घाटामै सेयर बेच्नुपर्यो।’

त्यहीँ भेटिएका अर्का एक लगानीकर्ता हतार–हतार टीएमएसका लागि फारम भर्दै थिए। ‘सेयर बजार बढेको बेला अन्य क्षेत्रबाट पनि कमाइ भएकोले सेयर बेचिएन’, ती लगानीकर्ताले बिजशालासँग भने, ‘अहिले त सबैतिर मन्दी छ, छोराछोरीको स्कुल फी तिर्न र नयाँ भर्नाका लागि रकम नहुँदा घटेकै बेला सेयर बिक्री गर्ने अवस्था आयो। त्यसैले सेयर बेच्नका लागि टीएमएस लिन लागेको हुँ।’