– प्रकाश न्यौपाने

काठमाण्डौ । साताको हरेक आइतबार बजार खुलेको दिन काठमाण्डौमा रहेका ब्रोकर हाउस र वरपरका चिया पसलमा पुगेर लगानीकर्ताका कुरा सुन्ने र बुझ्ने कार्यलाई हामीले निरन्तरता दिएका छौँ। 

कारोबार सुरु हुँदा नहुँदै हामी आज नारायणहिटी दरबारको उत्तर गेटैअगाडि रहेको ओप्पल सेक्युरिटिज (ब्रोकर नं. ४)मा पुग्यौँ। हामी त्यहाँ पुग्दा डिस्प्ले हलमा कुनै लगानीकर्ता भेटिएनन्। ब्रोकर हाउसका कर्मचारीहरु काममा व्यस्त देखिन्थे। एक कर्मचारीले गएको बिहीबार सेयर बेचेका लगानीकर्तालाई फोन गर्दै भने, ‘तपाइँले सेयर बेच्नुभएको रहेछ। ईडीआईएस गर्नुभएको छैन। आज मध्याह्न १२ बजेभित्र गर्नुपर्ने हुन्छ।  तपाइँ तुरुन्त कार्यालयमा आउनुपर्यो।’

ती लगानीकर्ताले उताबाट जबाफ दिए, ‘अहिले नै त अलि गाह्रो होला नि !’ 

ती कर्मचारीले फेरि भने, ‘यदि अहिले आएर प्रक्रिया पूरा गर्न सक्नुभएन भने २० प्रतिशत जरिवाना लाग्छ। तपाइँ आफूले सेयर बेचेपछि समयमै ईडीआईएस गर्नुपर्ने हो। हामीले जरिवानाबाट जोगाउन तपाइँलाइ खबर गरेका मात्रै हौँ।’

उताबाट ती लगानीकर्ताले भने, ‘हुन्छ म छिट्टै त्यहाँ आउँछु।’

कर्मचारीहरु आपसमा गफिँदै भने, ‘अझै पनि लगानीकर्तालाई सेयर बेचेपछि ईडीआईएस गर्नुपर्छ भन्ने थाहा छैन। अनि कसरी नाफा हुन्छ।’

केहीबेरको बसाइपछि हामी नक्सालस्थित नासा सेक्युरिटिज (ब्रोकर नं. ५८)मा पुग्यौँ। त्यहाँ  लगानीकर्ताको सामान्य उपस्थिति थियो। बजार झिनो अंकले बढेको थियो। लगानीकर्ताहरु आपसमा कुराकानी गर्दै भने, ‘अब बजारले तेस्रो त्रैमासको रिपोर्ट कुरेको हुन सक्छ। अब हरेक हिसाबले समाचारहरु सकारात्मक छन्। बजार घटिहाले पनि सामान्य अंकले घट्ला तर घट्नेभन्दा बढ्ने सम्भावना बढी छ।’

नासाबाट हामी कमलादीमा रहेको मल्ल एन्ड मल्ल सेक्युरिटिज (ब्रोकर नं. ११) पुग्यौँ। त्यहाँ रहेका लगानीकर्ताले बैंकहरुले निक्षेपको ब्याजदर घटाए पनि कर्जाको ब्याजदर नघटाएर ऋणिमाथि ठूलो अन्याय गरेको आरोप लगाए। 

बजार झिनो अंकले घट्ने र बढ्ने भइराखेको थियो। त्यहाँ उपस्थित लगानीकर्ता भारतको सेयर बजारको चर्चा गर्दै थिए। एक लगानीकर्ताले भने, ‘भारतमा मन्दी नआउने, सँगै रहेको नेपालमा मात्र आउनुको कारण राजनीतिक अस्थिरता र भ्रष्टाचार नै हो। यी दुई चिजको उपचार नभएसम्म न अर्थतन्त्र न त सेयर बजार कुनै पनि बलियो हुँदैन।’

दिउँसोको करिब १ बजिसकेको थियो । हामी त्यहाँबाट पुतलीसडकमै रहेको श्वेता सेक्युरिटिज (ब्रोकर नं. २५ पुग्यौँ। त्यहाँ भेटिएका मनाङ घर बताउने एक लगानीकर्ताले भने, ‘नेप्से ३२०० हुँदा बजार पसेको, अहिले लगानी ४० प्रतिशतमा झरिसकेको छ। मजस्ता धेरै लगानीकर्ताको सम्पत्ति खरानी भएको छ। भ्रष्ट सरकार र नेताका कारण हाम्रो आज यो हालत भएको हो।’

अर्का लगानीकर्ताले भने श्रीलंकाको भन्दा पनि बढी क्षति हाम्रो बजारमा भएको छ। ‘कमाउँदा कर लिने सरकारले गुमाउनबाट जोगाउनुपर्दैन ?’, ती लगानीकर्ताले प्रश्न गरे। 

त्यहाँबाट हामी न्युप्लाजास्थित क्रिस्टल कञ्चनजंघा सेक्युरिटिज (ब्रोकर नं. ५०) पुग्यौँ। हामी त्यहाँ पुग्दा डिस्प्ले हलमा कोही लगानीकर्ता थिएनन्। दिउँसोको करिब ३ बज्न लागेको थियो। बाहिरबाट हतार–हतार गर्दै आएका एक लगानीकर्ताले भने, ‘आज बजार घट्न मानेन, अब आउने दिनबाट बजार बढेर जान्छ। म त आज अलि कति भएपनि खरिद गर्ने हो।’

त्यहाँ हामी नजिकैको चिया पसलमा छिर्यौँ। ब्रोकर हाउस नजिकै भएका कारण चिया पसलमा पनि सेयर बजारको बारेमै चर्चा भइरहेको थियो। हामीले उनीहरुका कुरा सुन्दै चिया अर्डर गर्यौँ। चिया पिउँदै गरेका एक व्यक्तिलाई पसलकी साहुनीले भनिन्, ‘बजार बढेको बेला त चिया र खाजा दिन भ्याइनभ्याई हुन्थ्यो। अहिले त सुख्खा छ। बजार बढेका बेला त सेयर नकिन्नेलाई पनि पैसै–पैसा हुने रहेछ। अब कहिले आउला बढ्ने दिन र अलि व्यापार पनि होला।’