– प्रकाश न्यौपाने

काठमाण्डौ । हरेक साताझैँ आइतबारका दिन हामी काठमाण्डौमा रहेका ब्रोकर हाउसहरु पुगेर लगानीकर्ताका कुरा सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौँ। 

आज हामी सुरुमा काठमाण्डौको कमालादीमा रहेको कोहिनुर सेक्युरिटिज (ब्रोबर नं. ३५)मा पुग्यौँ। त्यहाँ पुग्दा डिस्प्ले हलमा केही लगानीकर्ता भेटिए। कर्मचारीहरु भने काममा व्यस्त देखिन्थे। सेयर कारोबारका लागि ब्रोकर आईडी बनाउने नयाँ लगानीकर्ताको पनि भीडभाडै देखिन्थ्यो। त्यहाँ आएका नयाँ लगानीकर्ताहरु कारोबारका लागि आफूहरुले टीएमएस लिन खोजेको बताए। उनीहरुमध्ये एक युवाले भने, ‘अब लगानी गर्ने बेला आयो, अहिले लगानी गर्दा अब आउने बुलमा चारगुणासम्म नाफा कमाउन सकिन्छ। म भोलिबाटै लगानी गर्न सुरु गर्छु।’

कोहिनुरपछि हामी कमलादीमै रहेको प्रज्ञान सेक्युरिटिज (ब्रोकर नं. १०)मा पुग्यौँ। त्यहाँ भने लगानीकर्ताको राम्रै उपस्थिति थियो। लगानीकर्ताहरु बजार बढ्न नसक्नुका कारणहरु बारे छलफल गरिरहेका थिए। ‘अहिले बैंकको ब्याजदर घट्दो क्रममा आइसक्यो। बैंकहरुले सेयर लोन पनि विस्तारै बढाउँदै लगेका छन्। केही महिनाअघिको तुलानामा अर्थतन्त्र पनि सुधार हुँदै गएको छ’, एक लगानीकर्ताले भने, ‘केही समय बजारले दौडिनका लागि विश्राम लिएको हो। फेरि दौडिन थालेपछि समात्न आउनेहरुको भीड आउनेछ। जसका कारण बजार झनै माथि–माथि जानेछ।’

त्यहाँबाट हामी अनामनगरस्थित भिजन सेक्युरिटिज (ब्रोकर नं. ३४)मा पुग्यौँ। ‘बजार र कम्पनीका सेयरमूल्य न्यून विन्दुमा आइसके, अब नडराई लगानी गर्ने हो’, त्यहाँ पार्किङमा भेटिएका एक पुराना लगानीकर्ताले भने, ‘विगतका बियरिसमा पनि जति बजार झर्याे, त्यति नै डर बढी देखाउँथे। तर, त्यही बेला खरिद गरेकाले २ वर्षमा चारगुणा पैसा बनाए। पैसा कमाउने हो भने अब बिस्तारै लगानी बढाउँदै जानुपर्छ।’

भित्र बसेका लगानीकर्ता भने बजार घटेको देखेर निराश देखिन्थे। ‘३२०० मा निस्कन पनि सकिएन। अहिले २२०० मा एभरेज गरेर झन गल्ती गरेको महसुस भएको छ’, गुनासो गर्दै अर्का एक लगानीकर्ताले भने। 

ती लगानीकर्तासँगै रहेका अर्को लगानीकर्ता भने, ‘म ३२०० मा त निस्केको हो तर २२५० मा अर्थ मन्त्रीमा विष्णु पौड्याल आएपछि छिरेको अलि हतार गरिएछ। यतिबेला छिनुपर्ने रहेछ। जेहोस् २ वर्षदेखि ३ वर्षका लागि लगानी गर्ने हो भने तीन गुणा त होला नि !’ 

हामी त्यहाँबाट आर्यतारा इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज (ब्रोकर नं. ५७)मा पुग्यौँ। डिस्प्ले हलमा केही लगानीकर्तामात्र थिए। उनीहरुले पनि राम्रा र बलिया कम्पनीमा छानेर विस्तारै लगानी गर्दै जानु ठिक हुने कुरामा छलफल गर्दै थिए। 

बजार करिब १७ अंकले घटेर कारोबार भइरहेको थियो। अब बजार १–२ दिनमात्र घट्ने अनुमान एक लगानीकर्ता लगाउँदै थिए। ‘अहिलेको घटाई आर्थिक मन्दीका कारण नभई आत्मबल कमजोर र ब्रोकरहरुको पनि चलखेल हुन सक्छ’, ती लगानीकर्ताले भने।