– प्रकाश न्यौपाने
काठमाण्डौ । हरेक आइतबार बजार खुलेको दिन काठमाण्डौमा रहेका ब्रोकर हाउस पुगेर लगानीकर्ताका कुरा सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौँ।
आज हामी बजार खुलेको पहिलो घन्टामै काठमाण्डौको नारायणहिटी दरबारको उत्तर ढोकाअगाडि रहेको ओप्पल सेक्युरिटिज इन्भेस्टमेन्ट (स्टक ब्रोकर नं. ४) मा पु्ग्यौँ। हामी त्यहाँ पुग्दा लगानीकर्ताका लागि राखिएको डिस्प्ले हल सुनसान थियो। कर्मचारीहरु काममा व्यस्त देखिन्थे। सुरुको समय भएकोले पनि होला लगानीकर्ताको उपस्थित थिएन।
केहीबेरको बसाइपछि हामी नक्सालमा रहेको नासा सेक्युरिटिज (स्टक ब्रोकर नं. ५८)मा पुग्यौँ। त्यहाँ लगानीकर्ताको सामान्य उपस्थिति थियो। एक लगानीकर्ताले ‘बजार घट्दै गएर हो कि के हो साथीहरु त आउनै छाडे त’ भन्दै हाँस्दै थिए।
नासापछि हामी नक्सालमै रहेको अग्रवाल सेक्युरिटिज (स्टक ब्रोकर नं. ६)मा पुग्यौँ। त्यहाँ हामी पुग्दा दिउँसोको करिब १ बजेको थियो। बजारमा लगातार बिक्री दबाव परिरहेको देखिन्थ्यो। बजार करिब ९ अंकले घटेर कारोबार भइरहेको थियो। त्यहाँ एक लगानीकर्ताले भने, ‘बजारले पनि आश मार्यो। भएको अलिकति पैसा पनि बजारमै सकियो। न काम पाइन्छ। कसरी बाँच्ने हो अब ?’
त्यहाँबाट हामी पुतलीसडकस्थित श्वेता सेक्युरिटिज (स्टक ब्रोकर नं. २५) मा पुग्यौँ। त्यहाँ डिस्प्ले हलमा भने केही लगानीकर्ता भेटिए। त्यहाँ लगानीकर्ताहरुबीच नागरिक लगानी कोष (सीआईटी)को लाभांशका विषयमा चर्चा गर्दै थिए। एक लगानीकर्ताले भने, ‘सीआईटीले अब छिट्टै लाभांश घोषणा गर्दैछ।’
विगतदेखि नै राम्रो बोनस सेयर दिँदै आएको सीआईटीले यसपटक भने पहिलेको जस्तै दिनेमा भने अर्का लगानीकर्ताले आशंका व्यक्त गरे। ‘यतिबेला साना–ठूला सबै लगानीकर्तालाई क्यासको आवश्यकता छ’, ती लगानीकर्ताले भने, ‘विशेषगरी ठूलाको दबाबमा परी कम्पनीले नगद लाभांश बढी दिने हो कि भन्ने लाग्छ।’
त्यहीँ रहेका अर्का एक लगानीकर्ताले भने, ‘घट्दो बजारमा जे दिए पनि अहिलेलाई त घाटै हुन्छ। तर पालेर राख्न सके केही वर्षमा भने राम्रै नाफा हुन सक्छ।’
जबाफमा फेरि अर्का लगानीकर्ताले भने, ‘अहिले खरिद गर्दा केही न केही लाभांश दिने कम्पनीका सेयर नै खरिद गर्ने हो, भविष्यमा पक्कै नाफा लिन सकिन्छ।’
दिउँसोको करिब २ बजेको थियो। हामी त्यहाँबाट अनामनगरमै रहेको भिजन सेक्युरिटिज (स्टक ब्रोकर नं. ३४) मा पुग्यौँ। त्यहाँ रहेका लगानीकर्ताबीच विगतमा राष्ट्र बैंकले सेयर बजारमा लगाएको सबै सीमा पहिलेकै अवस्थामा खुला गर्नुपर्नेमा छलफल गर्दै थिए। ‘यति नगरेसम्म बजारले माथिको लय समात्न मुस्किल छ’, एक लगानीकर्ताले भने।
बजार १४ अंकले घटेर कारोबार भइरहेको थियो। ‘जुन पार्टीको अर्थमन्त्री आए पनि आफ्नो स्वार्थमा मात्र लाग्ने गर्छन्’, एक लगानीकर्ताले भने, ‘आशैआशमा बस्दा आमलगानीकर्ताको सम्पत्ति स्वाहा भयो। तर, सरकारलाई भने वास्ता छैन।’
बजारको कारोबार समय सकिनै लाग्दा झनै बिक्रीचाप पर्दै गएको थियो। बजार तलतल झर्दै जाँदा लगानीकर्ताहरु निराश हँुदै लामो सुस्केरा हाल्दै डिस्प्ले हलबाट विस्तारै निस्के। बजार १९.१० अंकले घटेर १८७०.६६ बन्द भयो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago