– प्रकाश न्यौपाने

काठमाण्डौ । हरेक साता आइतबारका दिन सेयर बजार खुलेको बेला हामी काठमाण्डौका ब्रोकर हाउस पुगेर लगानीकर्ताका कुरा सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिँदै आएका छौँ। यो सिलसिलालाई आज पनि हामीले जारी राखेका छौँ।

बजारको पछिल्लो अवस्थाबाट ब्रोकर हाउसहरुमा भेटिएका लगानीकर्ताको मनोबल घटेको देखियो। लगानी गरेर नाफा हुने विश्वास नभएका कारण खरिद गर्नेको संख्या न्यून हुँदै जाँदा बजार झनै सुस्ताएको लगानीकर्ताहरुको बुझाइ थियो। 

आज हामी बजार खुलेको पहिलो घन्टामा इन्द्रचोकमा रहेको एबीसी सेक्युरिटिज (स्टक ब्रोकर नं. १७)मा पुग्यौँ। त्यहाँ लगानीकर्ता बजारको विषयमा छलफल गर्दै थिए। एक लगानीकर्ताले भने, ‘राष्ट्र बैंक र सरकार उदासीन हुँदा पनि बजारमा करेक्सन आएको हो।’

एबीसी सेक्युरिटिजको डिस्प्ले हल भने सुनसान थियो। कर्मचारीहरु आ–आफ्नै काममा व्यस्त देखिन्थे। 

त्यहाँ केहीबेरको बसाइपछि हामी नक्सालस्थित सनी सेक्युरिटिज (स्टक ब्रोकर नं. ४२) मा पुग्यौँ। त्यहाँ केही लगानीकर्ताको उपस्थिति थियो। गत बिहीबार दोहोरो अंकको सुधार भएको बजार आज पनि बढ्ने आशा लगानीकर्तामा देखिन्थ्यो। तर, बजार घट्दै गएको देखेर लगानीकर्ताहरु आत्तिएजस्तो पनि देखिए। भावुक हुँदै एक लगानीकर्ताले भने, ‘बजार बढ्छ–बढ्छ भन्दा–भन्दै धेरै घाटा भइसक्यो। नबेचौँ अझै घट्ने हो कि भन्ने चिन्ता, बेचौँ घाटा कसरी कभर गर्ने ?’

सनी सेक्युरिटिजबाट हामी कमलादीमा रहेको मल्ल एन्ड मल्ल स्टक ब्रोकरिङ (स्टक ब्रोकर नं. ११)मा पुग्यौँ। त्यहाँ पनि लगानीकर्ताको उपस्थिति सामान्य नै थियो। बजार १६ अंकले घटिसकेको थियो। त्यहाँ रहेका लगानीकर्ताहरु देश–विदेश परेको आर्थिक मन्दीको प्रभावका बारेमा चर्चा गर्दै थिए। ‘देशमा यति धेरै पैसाको हाहाकार हुनुमा ३५ वर्षे असफल राजनीति नै हो’, एक लगानीकर्ताले भने, ‘वैदेशिक ऋणलाई यहाँका नेताहरुले आफू र कार्यकर्ताको मोजमस्तीमा बजेट छुट्याएका कारण पनि आज देशमा यो अवस्था आएको हो।’ 

भ्रष्टाचार गरेर जोडेको सम्पत्तिलाई राजनीतिक दल र समाजले प्रोत्साहन गरेका कारण पनि देश गम्भीर अवस्थामा पुगेको अर्का लगानीकर्ताले बताए। ‘अहिले सेयर बजारलगायत सम्पूर्ण व्यापार–व्यवसाय चौपट भएको छ’, ती लगानीकर्ताले भने। 

मल्ल एन्ड मल्लबाट हामी नजिकै रहेको प्रज्ञान सेक्युरिटिज (स्टक ब्रोकर नं. १०) मा पुग्यौँ। त्यहाँ उपस्थित लगानीकर्ताहरु देशमा भ्रष्टाचार बढ्दै गएका कारण अर्थतन्त्र कमजोर भएको र त्यसले पनि सेयर बजारलाई उठ्नै नसक्ने अवस्थामा पुर्याएको बताउँदै थिए। ‘अझै पनि केही बिग्रिएको छैन। सरकारले अर्थतन्त्र सुधारका राम्रा नीति ल्याएमा बजारले पनि माथिको बाटो समात्नेछ’, एक लगानीकर्ताले भने, ‘विगतमा बजार योभन्दा पनि चरम संकटको अवस्थामा पुगेको मैले भोगेको थिएँ तर पछि बढ्न थालेपछि म सुतेको बेलामा बजार बढ्यो भने खरिद गर्न छुट्छु कि जस्तो लाग्ने दिन पनि आएको थियो।’

त्यहाँबाट हामी कमलादीमै रहेको कोहिनुर सेक्युरिटिज (स्टक ब्रोकर नं. ३५)मा पुग्दा दिउँसोको करिब २ बजेको थियो। त्यहाँ भेटिएका लगानीकर्ताहरु शिवम सिमेन्ट निकै सस्तो भएको हुनाले अब विस्तारै खरिद गर्न डराउन नपर्ने बताउँदै थिए। एक लगानीकर्ताले भने, ‘शिवम सिमेन्टले उत्पादन गर्दैछ र आम्दानी पनि बढाउँदैछ। बजारमा प्रमोटरको हल्ला फिजाएरमात्र घटेको हो। जुन धेरै घट्छ, बुलमा त्यही बढी बढ्ने हो।’