– प्रकाश न्यौपाने

काठमाण्डौ । सदाझैँ साताको पहिलो दिन आइतबार हामी विभिन्न ब्रोकर हाउस पुगेर लगानीकर्ताका विचार सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौँ। 

आज अधिकांश ब्रोकर हाउसमा भेटिएकाहरुले अहिले लगानीकर्ताको मनोबल घटेको बताएका छन्। केहीले भने लगानीकर्तालाई अब सरकार र राष्ट्र बैंक दुवैको विश्वास लाग्न छाडेको प्रक्रिया दिए। 

आज हामी बजार खुलेको पहिलो आवरमा काठमाण्डौको नक्सालमा रहेको थ्राइभ ब्रोकरेज हाउस (स्टक ब्रोकर नं. १३)मा पुग्यौँ। त्यहाँ ब्रोकर हाउसमा रहेको डिस्प्ले हल सुनसान देखिन्थ्यो। कर्मचारीहरु आ–आफ्नै नियमित काममा व्यस्त देखिन्थे। 

थ्राइभमा एक लगानीकर्ता हतार–हतार गर्दै सेयर बिक्री अर्डर गर्ने ठाउँमा पुगे। ती लगानीकर्ताले भने, ‘आज जसरी पनि सेयर बेच्नु छ। कतिमा बिक्री हुन्छ।’

ती लगानीकर्ता आफूले बिक्री गर्न चाहेको कम्पनीको सेयर संख्या भनेर त्यहाँबाट बाहिरिए। 

थ्राइभमा केहीबेरको बसाइपछि हामी नक्सालमै रहेको नासा सेक्युरिटिज (स्टक ब्रोकर नं. ५८)मा पुग्यौँ। त्यहाँ लगानीकर्ताको उपस्थिति सामान्य थियो। उनीहरु बजार केही घट्न सक्ने अनुमान गर्दै थिए। 

कुराकानीकै सिलसिलामा एक लगानीकर्ताले भने, ‘हाम्रो सम्पति सबै सकिन लाग्यो। राष्ट्र बैंकले ५० लाख लगानीकर्ताको सम्पत्ति खरानी बनायो। अहिले लगानीकर्ता पानी बिनाको माछाझैँ भएका छन्।’

नासाबाट हामी डिल्लीबजारस्थित कुमारी सेक्युरिटिज(स्टक ब्रोकर नं. १) मा पुग्यौँ। बजार लगातार घटिरहेको थियो। हामी त्यहाँ पुग्दा लगानीकर्ताको उपस्थिति शून्य थियो। 

त्यहाँबाट हामी पुतलीसडकमा रहेको एसियन सेक्युरिटिज (स्टक ब्रोकर नं. २६) मा पुग्यौँ। त्यहाँ भेटिएका लगानीकर्तामा गत शुक्रबार आएको मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षाका विषयमा चर्चा चलिरहेको थियो। एक लगानीकर्ताले भने, ‘सरकार र मन्त्री भनेका पाहुनाजस्तै रहेछन्। अर्थमन्त्रीले भनेको कुरा गभर्रनरले नमान्ने रहेछन्। सेयर बजारका लागि मन्त्रीभन्दा गभर्नर पो महत्वपूर्ण ठूला देखिए।’

ती लगानीकर्ताले थपे, ‘अब पनि अर्थमन्त्रीले बजेटमा पुँजीगत लाभकरलाई अधिकतम ५ प्रतिशत, अन्तर्राष्ट्रिय लगानीकर्तालाई तत्काल सहभागिता, संस्थागत लगानीकर्तालाई साउनदेखि लागू हुने गरी कारोबारमा खुल्लाजस्ता नीति नल्याए कुनै पनि मन्त्री र पार्टीलाई विश्वास गरिँदैन।’

ती लगानीकर्ताको मागलाई त्यहाँ उपपिस्थत अन्य सबै लगानीकर्ताले उठेरै ताली बजाउँदै स्वागत गरे। सरकार राष्ट्र बैंकलाई देखाएर पन्छिने र राष्ट्र बैंक जहिले पनि अर्थतन्त्र देखाएर बजारलाई कस्दै जाने गरेको भन्दै केही लगानीकर्ताले गुनासो पोखे। 

त्यहाँबाट हामी चिया पसलमा चिया पिउन पस्यौँ। त्यहाँ एक लगानीकर्ता पनि चिया पिउन बसेका रहेछन्। ‘नेपालको सेयर बजार भनेको वर्षाको बाढीजस्तै रहेछ। ज्ञान नहुनेलाई त बगाएरै छोड्ने रहेछ। बढेको देखेर होला भनेर बजार ३००० हुँदा बजार पसेको अहिले ६० प्रतिशत घाटा भइसकेको छ’, ती लगानीकर्ताले भने, ‘अब कहिले उकासिने हो, अत्तोपत्तो छैन। हामी डुबे पनि सरकारलाई कुनै चासो छैन।’ 

बजार लगातार घटिरहहेको थियो। हामी त्यहाँबाट अनामनगरमा रहेको कालिका सेक्युरिटिज (स्टक ब्रोकर नं. ४६) मा पुग्यौँ। त्यहाँ १–२ जनामात्र लगानीकर्ता थिए। उनीहरु पनि लगानीकर्ताले आश गरेजस्तो मौद्रिक समीक्षा नआएकोले पनि आज झनै बजार घटेको अनुमान गर्दै थिए।

बजार अन्तिम समयमा १६.९५ अंकले घटेर बन्द भएको छ।