– प्रकाश न्यौपाने
काठमाण्डौ । सधैँझैँ साताको पहिलो दिन आइतबार काठमाण्डौका ब्रोकर हाउसहरुमा पुगेर लगानीकर्ताका विचार बुझ्ने र सुन्ने कार्यलाई निरन्तरता दिएका छौँ।
आज ब्रोकर हाउसहरुमा भेटिएका लगानीकर्तामा अर्थतन्त्र सुधार हुँदै गएकोले अब ब्याजदर नबढ्ने र विस्तारै घट्दै जाने भएकोले बजारले लय समात्ने आशा देखिन्थ्यो।
आज कारोबार खुल्दा नखुल्दै हामी काठमाण्डौको नक्सालस्थित सनी सेक्युरिटिज (स्टक ब्रोकर नं. ४२)मा पुग्यौँ। त्यहाँ पुग्दा केही लगानीकर्ता हतार– हतार डिस्प्ले हलमा छिर्दै थिए। उनीहरु भन्दै थिए, ‘लामो समयदेखि घटेको बजारमा केही दिनदेखि बल्ल माहौल बन्न थालेकोले अब बढ्ने आशा गर्न सकिन्छ।’
बजार खुलेदेखि नै सकारात्मक हुँदै कारोबार भइरहेकोले पनि होला लगानीकर्ताहरुको मुहार हँसिलो देखिन्थ्यो। अर्का एक लगानीकर्ताले भने, ‘अब त हाम्रा पनि खुसीका दिन आउँदै छन्। धेरै पीडा सहेर बसियो।’
केहीबेरको बसाइपछि हामी त्यहाँबाट कमलादीमा रहेको कोहिनुर सेक्युरिटिज (स्टक ब्रोकर नं. ३५)मा पुग्यौँ। त्यहाँ पनि थोरै लगानीकर्तामात्र थिए। लगानीकर्ताहरु आज बजारमा नाफा बुक हुन सक्ने अनुमान गर्दै थिए। ‘सीआईटीको सेयर २ महिनादेखि पालेर राखेँ, लाभांश घोषणा भएका दिन पनि खासै बढ्न सकेन। बजारको लय अन्यौल भएका कारण म पनि अलमलमा परेँ’, एक लगानीकर्ताले पछुतो मान्दै भने, ‘विगतमा हरेक कम्पनीको लाभांश घोषणा भएपछि नाफा बुक हुने र मूल्य घट्ने ट्रेन्ड थियो। यसैलाई आधार बनाएर २ हजार ७० रुपैयाँमा किनेको ५ हजार ४२० कित्ता सेयर २ हजार ७५ मा बिक्री गरेँ। मलाई घाटै भयो । तर मैले बिक्री गरेपछि यो कम्पनीको सेयर आज २ हजार १५० भन्दा माथि पुग्यो।’
‘बजारमा पैसामात्र भएर नहुने रहेछ’, ती लगानीकर्ताले थपे, ‘नजान्दा आएको नाफा पनि समाउन सकिनँ। एक हप्तामा ४ लाख रुपैयाँभन्दा बढी नाफा उम्कियो।’
त्यहाँबाट हामी कमलादीस्थित प्रज्ञान सेक्युरिटिज (स्टक ब्रोकर नं. १०) मा पुग्यौँ। त्यहाँ लगानीकर्ताको उपस्थिति बाक्लै थियो। लगानीकर्ताबीच देशमा भइरहेको भ्रष्टाचारको प्रसंग चलिरहेको थियो।
एक लगानीकर्ताले अब पनि पुराना पार्टीहरु नसच्चिए आगामी चुनावमा नयाँ पार्टीले सबैलाई बढार्ने बताए। यो कुरामा सबै लगानीकर्ताले समर्थन जनाउँदै भने, ‘अब हामी सबैले भोट परिवर्तन गर्नुपर्छ।’
बजारकै प्रसंग निकाल्दै अर्का लगानीकर्ताले भने कम्पनीहरुको आम्दानी घट्दै जाँदा पनि बजारलाई बल नपुगेको बताए। उनले भने, ‘कम्पनी बलियो भयो भने लाभांश राम्रो दिने र लगानीकर्ताले सेयर होल्ड गरेर राख्थे। अनि पो बजार बढ्नलाई सहयोग पुग्थ्यो। अहिले सबै कुराले कमजोर भएको छ। यहीबेला खरिद गरेर राख्नेले नै बुलमा कमाउने हो।’
प्रज्ञानबाट निस्केर हामी पुतलीसडकमा रहेको श्वेता सेक्युरिटिज (स्टक ब्रोकर नं. २५)मा पुग्यौँ। बजारमा कारोबार बढेकोले लगानीकर्ताहरु बजार सुधार हुनेमा आशावादी नै देखिन्थे।
दिउँसोको करिब २ बजेको थियो। बजार पनि केही अंक माथि गएर कारोबार हुँदै फेरि तल झर्दै कारोबार भइरहेको थियो। सुरुआती चरणमा २५ अंकसम्म बढेको बजार यो समयमा १० अंकमा झरेर कारोबार भइरहेको थियो। लगानीकर्ताहरु बजार बढेरै बन्द हुने आशमा थिए।
त्यहाँबाट हामी अनामनगरस्थित भिजन सेक्युरिटिज (स्टक ब्रोकर नं. ३४) मा पुग्यौँ। त्यहाँ भेटिएका एक लगानीकर्ताले भने, ‘१–२ दिनभन्दा बजार बढ्नै सक्दैन। अहिलेको बजारमा कसैलाई पनि नाफै छैन। तैपनि बेच्नै हतार गर्छन्। सधै घाटामै सेयर बेचेर कहिले कमाउने होला त्यस्ता लगानीकर्ताले ?’
अर्का एक बैतडी स्थायी घर बताउने लगानीकर्ताले हामीसँग सोधे, ‘पहिले त १८०० आसपास छिरेर २८०० मा निस्केको हुँ। के अब छिर्ने बेला भएको हो सर ?’
हामीले तिनै लगानीकर्ता प्रतिप्रश्न गर्यौँ, ‘कति कमाउनुभयो त त्यति बेला ?’
ती लगानीकर्ता भने, ‘लगानी सानो थियो, जेहोस लगानी ३ गुणा भएपछि निस्केको हुँ। अहिले पनि सोधखोज र अध्ययनमा लागेको छु। थोरै–थोरै त किन्दैछु। अब आउने बुलमा पनि ३ गुणा बनाउने सोच छ।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago