– अर्जुन तिमिल्सिना
काठमाण्डौ । सेयर बजारमा आज दिनभर नै उतारचढाव रह्यो। बिहान पहिलो प्रहरमा सामान्य अंकले बढेको बजार केही समय गिरावट आयो भने दोस्रो प्रहरमा बढेको थियो। दिनभर तल–माथि गरेको बजार अन्तिम समयमा करिब १७ अंकले घटेर बन्द भएको छ।
सधैँको साताको पहिलो दिन आइतबार हामी विभिन्न ब्रोकर हाउसमा पुगेर लगानीकर्ताहरु तथा ब्रोकर सञ्चालकका विचार सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौँ। आज हामीले अनामनगर आसपासका ब्रोकर हाउसहरु पुग्यौँ।
हामी सबैभन्दा पहिले कालिका सेक्युरिटिज स्टक (स्टक ब्रोकर नं. ४६) मा पुग्यौँ। लगानीकर्ताहरु बिहान ११ बज्दा नबज्दै ब्रोकर हाउस आइपुगेका थिए। त्यहाँ उपस्थित एक लगानीकर्ताले भने, ‘शिवम सिमेन्टमा एकै सातामा ७० रुपैयाँ बढ्यो।’
उनीसँगै बसेका अर्का लगानीकर्ताले भने, ‘मैले त ४०० रुपैयाँमा किनेर ४३४ रुपैयाँमा बचेँ तर अहिले थप ३४ रुपैयाँ बढ्यो।’
त्यही ब्रोकरमा एक लगानीकर्ताले चिलिमे जलविद्युत कम्पनीको सेयरभाउ पनि आज बढेको बताए। यहीँ केही लगानीकर्ता जग्गा र सेयर कारोबारका विषयमा छलफल गर्दै थिए।
यत्तिकैमा ब्रोकर सञ्चालक पनि डिस्प्ले रुममा टुप्लुक्क आइपुगे। लगानीकर्ताले सोधे, ‘बजेटमा पुँजीगत लाभकर के गर्ला ?’
ती सञ्चालकले जबाफ दिए, ‘जस्ताको त्यस्तै राख्ला, घटाउलाजस्तो लाग्दैन। अहिलेलाई नचलाएकै राम्रो।’
त्यहीँ रहेका अर्का लगानीकर्ताले पुँजीगत लाभकर नघटाए पनि बढाउन नसक्ने तर्क गरे।
फेरि ब्रोकर सञ्चलकले भने, ‘ब्रोकर कमिसन र पुँजीगत लाभकरले बजारलाई केही असर गर्दैन।’
त्यहाँबाट हामी अनामनगरकै इम्पेरियल सेक्युरिटिज (स्टक ब्रोकर नं. ४५)मा पुग्यौँ। त्यहाँ पनि लगानीकर्ताको उपस्थिति राम्रै थियो। त्यहाँ पनि लगानीकर्ताले चिलिमे जलविद्युत र शिवम सिमेन्टकै चर्चा गर्दै थिए। केही लगानीकर्ता होटेल सेक्टरमा पस्न नसकेकोमा पछुतो मान्दै थिए। एक लगानीकर्ताले भने, ‘खोइ विश्लेषकहरुले पनि हामीलाई भनिदिएनन्, आफू पनि आँट गर्न सकिएन।’
मध्याह्नको १२ बजिसकेको थियो। बजार तल–माथि गर्दै ५ अंकजति बढेको थियो। यहीँ उपस्थित एक लगानीकर्ताले तारागाउँ रिजेन्सी होटेलमा भने अझै मौका रहेको बताए।
त्यहाँ केही समयको बसाइपछि हामी अनामनगरकै दिपशिखा धितोपत्र कारोबार (स्टक ब्रोकर नं. ३८)मा पुग्यौँ। त्यहाँ पनि लगानीकर्ताको उपस्थिति राम्रै थियो। लगानीकर्ताहरु आउने क्रम जारी थियो।
दिउँसोको १ बजिसकेको थियो। त्यहाँ उपस्थित एक लगानीकर्ता मध्य भोटेकोशी जलविद्युतको सेयरभाउ बढेकोमा मख्ख देखिन्थे। चिलिमे जलविद्युतको सेयरभाउ बढेकोमा प्रतिक्रियादिँदै अर्का लगानीकर्ताले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणसँग पनि जोडे।
यही ब्रोकरमा भेटिएका केही लगानीकर्ता भने अब कर्जाको ब्याज घटेकोले बजारप्रति निकै आशावादी देखिन्थे। केही लगानीकर्ता भने गभर्नर र अर्थमन्त्रीको कुरा नमिल्ने तर्क गर्दै थिए।
त्यहाँबाट हामी अनामनगरकै आर्यतार सेक्युरिटिज (स्टक ब्रोकर नं. ५७)मा पुग्यौँ। त्यहाँ पनि शिवम सिमेन्टकै चर्चा चलिरहेको थियो। ‘यो शिवम सिमेन्ट यसरी बढ्नु भनेको घोराही सिमेन्टको आईपीयो बिकाउने काम हो’, त्यहाँ उपस्थिति एक लगानीकर्ताले शंका गर्दै भने, ‘एकै हप्तामा यसरी बढ्ने त अरु के कारण छ ?’
यहीँ उपस्थित अर्का लगानीकर्ता भन्दै थिए, ‘भोलिको बजेटमा केही न केही त आउँछ नै, त्यसैले आज बजार घटे पनि कारोबार भने बढेको पनि छ।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago