– अर्जुन तिमिल्सिना
काठमाण्डौ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि करको विषयलाई लिएर लगानीकर्ताबीच चर्को बहस नै चलेको थियो। जेठ १५ गते सरकारले बजेट ल्याएपछि खुलेको बजार भारी अंकले घटेको थियो। त्यसपछिका कारोबारमा बजार निरन्तर घटेको थियो।
यसबीचमा राजश्व विभागका महानिर्देशक दीर्घराज मैनालीले लगानीकर्ताका ३ संघ–संगठनका नेतासँग भेटेर प्राकृतिक व्यक्तिका लागि साबिकको पुँजीगत लाभकरको व्यवस्था नै अन्तिम रहेको भनेर मौखिक र सूचनामार्फत बुझाए। तर, लगानीकर्ताहरुले त्यसमा विश्वास गरेनन्।
लगानीकर्ता र सरकारबीच द्वन्द्व बढेपछि आज अर्थ मन्त्रालयको सुवर्ण हलमा अर्थमन्त्री, अर्थसचिव, राजश्व विभागका महानिर्देशक, नेपाल धितोपत्र बोर्डका अध्यक्ष र लगानीकर्ताहरुबीच छलफल भयो। अर्थमन्त्री डा प्रकाशशरण महतले त्यही नै विषय दोहोर्याए भने, ‘सेयर लगानीकर्तालाई साबिकको कर नीति नै यथावत राखिएको छ।’
छलफल सहभागी लगानीकर्ताहरुले भने जोडताडका साथ आर्थिक विधेयकको बुँदा नं. २९ संशोधन हुनुपर्ने माग गरे। यसमा पनि अर्थमन्त्री महत सहमत भए।
त्यसपछि लगानीकर्ताले यो लिखित रुपमा नै आउनुपर्ने माग गरे। यस विषयमा पनि अर्थमन्त्री महत सकारात्मक बने र अर्थसचिव तथा मातहतलाई लगानीकर्ताको मागबमोजिम नै गर्न निर्देशन गरेर हलबाट बाहिर निस्किए।
अर्थमन्त्री बाहिरिएपछि सुवर्ण हलमा केही समय अनौपचारिक रुपमा लगानीकर्ताहरुबीच गफगाफ चल्यो। कोही भन्दै थिए, ‘यति त पहिले नै आएको थियो। के फरक भयो ?’
एक लगानीकर्ताका नेताले भने, ‘रोहन कार्की र तिलक कोइरालालाई वार्तामा पहिले नै बोलाएको भए यो हुने नै रहेनछ। जुँगाका लडाइँ भयो, अब एउटै संगठन बनाउनुपर्छ।’
त्यत्तिकैमा नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले तिलक कोइरालालाई तान्दै भने, ‘आउनुस् अब मिलौँ, मिलेको सन्देश जाने गरी फोटो खिचौँ।’
त्यसपछि रोहन कार्कीलगायतका लगानीकर्ताहरु ढकाल र कोइरालासँग बसेर फोटो खिच्न तँछाड–मछाड गर्न थाले। केही समय हलमा एउटै संगठन बनाउने चर्चा पनि चल्यो। कसैले धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाललाई लगानीकर्ताको एउटै संगठन खोल्न पहल गरिदिन कानेखुसी गर्दै थिए। कोही भने अर्थसचिवसँग आफू सेयर बजारमा ३१०० को विन्दुमा फसेको पीड पोख्दै थिए।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago