– अर्जुन तिमिल्सिना
काठमाण्डौ । सधैँझैँ साताको पहिलो दिन आइतबार हामीले विभिन्न ब्रोकर हाउसमा पुगेर लगानीकर्ताको विचार र ब्रोकर हाउसको महौल बुझ्ने कार्यलाई निरन्तरता दिएका छौँ।
यसै सिलसिलामा आज हामी अनामनगर र डिल्लीबजारका केही ब्रोकर हाउसहरुमा पुगेका थियौँ। आज खुलेदेखि नै बढेको बजारमा लगानीकर्ताको उपस्थिति राम्रै थियो भने ब्रोकर हाउसमा राम्रै रौनक देखिन्थ्यो।
सबैभन्दा पहिले हामी अनामनगरस्थित इम्पेरियल सेक्युरिटिज (स्टक ब्रोकर नं. ४५) पुग्यौँ। त्यहाँ लगानीकर्ताको उपस्थित राम्रै थियो। बिहान बजार सामान्य अंकले बढेको थियो। यत्तिकैमा एक लगानीकर्ताले भने, ‘बजार १९७५ काटेपछि किन्नु भनेका छन्। हेरौँ के हुन्छ ?’
सोही ब्रोकर हाउसमा भेटिएका अर्का लगानीकर्ताले भने, ‘अहिले नै हो किन्ने मौका २ बजेपछि त बजार आज राम्रै बढ्छ। सबै ठूलाले तान्दिन्छन्।’
त्यहीँ एक लगानीकर्ताले भने म्युचुअल फन्डहरुले सेयर किनिरहेको दाबी गरे।
केही समयपछि हामी त्यहाँबाट अनामनगरमै रहेको प्रिमियर सेक्युरिटिज (स्टक ब्रोकर नं. ३२) पुग्यौँ। मध्याह्नको १२ बजिसकेको थियो। बजार विस्तारै आफ्नै गतिमा बढिरहेको थियो।
ब्रोकर हाउसमा लगानीकर्ता आउने क्रम जारी थियो भने लगानीकर्तामा उत्साह देखिन्थ्यो। एक लगानीकर्ताले यो साता ननलाइफ नचलेकोले अब फाइनान्स र विकास बैंकको पालो रहेको बताए।
त्यही ब्रोकर हाउसमा भेटिएका केही लगानीकर्ताले असारमा कर्जाको ब्याजदर घट्ने सूचना आफूहरुले पाएको भन्दै छलफल गरिरहेका छन्। एक लगानीकर्ताले अघिल्लो साता सोल्टी होटेल किनेको तर भाउ नबढेको बन्दै गुनासो गर्दै थिए।
त्यहीँ रहेका अन्य लगानीकर्ताले सेक्टर परिवर्तन हुँदा बजार बढेको तर्क गर्दै थिए। ‘अब सेक्टर रोटेसन हुने हो भने बजार दैनिक ४०–५० अंक बढ्न सक्छ’, एक लगानीकर्ताले भने।
बजारमा रौनक कायमै थियो। लगानीकर्ताहरु चियाको चुस्कीसँगै बजार बढेकोमा दंग देखिन्थे।
त्यहाँबाट हामी डिल्लीबजारस्थित श्रीकृष्ण सेक्युरिटिज (स्टक ब्रोकर नं. २८) पुग्यौँ। त्यहाँ भने अन्य ब्रोकर हाउसमा भन्दा भिन्न वातावरण थियो। लगानीकर्ताहरुले निक्कै जोश–जाँगरसँगै मच्ची–मच्ची सेयर किनबेच गरेको पाइयो।
त्यहाँ लगानीकर्ताहरुले एचडीएल र सीआईटीको चर्चा गरिरहेका थिए। एक महिला लगानीकर्ताले अघिल्लो साता सीआईटी नकिनेकोमा पछुतो मान्दै थिइन्।
ती महिलालाई एक पुरुष लगानीकर्ताले भने, ‘मैले त सीआईटी किन्नु भनेकै थिएँ।’
ती महिलाले जबाफ दिइन्, ‘मन भए पनि पैसा नभएर नकिनेको हो।’
उक्त ब्रोकर हाससमा लगानीकर्ताहरुले अब एचडीएल बढ्ने दाबी गर्दै थिए। बजार बढ्दा त्यहाँ उपस्थित लगानीकर्ताहरु खुसीले कहिले ‘मुर्रा’ त कहिले ‘मुर्गा’ भन्दै उठेर नाच्दै गरेको पनि देखियो। लगानीकर्ताहरुको भाषामा आफूले किनेको सेयर बढेमा ‘मुर्रा’ र घटेमा ‘मुर्गा’ भन्ने थियो।
यहीँ केही लगानीकर्ताले सीआईटी २५०० रुपैयाँसम्म पुग्ने र एचडीएलले पनि सीआईटीलाई पछ्याउने तर्क गर्दै थिए।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19