– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । सधैँझैँ साताको पहिलो दिन आइतबार हामी विभिन्न ब्रोकर हाउसमा पुगेर लगानीकर्ताको विचार सुन्ने र बुझने कार्यलाई निरन्तरता दिएका छौँ। 

यसै सिलसिलामा आज हामी काठमाण्डौका त्रिपुरेश्वर, सुन्धार तथा न्युरोडका लगानीकर्ताको विचार सुन्ने कार्यलाई निरन्तरत दिएका छौँ। आज बजार बिहानैदेखि बढेर खुलेको थियो। 

त्रिपुरेश्वरस्थित सेवा सेक्युरिटिज (स्टक ब्रोकर नं. ५४) र भृकुटी स्टक ब्रोकिङ (स्टक ब्रोकर नं. ५३)मा लगानीकर्ताको खासै उपस्थिति थिएन । सुन्धार सेक्युरिटिज (स्टक ब्रोकर नं. ५२)मा भने लगानीकर्ताको उपस्थिति सामान्य थियो। 

सुन्धार सेक्युरिटिजमा भेटिएका एक लगानीकर्ता भन्दै थिए, ‘बजारमा पैसा आउँदै गर्दा बजार पनि बढ्दै जान्छ। मैले पनि सेयर कर्जा लिएर बजारमा लगानी गरेको छु।’

सेयर बजारलाई लुँडो खेलँसँग तुलना गर्दै ती लगानीकर्ताले भने, ‘एउटा समयमा बेच्न सकिएन भने लुँडो खेलमा बल सर्पको मुखमा परेजस्तै हुन्छ सेयर बजारमा । त्यसैले बजारमा बेच्न पनि जान्नुपर्छ।’ 

ती लगानीकर्ताको विचारमा अहिले सेयर खरिद नै गर्ने समय हो ‘अहिले बजारको जग बस्दै गरेको छ’, ती लगानीकर्ताले भने। 

मध्याह्नको १२ बजिसकेको थियो। बजार २५ अंकले बढेको थियो । कारोबार पनि १ अर्ब बढीको भइसकेको थियो। 

केही समयको बसाइपछि  त्यहाँबाट हामी इन्द्रचोकस्थित एबीसी सेक्युरिटिज (स्टक ब्रोकर नं. १७)मा पुग्यौँ। दिउँसोको १ बजेको थियो। बजार ३५ अंकभन्दा बढीले बढेको थियो ।  त्यहाँ पनि लगानीकर्ताको उपस्थिति सामान्य नै थियो। 

केही परिपक्व जस्ता देखिने लगानीकर्ताहरु आपसमा गफमा मस्त देखिन्थे। एक लगानीकर्ताले अहिले बजारमा आएका रिपब्लिक मिडिया र घोराही सिमेन्टको सेयरप्रति इंगित गर्दै भने, ‘सेयर बजार पनि अचम्मै छ। बजार बढेपछि घाटामै भएका कम्पनीका सेयर पनि बिक्छन्।’

त्यहीँ रहेका अर्का लगानीकर्ताले अपर तामाकोशी जलविद्युत पनि घाटामै रहेको तर आज झनै बढेको बताए। 

बैंकको सेयरभाउ नबढेकोमा एक लगानीकर्ता दिक्क मान्दै भने, ‘अब सेयर लोन आएपछि मात्रै बैंक चल्छन्। किनकि सेयर कर्जा दिने भनेको बैंकको सेयर त हो नि।’ 

त्यहाँबाट हामी न्युरोडकै जेएफ सेक्युरिटिज (स्टक ब्रोकर नं. ७)मा पुग्यौँ । त्यहाँ पनि लगानीकर्ताको उपस्थिति समान्य नै थियो  

त्यहाँ भेटिएका एक लगानीकर्ताले भने, ‘यो साता पनि होटेल नै चले। मसँग सोल्टी होटेलको सयर छ। के गर्ने होला ?’

उनीसँग बसेका अर्का लगानीकर्ताले भने, ‘लगातार बढेको छ होटेल र ननलाइफमा त नाफाबुक पनि आउनुपर्ने हो।’

सँगै बसेका अर्का लगानीकर्ताले भने, ‘एनएचपीसी आज किन बढेको हो ?’

छेऊमै बसेका अर्काले जबाफ दिए, ‘राइटको बुक क्लोज भएर होला सस्तो देखेर किने लगानीकर्ताहरुले।’

त्यहीँ बसेका एक लगानीकर्ता भन्दै थिए, ‘ब्रोकरलाई ग्लोबल आइएमई बैंकले लिमिटमा टाइट गरेको छ भन्छन्। बजार बढेको बढ्यै छ । बजार बढ्न थालेपछि कहाँबाट आउन थाल्छ पैसा सेयर बजारमा ?’