– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । सधैँझैँ साताको पहिलो दिन आज पनि हामी विभिन्न ब्रोकर हाउसमा पुगेर लगानीकर्ताको विचार सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौँ। बजार बिहान खुलेदेखि नै उतारचढाव आएको थियो। 

आज हामी बिहान ११ बज्दा नबज्दै ब्रोकर हाउस पुगेका थियौँ। सबैभन्दा पहिले अनामनगरमा रहेको भिजन सेक्युरिटिज (स्टक ब्रोकर नं. ३४)मा पुग्यौँ। यो ब्रोकरमा लगानीकर्ताको उपस्थिति राम्रै थियो। बजार सामान्य अंकले तलमाथि गर्दै थियो। 

यत्तिकैमा एक लगानीकर्ताले भने, ‘मैले त सीआईटीको सेयर २००० रुपैयाँतिर किनेको थियँ, २६०० तिर बेचेँ।’

उनीसँगै बसेका अर्का लगानीकर्ताले भने, ‘मैले पहिलेको बुलबाट एचडीएल सेयर निकै नाफा बेचेँ, अझै पनि केही सेयर छ, नाफामै छ।’

ब्रोकर हाउसमा लगानीकर्ता आउने क्रम जारी थियो। केही लगानीकर्ता हाइड्रो कम्पनीका सेयर नबढेर दिक्क मान्दै थिए। केहीले भने इन्स्योरेन्स कम्पनीको सेयर किन्नुपर्ने गफ गर्दै थिए। 

यत्तिकैमा एक लगानीकर्ताले हिमालयन लाइफ इन्स्योरेन्स सेयरभाउ मूल्यका हिसाबले अझै सस्तो भएको तर्क गरे। उनीसँगै बसेका अर्का लगानीकर्ताले भने, ‘आज स्वाबलम्बन लघुवित्तको सेयरमा उच्च कारोबार भएको छ।’ 

यतिबेलासम्म मध्याह्नको १२ बजिसेकेको थियो। झन्डै सवा १ अर्ब रुपैयाँको कारोबार भइसकेको थियो। 

केही समयको बसाइपछि हामी कालिकास्थानस्थित नेपाल स्टक हाउस (ब्रोकर नं. १४ मा पुग्यौँ। यो ब्रोकर हाउसमा लगानीकर्ता उपस्थिति राम्रै थियो। एकजना लगानीकर्ताले आईप्याडमा बजार हेर्दै भने, ‘आज बजार २ बजेपछि फर्केन भने ४० अंकभन्दा बढीले घट्छ। बजारको राम्रो लक्षण छैन।’

उनीसँगै बसेका अर्का लागनीकर्ताले भने, ‘शिवम सिमेन्टमा २०० रुपैयाँ बढी कमाएँ। सीआईटीमा ६०० रुपैयाँभन्दा बढी नै कमाएँ। होटलमा त राम्रै नाफा पनि गरेँ। अब त किन बढ्छ र बजार ? सधँै बजार बढ्छ भन्नु पनि बेकार हो।’ 

दिउँसोको १ बजिसेकेको थियो। लगानीकर्ता कारोबारमा मस्त थिए। 

त्यहाँबाट हामी कमलादीस्थित श्रीहरि सेक्युरिटिज (स्टक ब्रोकर नं. ५६)मा पुग्यौँ। लगानीकर्ताहरुको उपस्थिति राम्रै थियो। बजार २५ अंकले घटेर  २०२५ को विन्दुमा कारोबार भइरहेको थियो।

एक लगानीकर्ताले भने, ‘बजारमा असार मसन्तको प्रभाव देखियो। आज बजार फर्केलाजस्तो छैन।’

यतिबेलासम्म दिउँसोको २ बजिसकेको थियो। बजार निरन्तर घटेको थियो। केही समयको बसाइपछि हामी कमलादीकै प्रज्ञा सेक्युरिटिज (स्टक ब्रोकर नं. १० मा पुग्यौँ। त्यहाँ पनि लगानीकर्ताको उपस्थिति राम्रै थियो। 

बजार निरन्तर घटिरहेको थियो। यत्तिकैमा एक लगानीकर्ताले भने, ‘बजारमा असार मसान्तको प्रभाव देखियो, १–२ दिन अझै प्रभाव पर्न सक्छ।’