काठमाण्डौ । डिजिटल बैंकिङमा जोड दिँदै सिटिजन्स बैंक इन्टरनेसनले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी विभिन्न संस्थासँग सहकार्य गर्दै आइरहेको छ। ग्राहकलाई थप सेवा–सुविधा दिन र बैंकको ब्रान्डिङ प्रवर्द्धन गर्न बैंकले हस्पिटल, रिसोर्ट, होटेल, रेस्टुराँ, बेकरीजस्ता विभिन्न संस्थासँग सम्झौता गरी मर्चेन्टको सुविधा दिँदै आइरहेको छ। 

बैंकले भारतमा रहेको मेदान्त अस्पताल र अपोलो हस्पिटलसँग पनि सहकार्य गर्दै आइरहेको छ। बैंकका ग्राहकलाई थप सुविधा दिने उद्देश्यले भारतका दुई अस्पतालसँग सहकार्य गरेको बैंकले जनाएको छ। मेदान्त अस्पतालसँग बैंकले ३ वर्षदेखि सहकार्य गर्दै आइरहेको छ भने अपोलो हस्पिटलसँग सहकार्य भएको लगभग एक महिनामात्रै भएको बैंकका एक अधिकारी बताए। ‘मेदान्त अस्पतालसँग सहकार्य गरेको ३ वर्ष बढि भइसकेको छ, ग्राहकको राम्रो प्रतिक्रिया आइरहेको छ, जसबाट बैंकलाई राम्रो माइलेज मिलेको छ’, उनले भने, ‘आगामी दिनमा पनि मेदान्त अस्पतालसँग थप सहकार्य गर्ने योजना रहेको छ, यसका लागि बैंकको तर्फबाट भरपुर कोसिस भइरहेको छ।’ 

मेदान्त अस्पतालबाट हालसम्म सिटिजन्स बैंकका १ हजारभन्दा बढी ग्राहकले सेवा लिइसकेको ती अधिकारीले बताए। ‘हामीले नयाँ ग्राहकलाई उक्त अस्पतालमा सेवा लिन जानु भनेर सहकार्य गरेका होइनौँ, मेदान्त अस्पताल भारतको राम्रो अस्पतालहरुमध्ये एक हो, त्यहाँबाट सेवा लिइरहेका नेपाली तथा सिटिजन्स बैंकका ग्राहकलाई अझ सुविधा दिने उद्देश्यले अफर सुविधाका लागि सहकार्य गरेका हौँ’, ती अधिकारीले भने, ‘तर, हामीले यो अफर ल्याइसकेपछि पनि कतिपय ग्राहकले कार्ड बनाउनसमेत आउनुभएको छ।’ 

भारतको गुडगाउँमा रहेको मेदान्त द मेडिसिटी अस्पतालसँग बैंकले बैंकका कार्डबाहक ग्राहकलाई छुट दिनेसम्बन्धी समझदारी गरेको हो। बैंकका कार्डबाहक ग्राहकले उक्त अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट पाउनेछन्। 

यसैगरी बैंकले केही समयअघिमात्रै भारतमै रहेको अपोलो हस्पिटल इन्टरप्राइजेज लिमिटेडसँग पनि छुटसम्बन्धी सम्झौता गरेको छ। भारतको चेन्नाई, हाइद्रबाद, ब्यांग्लोर, नाबी मुम्बई, अमदाबाल, न्यु देल्दी र कोलकत्तामा रहेको अपोलो अस्पतालका सबै शाखामा सिटिजन्स बैंकका ग्राहकलाई छुट हुने बैंकले जनाएको छ। 

अपोलो अस्पतालको सम्पूर्ण सेवामा बैंकका कार्डवाहकलाई १० प्रतिशतसम्म छुट हुने बैंकले जनाएको छ। अपोलो अस्पतालसँगको सहकार्यमा ग्राहकलाई थप सुविधा हुने र बैंकको ब्रान्डिङमा समेत प्रवर्द्धन हुने बैंकले अपेक्षा लिएको छ। 

विभिन्न संस्थासँग छुट अफरका लागि सहकार्य गर्दा कार्ड प्रयोगकर्ताको संख्या बढेको बैंकले जनाएको छ। बैंकका ग्राहकलाई थप सुविधा दिन, डिस्काउन्ट प्रिभिलेस, बैंकको ब्रान्डिङ प्रवर्द्धन गर्न अझै विभिन्न संस्थासँग सहकार्य अघि बढाउने बैंकले लक्ष्य लिएको छ। 

बैंकले हालसम्म ३१ वटा हस्पिटल, ४४ वटा होटेल तथा क्याफे, एउटा स्पा, १७ हेल्थ केयर सेन्टर, २४ वटा होटल, २ वटा ई–कमर्स, २ इलेक्ट्रोनिक डिभाइस, १ एडुकेसन, एक सुपरमार्केट, ६ रिसोर्ट, ४ फेसन, ६ एडभेन्चर्स स्पोर्ट्स, १ गिफ्ट सप, २ सिनेमा हाउस, १ एक्सेसरिज बुक, म्यारिगोल्ड ज्वेलरी, डेकोड जेनोमिक्स एन्ड रिसर्च सेन्टर, २ रेस्टुरेन्ट एन्ड बार र २ डेन्टल हस्पिटलसँग सहकार्य गर्दै आफ्ना ग्राहकलाई सेवा दिँदै आइरहेको छ।

बैंकले हालसम्म १६ लाख ग्राहकलाई बैंकिङ सुविधा दिँदै आइरहेको छ। बैंकले हाल देशभरमा १८८ वटा शाखा, १४८ वटा एटीएम, ९७ वटा शाखारहित बैंकिङ इकाइ तथा ३ वटा एक्सटेन्सन काउन्टरबाट सेवा दिँदै आइरहेको छ। 

बैंकमा डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ३ लाख ५० हजार पुगेको छ भने मोबाइल बैंकिङ प्रयोगकर्ता ७ लाख छन्।