काठमाण्डौ । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना ग्राहक सदस्यलाई विभिन्न सीपमूलक तालिम प्रदान गर्ने तथा अवलोकन भ्रमण गराउने क्रममा आज रौतहटको समनपुर शाखा कार्यालयबाट ८० जना ग्राहक सदस्यलाई बाख्रापालन तालिम प्रदान गरेकोे छ।

वित्तीय संस्थासँग आबद्ध सदस्यहरुको आम्दानीको स्रोत वृद्घि गराउने उद्देश्यका साथ सञ्चालन भएको तालिमको अध्यक्षता सोही शाखाका शाखा प्रमुख राजु लामा गरेका थिए। दहियार स्टेसन कार्यालयका प्रमुख भुपेन्द्रबहादुर खड्काको प्रमुख आतिथ्यता थियो। 

तालिममा पशु स्वास्थ्य डाक्टरद्वय सुलभकुमार चौधरी तथा केशव खड्काले बाख्रा पालन गर्दाका फाइदा, बाख्रा पालन गर्ने तरिका तथा बाख्रालाई रोगलाग्दा कसरी रोकथाम गर्ने भन्ने विषयमा प्रशिक्षण दिएका थिए। 

विगत आर्थिक वर्षहरुमा जस्तै यस आर्थिक बर्षमा पनि वित्तीय संस्थाले ग्राहक संरक्षण कोषअन्तर्गत आफ्ना सदस्यहरुलाई तालिम तथा अवलोकन भ्रमणलगायत विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको छ। 

हाल ११९ वटा शाखा कार्यालय रहेको संस्थाले १ लाख ४८ हजार २०५ घरधुरीलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ। त्यस्तैगरी आफ्ना ग्राहक सदस्यलाई ८ अर्ब ५३ करोड ६६ लाख रुपैयाँबराबर कर्जा लगानी गरेको छ भने उनीहरुबाट २ अर्ब ९९ करोड ३१ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ। 

शाखा कार्यालयका सदस्यहरुबाट माग भई आएको अवस्थामा विभिन्न किसिमका सीपमूलक तालिमहरुलगायत विभिन्न कार्यक्रमहरु सञ्चालन गदै जाने संस्थाका प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीले जानकारी दिए।