काठमाण्डौ । ग्रीन भेन्चर्स लिमिटेडको आईपीओ आउँदो आइतबार बाँडफाँड हुने भएको छ। 

धितोपत्र बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडका अनुसार आइतबार बिहान ८ः३० बजेट ग्रीन भेन्चर्सको आईपीओ बाँडफाँड गरिनेछ। आईपीओ बाँडफाँड कार्यक्रम नयाँबानेश्वरस्थित क्यापिटलको कार्यालयमा राखिएको छ। 

यो आईपीओको प्रिअलटमेन्टको काम मंगलबार सकिएको क्यापिटलले जनाएको छ। 

कम्पनीले गत चैत ८ गतेदेखि चैत ११ गतेसम्म १०० रुपैयाँ अंकित दरका कुल ३१ लाख २५ हजार कित्ता आईपीओ जारी गरेको थियो। कुल कित्तामध्ये ३ प्रतिशतले हुन आउने ९३ हजार ७५० कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको थियो भने ५ प्रतिशतले हुन आउने १ लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो। बाँकी २८ लाख ७५ हजार कित्तामा सर्वसाधारणले आवेदन दिएका छन्। 

यो आईपीओमा कुल २१ लाख ५७ हजार ६३१ आवेदकले २ करोड ५९ लाख ४० हजार ५६० कित्ताका लागि आवेदन दिएका छन्। जुन मागभन्दा ९.०२ गुणा बढी हो। 

यो आईपीओ गोलाप्रथाबाट बाँडफाँट हुनेछ। जसमा २ लाख ८७ हजार ५०० जनाले मात्र सेयर हात पार्नेछन्। बाँकी १८ लाख ७० हजार १३१ जनाको भने हात खाली हुनेछ।