काठमाण्डौ । ‘समृद्धिका लागि सिभिल बैंक’ भन्ने नाराका अगाडि बढिरहेको सिभिल बैंक लिमिटेडले ग्लोबल मनी विक’ को उपलक्ष्यमा विविध वित्तीय साक्षरता कार्यक्रमहरुको आयोजना गर्दै मनाउँदैछ । 

बैंकले भोलि चैत ९ गतेबाट सातै दिन प्रदेशको रोलक्रमका अनुसार विभिन्न जनचेतनामूलक विविध वित्तीय साक्षरता कार्यक्रमहरुको आयोजना गर्न लागेको हो। जसअनुसार चैत ९ गते प्रदेश नं. १ अन्तर्गत विराटनगरको अर्किड कलेजमा वित्तीय साक्षरता कार्यक्रम तथा बिर्तामोडका टेम्पोहरुमा क्यूआर कोडमार्फत भाडा भुक्तानीको थालनी गरिनेछ। 

यसैगरी चैत १० गते प्रदेश नं २ अन्तर्गत जनकपुरमा वित्तीय साक्षरता कार्यक्रम तथा खुद्रा ब्यापारीहरुमा क्यूआर कोडमार्फत भुक्तानीको थालनी कार्यक्रम रहेको सिभिल बैंकले जनाएको छ। चैत ११ गते भने बागमती प्रदेशको धुलिखेल तथा बनेपामा वित्तीय साक्षरता कार्यक्रम तथा हेटौँडाका टेम्पोहरुमा क्यूआर कोडमार्फत भाडा भुक्तानीको थालनी गरिने बैंकको भनाइ छ। 

यसैगरी चैत १२ गते गण्डकी प्रदेशको बेगनास ताल डुंगा ब्यबसायी संघमा, चैत १३ गते लुम्बिनी प्रदेशको बुटवल, मणिग्राम, तुलसीपुरमा र चैत १४ गते कर्णाली प्रदेशको वीरेन्द्रनगर सुर्खेतमा वित्तीय साक्षरता कार्यक्रम गरिने बैंकले जनाएको छ। 

बैंकले चैत १५ गते भने सुदूरपश्चिम प्रदेशको धनगढी, जानकी, आदर्श, बन्नीगढ, लम्किचुहा र भजनीमा वित्तीय साक्षरता कार्यक्रम गर्नेछ। 

यी वित्तीय साक्षरता कार्यक्रममा बैंकले अहिलेको डिजिटल युगमा विभिन्न विद्युतीय कारोबारका माध्यमहरुका फाइदाहरुका बारेमा श्रव्यदृश्य सामग्रीसहितको प्रस्तुति गरिने कुरा बैंकले जनाएको छ । साथै, बैंकले आफ्नो सामाजिक सञ्जालमार्पmत ७ प्रमुख विद्युतीय माध्यमहरु (मोबाइल एप, क्यूआर कोड, एटीएम, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएस, पीओएस र डिजिटल वालेट)का बारेमा चेतनामूलक सामग्री प्रशारण गर्ने योजना रहेको जानकारी गराएको छ।