काठमाण्डौ । ग्लोबल आइएमई बैंकले आज माघ २९ गतेदेखि ५ अर्ब रुपैयाँबराबरको ऋणपत्र बिक्री खुला गरेको छ। 

बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख इकाइ भएको ‘ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४/८५’ नामक ऋणपत्र जारी गरेको हो। कुल इकाइमध्ये ३० लाख इकाइ बैंकले व्यक्तिगत तबरबाट बिक्री गर्नेछ। 

यसैगरी बाँकी २० लाख इकाइमध्ये बैंकले सामूहिक लगानी कोषलाई १ लाख इकाइ ऋणपत्र छुट्याएको थियो। जसमा ७० हजार इकाइ लागिमात्रै आवेदन परेको थियो। 

त्यसैले बाँकी ३० हजार इकाइसहित १९ लाख ३० हजार इकाइ बैंकले सर्वसाधारणका लागि बिक्री खुला गरेको छ। 

यो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ इकाइदेखि अधिकतम १० लाख इकाइसम्म खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्। 

लगानीकर्ताले यो ऋणपत्रमा फागुन ३ गतेसम्म आवेदन दिन पाउनेछन्। यो अवधिसम्म मागबमोजिम आवेदन नपरेको खण्डमा भने फागुन १४ गतेसम्म बिक्री खुला गरिनेछ। 

ग्लोबल आइएमई बैंकको यो ऋणपत्रको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ। 

यो ऋणपत्र ५ वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक ११.२५ प्रतिशत ब्याज पाउनेछन्।