काठमाण्डौ । ग्लोबल आइएमई बैंकको १७औं वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ ।

सभाले आठ प्रतिशत नगद लाभांश र एक प्रतिशत बोनश सेयर गरी नौ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । साथै सभाले सञ्चालक समितिको तर्फबाट कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरण पारित गरेको छ ।
 

कम्पनीले गत आर्थिक वर्ष २०७९/८० मा सञ्चालन मुनाफा १२ अर्ब ६९ करोड रुपैयाँ र कर पछिको मुनाफा ६ अर्ब ६९ करोड रुपैयाँ आर्जन गरेको थियो । प्रस्तावित बोनश सेयर वितरण पश्चात कम्पनीको चुक्तापूँजी ३६ अर्ब १२ करोड रुपैयाँ ८७ लाख पुग्नेछ । 

सभामा अध्यक्ष ढकालले सरकार एवं नेपाल राष्ट्र बैंकद्वारा घोषित नीतिहरुको परिपालना गर्दै आफ्ना सेयरधनीहरुलाई उचित लाभांश प्रदान गर्न बैंक कटिबद्ध रहेको बताए । उनले बैंकले आगामी दिनमा आफ्नो व्यावसायिक रणनीतिक योजना अनुरुप व्यवसाय विस्तारका अन्य क्षेत्रमा समेत सन्तुलित बृद्धि गर्दै जाने बताए । 

यसैगरी, सभाले संस्थापक सेयरधनी समूहबाटतीन जना र सर्वसाधारण सेयरधनी समूहबाट तीन जनासमेत जम्मा ६ जना सञ्चालकको निर्वाचन गरेको छ ।

संस्थापक सेयरधनीतर्फ चन्द्रप्रसाद ढकाल, रामबहादुर भण्डारी र राधेश पन्त निर्वाचित भएका छन् भने सर्वसाधारणतर्फ नारायणप्रसाद पौडेल, मदनलाल जोशी र कृष्णप्रसाद शर्मा निर्वाचित भएका छन्। सबै सञ्चालक समिति सदस्यहरु निर्विरोध निर्वाचित भएका हुन् ।

आर्थिक वर्ष २०७९/८० मा कम्पनीको खुद ब्याज आम्दानी अघिल्लो वर्षभन्दा ६ अर्ब ८१ करोड रुपैयाँले बृद्धि भएको छ । कम्पनीको खुद मुनाफामा अघिल्लो वर्षको तुलनामा ३४.९९ प्रतिशतले बृद्धि भई ६ अर्ब ६९ करोड रुपैयाँ कायम भएको छ ।

कम्पनीले सोही अवधिमा ४ खर्ब ३९ अर्ब रुपैयाँभन्दा बढी निक्षेप संकलन गर्नुका साथै ३ खर्ब ७४ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको छ ।