काठमाण्डौ । ग्लोबल आईएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट बम्पर लाभांश प्रस्ताव गरेको छ ।

बैंकको सञ्चालक समितिको मंगलबार बिहान बसेको बैठकले गत वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई २५.५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । बैंकले वितरणयोग्य मुनाफासमेतबाट सेयरधनीहरुलाई चुक्तापुँजीको १२.५ बोनस सेयर र १२.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

गत वर्ष बैंकले २ अर्ब ४२ करोड रुपैयाँ वितरणयोग्य मुनाफ आर्जन गरेको थियो । बैंकले २ अर्ब ७९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा खुद नाफातर्फ बैंकले ३३.०२ प्रतिशतले बढोत्तरी गरेको हो । अघिल्लो वर्ष बैंकको खुद नाफा २ अर्ब १० करोड रुपैयाँ थियो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्रबैंकबाट स्वीकृति भएपछि आगामी १३ औँ वार्षिक साधारणसभाबाट वितरण गरिने बैंकले जनाएको छ ।

यो बैंक जनता बैंकसँग मर्ज भई केही समयपछि नै देशकै ठूलो बैंक बन्दैछ । केही समयअघि ग्लोबल आईएमई बैंक र जनता बैंकबीचको मर्जरलाई राष्ट्र बैंकले सैद्धान्तिक सहमति दिइसकेको छ ।