-राजु पौडेल
लामो समयदेखि नेपालको सेयर बजार निरन्तर घटिरहेको थियो । जसका कारण लाखौ लगानीकर्ता ज्यादै निराश भएका थिए । कतिपय लगानीकर्ताहरु त निरन्तरको बजार घटाईबाट अतालिएर घाटैमा सेयर बेचेर कहिले पनि सेयर बजारमा नफर्कने उद्घोष गर्दै बजारबाट पलायन भइसकेका छन्।

हामीले निरन्तर विभिन्न कार्यक्रम, सामाजिक सञ्जाल र लेखमार्फत भन्ने गरेका थियौ, विश्वकै सेयर बजारको विशेषता भनेकै बजार घटेर एउटा बिन्दुमा पुगेपछि बढ्छ । बढेर एउटा बिन्दुमा पुगेपछि फेरि घट्न सुरु गर्छ । सेयर बजारमा पनि न्यूटनको तेस्रो सिद्धान्त लागू हुन्छ । बललाई जमीनमा जति बजार्यो उति माथि उफ्रिन्छ । बजार पनि जति घट्यो, उति बढ्छ ।  त्यसकारण केही समय धैर्य गरौं आत्तिएर सेयर नेबेचौ भनेर बारम्बार भन्दै आएका छौं  । 

यसरी सेयर शिक्षा दिइराख्दा कतिपय लगानीकर्ताले हामीलाई गालीगलौज गर्न पनि बाँकी राखेनन् । तर, हामीले निरन्तर भन्दै आयौ केही समय धैर्य गरौं, फेरि बजारमा रौनकता आउँछ । सेयर बजार  निरन्तर घटदै लामो समय १२०० अंकको वरिपरि धेरै समयसम्म नाचिराख्यो । बजारलाई १००० को अंकमा झार्नलाई सेयर बजारका केही सेयर माफियाहरु र आफूलाई प्राविधिक विश्लेषक भन्ने केही धर्के ज्योतिषीहरु लागि परेका थिए, तर सफल हुन सकेनन् । र अझै पनि बजार घटाउन यस्ता धर्के ज्योतिषीहरु धर्का तान्दै छ्न् । यस्ता धर्के ज्योतिषीहरुबाट सचेत हुनुपर्दछ, लगानीकर्ताहरु । 

सेयरबजारको सिजनमा पनि निरन्तर घटिरहेको सेयरबजार यो हप्ताको सुरुदेखि नै किन बढिरहेको छ भन्ने कुरामा चर्चा गरौं । नेपालको सेयर बजारले २०७३ साल श्रावण १२ गते १८८१ को बिन्दुमा पुगेर एउटा इतिहास रच्दै जब बजार फर्कियो, त्यसयता बजारले विभिन्न समयमा तलमाथि गर्दै पिङ खेल्दै १२०० बिन्दुको लाइनमा  धेरै समय नाचेर यो हप्तादेखि उकालो लाग्न सुरु गरेको छ । सेयर बजारले उकालो यात्रा तय गर्नुमा के कस्ता कारण छ्न्, आउनुहोस एकपटक विश्लेषण गरौं । 

नेपालको सेयर बजार असार साउन जस्ता सिजनको महिनामा पनि निरन्तर घटेर लाखौं लगानीकर्तालाई निराश बनाईरहेको अवस्थामा नेपाल पुँजीबजार लगानीकर्ता संघलार्इ बैधानिकता दिंदै श्रावण दुई गते नयाँ कार्यसमिति गठन गरी निरन्तर घटिरहेको बजारमा केही मल्हमपट्टी लगाउन सकिन्छ कि भन्दै नेपाल पुँजीबजार लगानीकर्ता संघले कहिले पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको ढोका घचघच्याउन पुग्यो, कहिले नेप्से प्रमुखलाई भेटेर, अनलाइन प्रणालीमा के के हुँदैछ ? कहिलेदेखि पूर्ण अनलाइन प्रणाली आउँछ ? भन्दै नेप्सेको कार्यालयमा पुगेर बुझ्ने कोशिश गर्यो, कहिले नेपालको पुँजीबजारमा गैरआवासीय नेपालीहरुलाई छिटो लगानी गर्ने वातावरण  मिलाईदिनुपर्यो भन्दै परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई ज्ञापनपत्र बुझाउन मन्त्रीक्वार्टर पुग्यो,  कहिले राजश्व सचिव शिशिर ढुङ्गानालाई भेटेर घाटामा पनि लगानीकर्ताहरुले कर तिर्नुपर्ने बाध्यताको छिटो छिनोफानो होस् भन्दै अनुरोध गर्यौं भने केही समयअगाडि धेरै प्रयासपछि वर्तमान सरकारका अर्थमन्त्री डा. युवराज खतिवडालाई भेटेर वर्तमान सेयर बजारको बारेमा अवगत गराउन संघ सफल भयो । 

अर्थमन्त्रीको भेटमा नेपाल पुँजीबजार लगानीकर्ता संघले बजारप्रतिको तपाईको नकारात्मक टीकाटिप्पणीले गर्दा अहिले बजारमा आईपीओ र एफपिओ पनि बिक्री हुन छाड्यो ।  बजारको यो भयावह अवस्थालाई चिर्न पुँजीगत लाभकरको अन्यौलताको बिषय, बैंकलाई ब्रोकर लाइसेन्स दिने बिषय, सेयर बजारलाई सतहत्तरै जिल्लामा पुर्याउने बिषयमा अर्थमन्त्रीको ध्यानाकर्षण गरायो । यी कुराहरुमा अर्थमन्त्री साह्रै गम्भीर भएको र यी कुराहरुमा तुरुन्तै म केही कदम चाल्छु भन्ने आश्वासन हामीलाई अर्थमन्त्रीले दिएपछि सेयर लगानीकर्ताको नजरमा खलनायकको रूपमा देखिएका अर्थमन्त्रीको यो आश्वासन पछि बजारमा यो कुराले सकारात्मक प्रभाव पार्न सफल भर्इ बजारलाई माथि उकास्न महत्त्वपूर्ण भूमिका खेल्यो भन्ने हाम्रो संघको ठम्याई छ । 

यसैबीच एनआईएफ लगायतका लगानीकर्ता संघहरुले बैंकर एसोसिएशनसँग बैंक ब्याजदर र बैंकलाई ब्रोकर लाइसेन्स दिने कुरामा छलफल गरेको र उक्त छलफलमा बैंकर एसोसिएशनका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले आश्विन लागेसँगै कर्जाको ब्याजदर घटने र बैंकलाई ब्रोकर लाइसेन्स दिने प्रक्रिया तुरुन्तै सुरु गर्ने आश्वासन लगानीकर्ता संघका नेताहरुलाई दिएका सकारात्मक समाचार बजारमा आएपछि बजारलाई उकास्न मद्दत गर्यो । 


नेपाल पुँजीबजार लगानीकर्ता संघले निरन्तर घटिरहेको बजारमा केही गर्न सकिन्छ कि भन्दै श्रावण २७ गते काठमाण्डौमा एउटा भव्य कार्यक्रम आयोजना गर्यो । जुन कार्यक्रममा नियामक निकायका सम्पूर्ण प्रमुखहरु पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल पूर्व अर्थमन्त्री रामशरण महत लगायतका पुँजीबजारका विद्धत वर्गहरुलाई एउटा मञ्चमा राखेर व्यापक छलफल कार्यक्रम आयोजना गर्नाले पनि बजारमा सकारात्मक असर परेको हो भन्ने हाम्रो संघको दाबी छ । त्यसैगरी, यही भदौ १५ गते पहिलोपटक भ्यालीबाहिरको  दुई नम्बर प्रदेशको राजधानी जनकपुरमा दुई नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउत लगायत बिद्धत वर्गको उपस्थितिमा एउटा भव्य कार्यक्रम आयोजना गर्यो । यो कार्यक्रमले पनि बजारमा सकारात्मक असर गरेको देखिन्छ ।

अहिले बजार बढ्नुको प्रमुख अर्को कारणमा निरन्तर बजार घटिरहँदा धेरैजसो बाणिज्य बैंकहरुको सेयर घटेर आईपिओको मूल्यमा आईसकेको अवस्था थियो । बाणिज्य बैंकहरुको चुक्तापूँजी पुगिसकेकोले यसपटक अधिकांश बैंकहरुले नगद लाभांश मात्र दिनेछन् भन्ने हल्ला बजारमा थियो । तर यो हल्लालाई चिर्दै काबेली बिकास बैंक लगायतका बैंकहरुले आकर्षक बोनस घोषणा गर्दा लगानीकर्ताको ध्यान बैंकहरुको सेयरले खिच्यो र बैंकहरुको सेयरमा खरिद चाप बढ्यो, फलस्वरूप सेयर बजार बढ्न पुग्यो ।  नेपालको सेयरबजारको ठूलो हिस्सा बैंकिङ समूहको भएकोले बैंकिङ समूहको सूचकमा वृद्धि हुँदा समग्र बजार माथि जानमा ठूलो टेवा मिल्यो ।

नेपाली लगानीकर्ताको विशेषता भनेकै बजार बढन सुरु गरेपछि जस्तोसुकै नराम्रो कम्पनीको सेयर पनि खरिद गर्ने र बजार घटन थालेपछि जतिसुकै राम्रो कम्पनीको सेयर भए पनि बिक्री गर्न दौडने । यो प्रवृति राम्रो होईन, बजार घट्दा पनि बढ्दा पनि राम्रो कम्पनीको सेयरमा लगानीकर्ताले आँखा लगाउनुपर्छ । सेयर बजार बढ्यो भन्दैमा नराम्रो कम्पनीको सेयरमा लगानी गर्नु लगानीकर्ताका लागि घातक हुनसक्छ ।

माथि उल्लेखित कारणहरु बाहेक अहिले बजारमा रौनकता आउनुमा अन्य विविध कारणहरु पनि छन् । डेढ दुई महिना भित्रमा नेपालको सेयर बजारले प्रविधिमा एउटा ठूलो फड्को मार्दैछ । नेपालको सेयर बजारमा पूर्ण अनलाईन प्रणाली आउँदैछ । अनलाइन प्रणालीको सुरुवातसँगै संसारभरिका नेपालीहरुले नेपालको सेयर बजारमा सेयर खरिदबिक्री गर्न पाउनेछ्न् । 

अब ढिलो चाँडो बैंकहरुले सेयर कारोबार गर्न पाउने ब्रोकर लाइसेन्स पाउँदैछ्न् । बैंकहरुले ब्रोकर लाइसेन्स पाउनेबित्तिकै सत्तहतरै जिल्लामा सेयर बजार पुग्नेछ । बजारको व्यापक विस्तार र विकास हुनेछ । सबै नेपाली जनताको पहुँचमा सेयर बजार पुग्नेछ । 

नेपाल राष्ट्रबैंक र बिमा समितिले तोकेको चुक्तापूँजी बैंक तथा बिमा कम्पनीहरुले पुर्याइसकेको अवस्थामा बजारमा सेयरको अत्यधिक आपूर्ति बन्द हुने बजार विस्तार भर्इ माग बढने, ब्याजदर घट्ने अवस्था छ । यो पनि बजारका लागि ज्यादै सकारात्मक कुरा हो ।  

ढिलो चाँडो एनआरएनहरुलाई नेपालको सेयर बजारमा लगानी गर्ने वातावरण बन्ने, बजार निर्माताको व्यवस्था हुने आदि सकारात्मक कुराहरूको पर्खाइमा बसेका लगानीकर्ताको मनोबल बढ्दा बजार बढ्न सुरु गरेको हो भन्ने हाम्रो ठम्याई छ ।

अन्तमा बढ्न सुरु गरेको बजारमा नयाँ र साना लगानीकर्ताहरुले लगानी गर्दा विशेष ध्यान दिएर लगानी गर्नुपर्ने हुन्छ, नभए फेरि बुल ट्र्यापमा फस्न सकिन्छ  । बढ्दो बजारमा लगानी गर्दा सुझबुझका साथ व्यापक अध्ययन गरेर राम्रो बोनस सेयर दिने कम्पनीहरु छानेर लगानी गर्दा भविष्यमा राम्रो प्रतिफल प्राप्त गर्न सकिनेछ ।  

बजारमा हरियाली छायो भन्दैमा नराम्रो कम्पनी(जसले यो बर्ष बोनस सेयर दिने हैसियतै छैन, रिजर्भ फन्ड कमजोर छ नगद लाभांश मात्र दिने अवस्था छ, इपिस १५ रुपैयाँ भन्दा कम छ, पिइ रेसियो १५ गुणा भन्दा बढी छ, कम्पनीको कमाई घट्दो छ, पुँजी पर्याप्तता अनुपात कति छ ? आदि कुराहरूको गहिरो अध्ययन गरेर मात्र त्यस्ता कम्पनीको सेयरमा लगानी गरौं । धैर्य गरौं रातपछि दिन आउँछ आउँछ । नेपालको पुँजी बजारको भबिष्य उज्वल छ । 
(लेखक नेपाल पुँजीबजार लगानीकर्ता संघका उपाध्यक्ष हुन् ।)