काठमाण्डौ । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि बैंकहरुले धमाधम ब्याजदरमा कटौति गरिरहेका छन् । ब्याजदर घटाउने प्रतिस्पर्धामै उत्रिएका बैंकहरुका कारण मुद्दति निक्षेपमा पैसा राख्दा पाइने रिटर्न न्यून बन्दै गएको छ । यस्तो बेलामा केही वर्षसम्म ढुक्कले एउटै दरको रिटर्न पाइने लगानीको उपकरण के हुनसक्छ ? 

बैंकहरुले तोकेको व्यक्तिगत निक्षेपको ब्याजदर वा त्यस्तो दरमा निकै छोटो अवधिमा हुने उतारचढावको जोखिम लिन नचाहनेका लागि नवील बैंकले आजदेखि बिक्री खुलाएको ऋणपत्र राम्रो विकल्प हुनसक्छ । 

बैंकले ७ वर्षसम्म ढुक्कले वार्षिक ९ प्रतिशत ब्याज पाइने गरी ‘९% नवील डिवेञ्चर २०८७’ का रु. १००० अंकित दरका ३० लाख कित्ताको बिक्री खुलाएको हो । 

शुक्रबार(आज)देखि खुलेको यो ऋणपत्रका कुल कित्तामध्ये १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री हुनेछ भने बाँकी १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ । 

सर्वसाधारणका लागि छुट्याइएको १२ लाख कित्तामध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानीकोषका लागि छुट्याइएको छ । 

इच्छुकले न्यूनतम २५ देखि अधिकतम १२ लाख कित्तासम्मका लागि खरीद आवेदन दिनसक्नेछन् । 

डिवेञ्चरका लागि छिटोमा पुस ३ गतेभित्र आवेदन दिन सकिनेछ । त्यसबेलासम्म पूरै बिक्री नभए ढिलोमा पुस १३ गतेसम्मका लागि आवेदन खुल्ला रहने बताइएको छ। 

नवील बैंकको ऋणपत्रको  निश्कासन तथा बिक्री प्रबन्धकको काम कुमारी क्यापिटल लिमीटेडले गर्नेछ । 

ऋणपत्रका लागि ‘मेरो सेयर’बाट खरीद आवेदन दिन सकिनेछ। 

यस्तै सीआस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखाबाट समेत आवेदन दिन सकिनेछ । 

ऋणपत्रको विवरणपत्र काठमाण्डौको नक्साल(नागपोखरी)स्थित कुमारी क्यापिटलको मुख्य कार्यालय, नवील बैंक लिमीटेडको दरबारमार्गस्थित कार्यालय, काठमाण्डौ र अन्य देशभरका सबै शाखा कार्यालय र धितोपत्र बोर्डको वेबसाइटबाट पाउन सकिनेछ ।