काठमाण्डौ । विभिन्न नीतिगत व्यवस्थाका कारण सेयर बजार २ वर्ष बढी समयदेखि थला परेको छ। 

हालसम्मकै उच्च विन्दु ३२०० बाट तल झरेको बजार लामो समयदेखि २००० को विन्दुभन्दा माथि जान सकेको छैन। बजार जानकारहरुले विगतमा राष्ट्र बैंकको नीतिगत व्यवस्थाले थलिएको बजार केही समययता नियामक धितोपत्र बोर्डले जथाभावी रुपमा प्रिमियममा आईपीओ र कमजोर कम्पनीलाई हकप्रद ल्याउन दिएर सेयरको आपूर्ति बढाउँदा झै शिथिल बनेको आरोप लगाउँदै आएका छन्। 

लाभांशको सिजनमा पनि नसुध्रिएको बजारलाई लयमा फर्काउन अब नीतिगत व्यवस्थामै परिमार्जन हुनुपर्ने जानकारहरुको मत छ। उनीहरुले धितोपत्र बोर्डले बजारमा आपूर्ति बढाउनेभन्दा पनि माग सिर्जना गर्नुपर्नेतिर कदम चाल्नुपर्ने सुझाव दिएका छन्। 

लामो समयसम्म बजार साइडवेजमा चल्दा कोभिड महामारीको बेला बजार प्रवेश गरेका नयाँ र सोझा लगानीकर्ताहरुको सम्पत्ति फसेको छ। बजारले लय नसमात्दा ठूला र संस्थागत लगानीकर्ताहरु बजारमा प्रवेश गर्न मानिरहेका छैनन्। 

अहिले अधिकांश कम्पनीको सेयरभाउमा भारी गिरावट आएको छ। केही कम्पनीको सेयरभाउ त अंकित मूल्यभन्दा तल झरेका छन्। 

घट्दो बजारमा सस्तोमा सेयर उठाउने मौका पनि रहेको जानकारहरु बताउँछन्। अहिले लगानी गरे दीर्घकालमा उचित प्रतिफल प्राप्त हुने उनीहरुको भनाइ छ। 

त्यसो त लगानीकर्ताले दोस्रो बजारमा राम्रा र सस्ता कम्पनीहरु लगानीका लागि खोजिरहेका छन्। सस्ता म्युचुअल फन्ड पनि लगानीका लागि उपयुक्त विकल्प हुन सक्छन्। 

आज बजार बन्द भएपछिको सेयरभाउ हेर्ने हो भने अंकित मूल्यभन्दा तल २ वटा कम्पनी र २९ वटा म्युचुअल फन्डका भाउ रहेको छ। प्रतिकित्ता एचआईडीसीएलपीको सेयरभाउ ९८.१० रुपैयाँ रहेको छ भने समाज लघुवित्तको ८७.९० रुपैयाँ रहेको छ।  

यस्ता छन् अंकित मूल्यभन्दा तल आएका म्युचुअल फन्डहरु