– अर्जुन तिमिल्सिना

काठमाण्डौ । सेयर बजारमा ट्रेन्डअनुसार विभिन्न शब्दावली प्रयोग भएका हुन्छन्। ती शब्दहरुको संकेत र अर्थ फरक–फरक हुन्छ। तर बजारमा कतिपय लगानीकर्ताहरुलाई त्यस्ता शब्दहरुका बारेमा कमै जानकारी हुन्छ। 

सेयर बजारमा ‘डेड क्याट बाउन्स’ शब्द निकै प्रचलित छ। यो शब्द बेला–बेलामा बजार घट्न थालेपछि चर्चा आउने गर्छ। यदि घटिरहेको बजारमा अल्पकालीन तथा छोटो समयका लागि परिसूचक तथा कुनै कम्पनीको सेयरमूल्य घटेर फर्किन्छ भने त्यसलाई ‘डेड क्याट बाउन्स’ भनिन्छ।

त्यस्तै यदि कुनै पनि कम्पनीको मूल्य तथा परिसूचकमा अल्पकालीन र्याली आउँछ र कुनै पनि आधारभूत तत्वले काम नगरी पुनः मूल्य तथा सूचकमा गिरावट आउँछ भने त्यसलाई ‘डेड क्याट र्याली’ भनेर बुझिन्छ। 

त्यसैगरी प्राविधिक रुपमा पनि ‘डेड क्याट बाउन्स’ लाई परिभाषित गरेको पाइन्छ। यदि निरन्तर बढेको बजार तथा कम्पनीको मूल्यमा गिरावट आउँछ र पुनः अल्पकालीन बढोत्तरी आएर ‘भी’ आकर बनाउँछ भने त्यसलाई पनि ‘डेड क्याट बाउन्स’ भनेर बुझिन्छ। 

यसरी ‘डेड क्याट बाउन्स’ हुनको मुख्य कारण कुनै पनि कम्पनीको सेयर वा परिसूचक लामो समय बढेको हुन्छ। यसरी बढेको अवस्थामा एकथरि लगानीकर्ताले सेयर बेच्न सकेका हुँदैनन्। जब बजार घट्न थाल्छ उनीहरुले पहिलेको सूचक तथा सेयरको मूल्य हेरेर पछुतो मानेका हुन्छन् र अब बढ्दा बेच्ने मनस्थिति बनाएका हुन्छन्। 

अर्काथरि लगानीकर्ता जसले किन्नका लागि करेक्सन कुरेर बसेका हुन्छन् तर बजार बियरिस ट्रेन्डमा पुगेको थाहा पाएका हुन्नन् भने उनीहरु केही घटेपछि पुनः बजार प्रवेश गर्छन्। 

यसरी यी दुवैथरि लगानीकर्ताको कारोबारले बजारमा ‘डेड क्याट बाउन्स’ को अवस्था सिर्जना हुन्छ। प्राविधिक रुपमा अझै प्रस्ट रुपमा भन्नुपर्दा इलिअट वेभको कुनै पनि डिग्रीको वेभ ‘ए’ समाप्त भएपछि बन्ने वेभ ‘बी’ नै सेयर बजारमा भन्ने गरिएको ‘डेड क्याट बाउन्स’ हो। किनकि यस्तो अवस्थामा वेभ ‘बी’ बनेपछि वेभ ‘सी’ बनाउन पुनः बजार पहिलेको विन्दुभन्दा झन तल खस्छ। यो समयमा वेभ ‘बी’ मा खरिद गरेका लगानीकर्ता सधैँ घाटामा पर्छन्। 

सेयर बाजारमा बोलीचालीको भाषामा यसलाई बुल ट्र्याप पनि भनिन्छ। उदाहरणका लागि कुनै पनि कम्पनीको सेयरमूल्य बढेर रु. १०० पुगेको थियो तर घटेर रु. ७० मा आयो र लगानीकर्ताले खरिद गर्दै गएर रु. ९० सम्म पुग्यो। तर, पछि घटेर पुन रु. ५० मा आयो भने रु. ७० देखि रु. ९० सम्म खरिद गर्ने लगानीकर्तालाई बुल ट्र्यापमा परेको भनेर बुझ्न सकिन्छ।

कसरी जोगिन ?

यदि तपाइँले केही समय घटेको बजारमा पस्ने रणनीति बनाउनु भएको छ र तपाइँ ट्रेडर हो भने पहिले नै  प्रफिट मार्जिन छुट्याउनुहोस्। त्यसपछि तपाइँले आफूसँग पहिले खातामा जुन कम्पनीको सेयर छ, त्यही नै कम्पनीको सेयर घटेको बेला खरिद गर्नुहोस्। किनकि यस्तो बेला पछि किनेको सेयर खातामा आएर बेच्न अवसर नै हुँदैन। यदि आफूसँग पहिले नै खातामा सेयर छ भने अल्पकालीन लगानीकर्तालाई छोटो समयमा बिक्रीको अवसर हुन सक्छ। 

सेयर बजारमा यही नै ‘डेड क्याट बाउन्स’ हो भनेर पहिले नै अनुमान गर्न भने निकै कठिन छ।