– अर्जुन तिमिल्सिना

काठमाण्डौ । घट्दो सेयर बजारलाई म्युचुअल फन्डहरुले थप प्यानिक बनाएको लगानीकर्ताहरुले आरोप लगाएका छन्। 

लगानीकर्ता दामोदर गजुरेलले अहिलेको घट्दो बजारमा म्युचुअल फन्डलाई आईपीओमा छुट्याइएको कोटामा लकिङ पिरेड नहुँदा एकैपटक बढी सप्लाई दिएर बजारलाई थप प्यानिक बनाएको आरोप लगाए। ‘म्युचुअल फन्डको कन्सेप्ट भनेको सबै लगानीकर्तालाई सेयर बजारको ज्ञान नहुने हुँदा छरिएको पुँजी एकीकृत होस र साना लगानीकर्ताको पुँजी पनि बजारमा आओेस् भन्ने हो’, गजुरेलले भने, ‘त्यसरी आएको पुँजी बजारका प्रोफेसनल मानिसहरुबाट लगानी होस् भन्ने हो। जसले गर्दा सानो लगानीलाई पनि सबल बनोस् र दोस्रो बजारलाई पनि सहयोग पुगोस् भन्ने हो।’

अन्तर्राष्ट्रिय बजारको प्राक्टिस पनि त्यही नै रहेको गजुरेलको भनाइ छ। ‘त्यसका लागि विदेशमा नियमाक निकायले केही सुबिधा पनि दिएका हुन्छन्’, उनले भने, ‘म्युचुअल फन्डलाई सरकार तथा नियमकले कर छुट तथा निश्चित प्रतिशत कोटा दिएको हुन्छ।’

अहिले नेपालमा भने म्युचुअल फन्डले आईपीओमा छुट्याइएको सेयर दोस्रो बजारमा लिस्टिङ हुनेबित्तिकै बजारलाई कर्नरिङ गरेर सर्वसाधरणलाई भिडाउने गरेको आरोप लगाए। ‘म्युचुअल फन्डहरु बजार निर्माताको काम गर्नुपर्नेमा सप्लाई दिएको र होल्ड नगरेको गजुरेलको आरोप छ। म्युचुअल फन्डहरुले बियरिस बजारलाई थप प्यानिक बनाएर सर्वसाधारणलाई नै सेयर भिडाउने गरेको उनको भनाइ छ। 

आईपीओमा म्युचुअल फन्डहरुलाई छुट्याइएको सेयर स्थानीय तथा कर्मचारीलाई जस्तै लकिङ पिरियड हुनुपर्ने अर्का लगानीकर्ता हरि पौडेलको माग छ। ‘लिस्टिङ हुनेबित्तिकै बजारमा एकैमहिनामा लाखौँ कित्ता सेयर उच्च मूल्यमा सर्वसाधारणलाई भिडाउने काम भइरहेको छ’, उनले भने, ‘आयकरमा छुट दिँदा पनि धेरै म्युचुअल फन्डले लगानीकर्ताहरुलाई राम्रो प्रतिफल दिन सकेका छैनन्।’ 

बजारका गिरोहले म्युचुअल फन्डको प्रयोग गरी केही कम्पनीका सेयरमा चलखेल गरिरहेको पौडेलको आरोप छ। 

घट्दो बजारमा म्युचुअल फन्डले बजारमा बिक्री दबाब दिइरहेको र चलखेल पनि गरिरहेको केही ब्रोकरहरुले पनि पुष्टि गरेका छन्।